गोविन्दराज विनोदीदुर्वासा ऋषिको मन
दियौँ श्रद्धा र विश्वास सुम्पियौँ जल–जीवन
भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !
भन्दथे उनले आई ‘म’जस्तै हुनुपर्दछ
बाहिरी तनको मैलो पानीले धुनुपर्दछ ।
छिमेकीप्रति आँखामा द्वेषभाव रहेपछि
धुने र कसरी आफ्नै मन मैलो भएपछि
उनको उच्चता आज तुच्छतातिर फैलियो
कठै ! आदर्शको फूल नफुलीकन वैलियो ।
सकेनन् उनले कैल्यै आफ्नो सङ्कीर्णता धुन
कसैलाई दबाएर के सकिन्थ्यो महान् हुन ?
सत्पात्र कसरी भन्नु ? पात्रता नभएपछि
मित्र हुन् कसरी भन्नु ? मित्रता नरहेपछि ।
सोझा बनेर आएथे बाङ्गिएर गए उनी
दुष्ट भै विश्वका सामु नाङ्गिएर गए उनी
बल्ल पो बुझिँदै आयो खोटो रहेछ चिन्तन
भएन कहिल्यै सङ्लो दुर्वासा ऋषिको मन !
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest









































