प्रेम ओली ढकलपुरेमाझी दाइको जाल
धमिलो पानीमा
अन्धाधुन्दा झ्वाम्म हान्यो जाल
तर ठुला माछा फट्की हाल्ने
सानोमाछा अट्की हाल्ने
कस्तो होला ताल ।
निम्तो पत्र दियो भने
ठुल्ठुला माछा अझ कट्किने
एक छोड्दैन दुई छोड्दैन भन्दै
माझी दाइ पनि पट्किने
तर ठुला माछा फट्किने
साना माछा मात्र लट्किने
कस्तो यो ताल
हन के भएको माझी दाइ
तिम्रो यो जाल ?
साना साना माछाले त
कति खाए होलान् र यहाँ
खाए पनि दुइचार माना खाए
ठुला माछाले त यहाँ
मुरिका मुरी खाए
तर माझी दाइले जाल तान्दा
भ्याकुता पो आए
हैन कस्तो यो जाल ?
ठुला माछासँग साँठगाँठ छ कि
माझी दाइको छैन निको चाल ।
माझी दाइ पनि
ठुला माछा छोडी छोडी
खिदा खोज्दै हिंड्ने
ठुलो माछो डरले
कोही माझी बिदा खोज्दै हिंड्ने
देशै खाने व्हेलसँग झन
यी बिचरा कहिले कसरी भिड्ने ?
यत्रा माछा देखी देखी
झिँगे माछा ताक्छन्
ठुलो माछो गर्ज्यो भने
जाल नै छोडी भाग्छन् ।
भुकम्पको राहतमा होस् कि
नाकाबन्दीको रातमा होस्
ठुला माछाले देखाइसके र्याल
माझी दाइ त अझै सिलाउँदैछन्
च्यात्तिएको जाल
ठुला माछा के समातिएलान् र
यस्तै भए ताल ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































