साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा प्राज्ञ नर्मदेश्वरी

Nepal Telecom ad

काठमाडौं, असोज । राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा यस महिनाको अविरल जन साहित्य यात्रा–१८ सम्पन्न भयो । यस शृङ्खलामा प्राज्ञ नर्मदेश्वरी सत्यालका एक दर्जन कविता प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा सत्यालको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले कविता, निबन्ध र बाल साहित्य लेखनमा विशेष सक्रिय रहेकी नर्मदेश्वरी सत्याल आफ्ना कवितामा समकालीन समाजको चित्रण गरिएको बताउनु भयो ।

विगतको आफ्नो साहित्यिक यात्रा स्मरण गर्दै सत्यालले ‘छोरीको वेदना’ ‘विवाह अघि र पछि’, ‘आमा’, ‘बालहत्या’, ‘सफल गुरु’, ‘नाति नातिनी र म’ शीर्षकका कविता वाचन गर्नु भएको थियो । सहयोगी कविहरू जयन्ती स्पन्दनले ‘नयाँ नेपालको चित्र’ शीर्षकको, रूपक अलङ्कारले ‘यो राष्ट्र हामी भरौँ’ सुशीला प्रधानाङ्गले ‘म फुल बनी’, नारायण निराशीले ‘आमा हुँ’, बैरागी जेठाले ‘नेपाली त हो नि’, धनकुमारी सुनारले ‘म र तीज पञ्चमी’ र इन्दु अंशुले ‘भनूँ’ शीर्षकका कविता प्रस्तुतिमा सात्याललाई साथ दिएका थिए ।

कविता प्रस्तुतिपछि समालोचक डा.फणीन्द्र निरौलाले प्राज्ञ सत्यालका वाचित कवितामाथि टिप्पणी गर्नु हुँदै सत्यालका कविता माक्र्सवादी चिन्तनमा आधारित भएर समाज रूपान्तरणको स्पष्ट सन्देश दिन सक्षम रहेको बताउनु भयो । मञ्चका उपाध्यक्ष रमेश पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द राई हुनुहुन्थ्यो । जन साहित्यिक मञ्च, नेपालकी कोषाध्यक्ष यशोदा अधिकारीले सञ्चालन गर्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, डा.फणीन्द्र निरौला, डा.मदनप्रसाद सत्याल, वासुदेव अधिकारी, रामप्रसाद प्रदीप, हेमनाथ पौडेल, प्रेमनाथ अधिकारी, राजेश थापा, डा.विजय सुब्बा, भूमिका सुब्बा, जङ्ग पहाडी आदिको उपस्थिति रहेको थियो ।

उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद दिँदै रमेश पोखरेलले मङ्सिर महिनाको कार्यक्रममा पूर्वाञ्चलको मोरङमा रहेर प्रगतिवादी साहित्यमा क्रियाशील वरिष्ठ स्रष्टा खेम नेपालीलाई प्रस्तुत गरिने जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x