साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘मिथिलारत्न’ बाट आचार्य सम्मानित

Nepal Telecom ad

राजविराज, १५ पुस । नेपालमा रहेर नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना नेपाली साहित्यकारलाई भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मान गरिएको छ ।
उदयपुर जिल्लाको तपेश्वरी–१ घर भई सप्तरीको राजविराजमा बसेर विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई अन्तर्राष्ट्रिय मैथिली समाजको १२औं सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित गरिएको हो ।

सम्मेलनका महासचिव डा. बैद्यनाथ चौधरी बैजुको अध्यक्षता र बिहार सरकारका शहरी विकास मन्त्री महेश्वर हजारीको प्रमुख आतिथ्यतामा पुस ७–८ गते सम्पन्न समहारोहमा आचार्यलाई सम्मानित गरिएको हो । सगरमाथा साहित्य परिषद्का सचिव आचार्य हाल सप्तरीको विषहरिया गाविसस्थित महाबीर मा. वि. मा शिक्षण पेशामा कार्यरत छन् । आचार्यका ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक एकांकी संग्रह प्रकाशित छ भने ‘गरिमा’ निबन्ध संग्रह, ‘टुक्के दिदी र उखाने दाइ’ बाल एकांकी संग्रह प्रेसमा छन् । गरिमा, मधुपर्क, शारदा, मुना, शब्दाङ्कुर, रचना, अभिव्यक्ति, शब्द संयोजन, फित्कौली, बालबगैचा, मिथिला मासिक लगायत दर्जनौ साहित्यिक पत्रिकाहरूमा उनका लेखरचना प्रकाशित छन् ।

उक्त अवसरमा नेपालका आचार्यसहित हिन्दी, मैथिली, बंगाली, मराठी, उर्दु भाषा, साहित्य, कला, संस्कृतिमा विशिष्ट योगदान दिएका एक दर्जन भारतीय साहित्यकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिहारका नगर विकास एवं आवास मन्त्री महेश्वर हजारी, महाराष्ट्रका विधायक हितेन्द्र ठाकुर, संस्कृत विश्वविद्यालय बाराणसीका कुलपति डा. देवनारायण झा, सांसद प्रभात झा, पदमश्री शारदा सिन्हा, पण्डित कमलकान्त झालगायतकाले मन्तव्य तथा रचना प्रस्तुत गरेका थिए ।

उक्त सम्मानबाट यसअघि नेपालका डा. योगेन्द्र प्रसाद यादव, डा. रामअवतार यादव, प्रा. डा. सुनिल कुमार झा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ डा. रामदयाल राकेश, साझा प्रकाशनका पूर्व अध्यक्ष एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ रामभरोस कापडि भ्रमर, डा. रेवतीरमण लाल, विद्यापति कोषका पूर्व अध्यक्ष अयोध्यानाथ चौधरीलगायतका श्रष्टाहरू सम्मानित भइसकेका छन् ।

सम्मेलनमा साहित्यकारहरू आचार्यसहित रामभरोस कापडि ‘भ्रमर’, डा. रामदयाल राकेश, प्रा.डा. पशुपतिनाथ झा, अयोध्यानाथ चौधरी, करुणा झा, बिमलकान्त झा, राजाराम सिंह राठोर, गायक नविन मिश्र, कलाकार रोहित साहले भाग लिएका थिए ।

सम्मेलनमा शोभायात्रा, रुद्रअष्टाध्यायी पाठ, मिथिला रत्न र मिथिला विभूति सम्मान समारोह, कवि सम्मेलन, ‘प्रवासी मैथिली आ हुनक गाम’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार, सांस्कृतिक कार्यक्रम भएको थियो ।

विभिन्न भाषामा विशिष्ट योगदानका लागि अन्तराष्ट्रिय मैथिली समाजले सन् २००४ देखि प्रत्येक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । भारतको विभिन्न शहरमा हुँदै आएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सन् २०१० मा भने नेपालको काठमाडौंमा र सन् २०१४ मा जनकपुरमा सम्पन्न भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x