साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दन्ते मोहनी

Nepal Telecom ad

दन्ते मोहनी अक्सर गरेर दाँत देखाएर हाँस्दा लाग्ने गर्छ । ङिच्च दाँत देखाएर मुस्काउँदा जो कोहीको आन्द्रा भुँडी फुस्काउन कुरा धुत्न सक्नु नै दन्ते मोहनी लाग्नु हो । विनाबाजाको धूनमा नागनगिनीहरू लठ्ठ परेर झुम्मिएझैं दन्ते मोहनी लाग्दा बालबच्चा, युवायुवती अधबैंसे पुरा बंैसे, बूढाबूढी, वृद्धवृद्धा सबै मानवहरू नतमस्तक भएर एकार्काप्रति आकर्षित हुने गर्दछन् । दन्ते मोहनी लाएर आफ्नो दुनो सोझ्याउन चाहनेले हर्दम दुवै ओठ च्यातिराखेका हुन्छन् । महिला वर्गको चाहि जुँगा विनाको ओठ हुने हुनाले थोरै मुस्काए पनि दन्ते मोहनी प्रक्षेपण भइहाल्छ । झन् दुवै ओठमा लिपिष्टिक पोतेको भए दन्ते मोहनी नलागे पनि ओठे मोहनी त लाग्छ लाग्छ । तर विशुद्ध पुरुषहरूको भने ओठमा लिपिष्टिक पोत्न पनि परम्पराले नदिने त्यसमाथि जुँगा, दारी बढेर देउते बोकाको झैं घना बाक्लो र लामो भयो भने त दन्ते मोहनी लगाउने छिद्र पनि बाँकी रहदैन, तर केही छैन आफ्नो बुद्धिलाई मौकामा लगानी गर्न कन्जुस्याइँ गर्नुहुन्न । त्यसैले दन्ते मोहनी लगाउने वेलामा रंगमञ्चको पर्दा हटाएझैं जुँगाका पाँजालाई एकातिर पन्छाएर दाँत देखाउँदा दन्ते मोहनीको रसास्वादन गर्न गराउन सकिन्छ । त्यसो त लठेब्रालाईझैं भनिराख्नु नपर्ला उखानै छ ‘खाने मुखलाई जुँगाले छेक्दैन’ ।

दन्ते मोहनीजस्तै मानवका विभिन्न हाउभाउ, अङ्ग प्रत्याङ्गबाट मोहनी पराग ओइरिराखेको हुन्छ । यसैको प्रतापले कोही न कोही कसै न कसैप्रति धुइरिराखेका हुन्छन् । ‘अचानाको पीर खुकुरीलाई के थाहा’, मोहनी लाग्नेको मर्का नलाग्नेलाई के थाहा ? लाग्नेलाई ललाट मोहनी लाग्छ त कसैलाई खल्वाट (तालु खुइले) मोहनी लाग्छ । त्यस्तै नाके मोहनी, धाके मोहनी, चाके मोहनी, लाखे मोहनी, पाखे मोहनी, ओठे मोहनी, हाँसे मोहनी, नाचे मोहनी, केशे मोहनी, कोदे मोहनी, आँखे मोहनी, नितम्ब मोहनी, छाती मोहनी, साथी मोहनी, पाथी मोहनी, पाठी मोहनी, काले मोहनी, गोरे मोहनी, शब्दे मोहनी, खुट्टे मोहनी, हाते मोहनी, रबाफ मोहनी, जवाफ मोहनी, आए मोहनी, गए मोहनी, धाए मोहनी, लाए मोहनी, पाए मोहनी, आदि विभिन्न बान्की र स्तरका मोहनीको कारणले नै मानव, जनावर, पक्षी आदि प्राणीहरू मन परेमा हुरुक्क हुन्छन्, नपरेमा खुरुक्क हिँड्छन्, असाध्यै मन परेमा बुरुक्क उफ्रिन्छन्, जमातै, हुलहुज्जतै मन परेमा एकै मञ्चमा थुप्रिन्छन् र सन्की पाराका भए साँढे गोरुझैं आकाशतिर फर्किएर डुक्रिन्छन् । यी त भए मोहनी लागेका बिरामीमा देखिने लक्षणहरू ।

मन्त्र मोहनी लगाउँदा झारफुक गर्ने झन्झट बेहोर्नु पर्छ भने दन्ते मोहनीमा अगाडि पट्टिका २ पैसे दुइटा दाँतमात्र देखाएर भए पनि मोहनी लगाउन सकिन्छ । मौजुदा रहेका दुई टुक्रा दाँतको पनि सनाखत गरिसक्नुभएको भए पनि त्यति चिन्तित हुनुपर्दैन, किनकि ‘हिङ नभए पनि हिंङ बाँधेको टालो’ हो । गिजै देखाएर भए पनि मोहनी लगाउन सक्नुहुन्छ । तर यस्तो मोहनीलाई गिँजे मोहनी भनिन्छ ।

दन्ते मोहनी दाँत उम्रिएको प्रभातकालीन अवस्थादेखि दाँतको अन्त्यावस्था अस्ताउने वेलासम्म जारी नै रहन्छ । दाँत पलाउनुभन्दा अगाडि र दाँत फुस्किसकेपछि दन्ते मोहनी कुनै हालतमा पनि लाउन सकिँदैन । दाँतवालेले गिजावालेबाट दन्ते मोहनी हत्याउँछु भन्नु स्यालको सीङ हत्याउनु जत्तिकै हो । गिंजावालेले दाँतवालेबाट गिंजे मोहनी जिप्ट्याउँछु भन्नु पनि अप्ठ्यारै कुरा हो । हुन त जमाना कृत्रिम भएको हुनाले दाँतै नभएका थोतेले पनि दाँत टाँसेर दन्ते मोहनीको अस्त्र फ्याँकिराखेका छन् । गिँजे मोहनीमा गिँजे मोहनी नै मिलाउने हो भने दाँत मालिकको दाँतै फुस्काईदिनु पर्छ । अनिमात्र दुईतर्फी गिँजे मोहनीको जुहारी चल्न सक्छ । अन्य मोहनीको प्रभाव भन्दा पनि दन्ते मोहनीको प्रभाव ज्यादै भर्भराउँदो, पर्पराउदो र चोटिलो हुन्छ । सयौँ शब्द प्रहार गरेर पनि आत्मसमर्पण नगर्ने जब्बरलाई दन्ते मोहनीको छर्राले लाग्यो भने रबर पग्लेझैं पग्लन्छ । अनि आफ्नो बाहुमा कस्न, साथै सँगै बस्न बसाउन, डस्न डसाउन सकिन्छ ।

अनुहार हेर्दा कान्छा बावु कान्छी आमाको झैं लागे पनि दाँत हेर्दा दारिमको झझल्को लाग्छ भने स्वयं दन्ते मोहनीको फन्दामा फस्न सकिन्छ । दन्ते मोहनीको प्रभावले कतिले जागिर हत्याएका हुन्छन् त कतिले नेतृत्व हत्याएका हुन्छन् । त्यस्तै कत्तिले नेता पट्याएका हुन्छन् त नेताले कार्यकर्ता पट्याएका हुन्छन् । विभिन्न बनोटका दाँत देखाएर भए पनि आफ्नो हातमा डाडु पन्यू पार्न सक्नु खूबी मोहनीको खेल हो ।

खास गरी दाँतहरू चपरे, मुसे, भकारे (टाट्नु), छिद्रे, दारिमे, बिराले, कुकर दाँत, हात्ती दाँत, कुटे दाँत आदि दाँतको बनोटअनुसारको नाम छनोट गर्न सकिन्छ । जे जस्तो आकार प्रकारको भए पनि दाँँतसंग साइनु गाँसेर दन्ते मोहनीको एैचौं पैंचो गर्नु परे प्रजातान्त्रिक वातावरणमा खुलस्त भनिदिए हुन्छ, मलाई मुसा दाँते फलानोको मोहनी लगेको छ, त्यसैले त्यसैसँग सती जान्छु । त्यस्तै चपरे दाँतवालेसँग साँठगाँठ गर्नु परे पनि कत्ति पनि नहिच्किचाउनु भए हुन्छ । इच्छाअनुसार कोदाले, कुटे, भकारे, मुसे आदि विभिन्न आकार प्रकारका दाँतको दन्ते मोहनी चोक, सडक, सदन, कार्यालय, पुस्तकालय, शौचालय, वेश्यालय आदि ठाउँमा या घुम्तीमा विना सङ्कोच, बेरोकतोक लाउन सकिन्छ । आंगिक स्वाङ्द्धारा लगाइने मोहनी उपर पुलिस प्रशासनले डण्डे मोहनी लगाउन वर्जित गरिएको छ । मानवाधिकारको लाजले पनि यसमा अवरोध खड्किन र टाउकोमा डन्डा पड्किन सक्दैन ।

फेरि कम्प्युटर युगमा दन्ते मोहनी आँखा झिमिक्क गर्दा गर्दै लाउन सकिन्छ । ओठे द्वार बन्द गर्दै दाँत छोपेर आँखा झिमिक्क झिम्क्याउँदा सज्जन, दुर्जन, आफूतर्फ औइरिए भने त्यसलाई आँखे मोहनी भनिन्छ । फरक यत्ति नै हो कि दन्ते मोहनीमा मूच्र्छित हुनेहरू दाँत देखाउँदै तपाइँतर्फ खनिन्छन् । आँखे मोहनीले लठ्ठ परेकाहरू भएभरका नेत्र लोलाउँदै, बोलाउँदै, अङ्गालो हालँुला झैं गर्छन् । एवंरितले मोहनीका पारखीहरू प्रस्तुत हुने युगलाई आधुनिक युग भनिन्छ ।

जुनसुकै इन्द्रियको मोहनी एक अर्कामा प्रत्यारोपण गर्नुपरेमा कडा र कठोर हुनुहुँदैन । आनी, बानी प्mयाउराको जस्तो भए पनि दाँतमा दन्ते मोहनी निहीत छ भने आँत नहाँसे पनि दात हाँसेकै ठहरिन्छ । यस्तो अवस्थामा दयालु, लयालु, मायालु, लज्जालु, सज्जालु, बैशालु, नरम, करम, लोलाउने बोलाउने पार्न सक्नु नै मोहनीबाट मिल्ने फाइदाहरू हुन् । यति मात्र नभएर साँझविहान जाँगर चलाएर दाँत पालिस लगाएर थप बान्की चढाइयो भने आफूमा सुरक्षित दन्ते मोहनी प्रदर्शन गरेर चुनावताका या अन्य अवस्थामा अधिकभन्दा अधिक लाभार्जन गर्न सकिन्छ । तथापि दन्तेमोहनी छ भने जस्तै सङ्कटमा पनि खान्की जुटाउन टाउको फुटाउनु पर्दैन । त्यसैले यसको संरक्षण, सम्वद्र्धन र सुरक्षा पहिलो नम्बरमा पर्छ ।

हाम्रो जमर्को, वर्ष १ अङ्क १, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x