सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छानविन आयोग

Nepal Telecom ad

छानेको छानी, बिनेको बिनी, गर्ने आयोग अर्थात छानबिन आयोग ! लाहुरेको भर्तिकेन्द्र खुलेझंै यस्ता आयोग खुलिरहन्छन्, डुलिरन्छन् । प्वाल बुज्जेको चाल्नोले छानेझैं हल्लाइरहन्छन्, छानिरहन्छन् । नयाँनयाँ रिपोटहरू टिपोट गरी जाँगसम्म छुने गरी चाङमाथि चाङ लगाइरहन्छन् । त्ससपछि रङ्गीबिरङ्गी मुसाले ड्याङमाथि ड्याङ लगाइरहन्छन् ।

त्यस्तै गरेर हिजो अचानक ठेस लागेर घाइते भएपछि ५ सदस्यीय ठेस लाग्यो, छानविन आयोग गठन गरिएको छ । यो आयोगले ५ महिनाभित्रमा ठेस लाग्नुको कारण र ढुङ्गाको बारेमा अध्ययन–अनुसन्धान गरी यसलाई दिनुपर्ने सजायको बारेमा प्रतिवेदन पेश गर्नेछ । आयोगका पदाधिकारीहरूलाई सचिवस्तरीय सुविधा उपलब्ध गराउनेछ । त्यो ढुङ्गामा कसरी ठेस लाग्यो ? त्यो कस्तो खालको ढुङ्गा थियो ? कसैले एम्बुसको रूपमा थापेको पो थियो कि ? त्यो ढुङ्गा कस्तो रङको थियो ? चिप्लो थियो कि खस्रो ? डोलो थियो कि गोलो, चेप्टो थियो कि नेप्टो ? त्यसको तीखोपना कति थियो ? कति डिग्रीको कोणमा ढल्केको थियो ? त्यो ढुङ्गामा ठेस लाग्दा वरिपरि अरू ढुङ्गा पनि थिए कि ? त्यस समयमा बाटो कस्तो थियो ? हिलैहिलो थियो वा गिलैगिलो, कि धुलैधुलो या च्यापच्यापे ! कुन मौसम थियो ? बादल लागिराखेको थियो या घाम ? हावा चलिरहेको थियो या तुफान ? ऋतु कुन थियो, समय कुन थियो ? बिहान, दिउँसो, साँझ वा मध्यरात ? ठ्याक्कै कति बजेर कति मिनेट गई सेकेण्ड सुई कहाँनेर टिक्क गरेको थियो ! ठेस कुन औंलामा लागेको थियो ? वेग प्रतिघण्टा कति किलोमिटरको थियो ? जुत्ता थियो या चप्पल, ह्वालह्वाल्ले थियो वा कसिलो ? सेन्थेटिक थियो वा छालाको ? न्यानो थियो वा चिसो ? मोजा लगाएको थियो वा खाली ? सोझो थियो या जाली ? ठेस लाग्ने मान्छेको उचाइ कति थियो ? मोटाइ कति थियो ? हेराइ कता थियो ? लवाइ कस्तो थियो ? वरपर छिटी मिठी ठिटीहरूको चमझम र रिमिक–भिमिक थियो वा सुनसान मसानघाटजस्तै ? बाघको चालमा थियो वा खरायोको हालमा ? यी सब कुरा छानविन आयोगले पत्ता लगाउनेछ । त्यसैगरी ठेस लाग्दाखेरि शरीरमा केही बोकेको थियो कि थिएन ? गोजीमा गाँठका मुठा थिए कि खाली औँठा मात्र ? कपाल छोटो थियो वा खैरो भुत्ले भालुको जस्तो रङ्गाएको थियो ? कपालमा जुम्रा, लिखा वा चायाँ थियो कि थिएन ? कि जुम्रा मार्दै थियो ? यदि जुम्रा मार्दै थियो भने पनि आयोगले अनुसन्धान गरी प्रतिवेदनमा उल्लेख गर्नेछ ।

त्यसैगरी त्यो मान्छे लम्बु थियो वा फ्यान्टे ? भ्यात्तको ग्याँचे थियो वा च्यान्टे ? चम्बु थियो या लोसे ? चिम्से थियो वा पिर्लुके ? एक–एक गरी उल्लेख गरिनेछ । त्यसैगरी अनुहार कस्तो थियो ? बाटुलो, डल्लो थियो वा चपरस चिहुरी चुसे थियो या त गालामा चाला परेको खटिरे थियो ? ओठ मोटा–मोटा अफ्रिकन ओंठे थियो या पात्लो हनुमान ओठे ? त्यस्तै उछिट्टिएको बाँदर मुखे थियो वा भास्सिएको ओडार मुखे ? बाङ्गिएको गिद्ध–नाके थियो वा बट्टारिएको सुगा–नाके कि चुच्चे तीखो नाके थियो या त फूके नाके ? त्यस्तै रेखाङ्कित अर्धचन्द्राकार आँखीभौं थियो वा झ्यापुल्ले आँखीभौं थियो ? या जोडिएको झ्याम्टे आँखीभौं थियो । त्यस्तै कस्तो चिउँडो थियो ? खोपिल्टे चिउडो, भ्यात्त डबल चिउडो वा चुच्चे चिउडो ! निधार कस्तो थियो ? खुल्ला टँुडिखेलजस्तो तालुखुइले निधार वा रौंले पाता कसेर खुम्चेको ढुसी परेको निधार ? या उछिट्टिएको निधार थियो ? त्यस्तो किसिमको शरीरको अङ्गले ठेस लाग्नमा प्रभाव पा¥यो कि पारेन ? सबै एक–एक गरी प्रतिवेदनमा उल्लेख गरिनेछ ।

छानविन आयोगको रिपोर्टअुनसार त्यो ढुङ्गा दोषी ठहरिएमा जरीवानासहित हदैसम्मको कारवाही गरिनेछ । पत्रे चट्टान रहेछ भने घन, गैंती र झप्पल प्रयोग गरी उखेलपाखेल पारी कालो मोसी लतारी सराप्दै थुक्दै, उल्टो शंख फुक्दै र उल्टे दमाहा बजाउँदे जेलमा लगेर तेल निस्किने गरी चुटिनेछ । आग्नेय चट्टान अर्थात् अग्नि फिलिङ्गा फ्याँक्ने खालको, जतिपटक फलामका औजारले सलाम गरे पनि ठोक्नेलाई नै उछिट्याउने रै’छ भने फूल, अक्षता, धुप र अवीर लगाउँदै ईश्वरीय अवतार मान्दै मजासँग पूजा गरिनेछ । आयोगले आफ्नो काम आजैदेखि थाल्ने कुरा आयोगका संयोजक छायाँदेव छ्यापछ्यापले बताउनुभयो ।

ठेस लागिसकेपछि त्यो मान्छेले गरेको तोडफोड र क्षतिको बारेमा फेरि अर्को आयोग गठन हुँदैछ । क्षति भएका चार पाङग्रे र पसलेहरूलाई पक्कै पनि क्षतिपूर्ति स्वरूप तत्काललाई सय रूपैयाँ दिने निर्णय गरिएको छ । भविष्यमा क्षति हेरेर सय करोड पनि दिन सकिनेछ । त्यस्तै भयङ्कर भ्यात्ले भैंसी भीरबाट हुर्रिएको र अचानक ठूलो बिरालोको जुँगा झरेको, चुच्चे चरोमा चिलगाडी ठोक्किँदा बिमान नै बेस्करी बिमारी भएको बारेमा अरू थप नयाँ–नयाँ आयोगहरू गठन गर्नको निम्ति अवकास वा बहालवाला कर्मचारीहरूलाई तैयारी हालतमा राखिएको छ । नारामा उर्लिएको जनमानसलाई मत्थर पार्दै पत्थरजस्तो चिसो बनाउनलाई आयोगको अत्तर त खुवाउनु नै पर्यो नि, कि कसो ? अस्तु !

रोल्पा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad