साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आसाममा दुई साताव्यापी प्रशिक्षण यात्रा

Nepal Telecom ad

गुवाहाटी, ०७२ माघ । असम नेपाली साहित्य सभा केन्द्रीय समितिको तत्त्वावधान तथा सम्बन्धित जिल्ला समितिहरुको आयोजनामा यही जनवरी ४ देखि २० सम्म पूर्वोत्तर भारतको आसाम राज्यका विभिन्न सात जिल्लामा कविता र गजल लेखन सम्बन्धी बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनेसासको ४३ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको उक्त प्रशिक्षण यात्रामा नेपालबाट आमन्त्रण गरिएका कवि देवी नेपाल र गजलकार सुरेश सुवेदीले प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।

चिराङ जिल्लाको काजोल गाउँमा सिक्किम विश्वविद्यालयकी नेपाली विभागप्रमुख डा. कविता लामाको प्रमुख आतिथ्यमा सम्पन्न अनेसासको ४३ औँ स्थापना दिवस मूल समारोहमा असम नेपाली साहित्य सभाबाट प्रकाशित ‘गजल ः सिद्धान्त र विकासयात्रा’ नामक पुस्तकको विमोजन तथा प्रशिक्षण यात्राका मूलप्रशिक्षक देवी नेपालको ‘नेपाली गजल ः एक सङ्क्षिप्त चर्चा’ विषयक कार्यपत्रको प्रस्तुतिबाट प्रारम्भ भएकोउक्त प्रशिक्षण यात्रा निकासी, ओदालगडी, समारदलनी, बोकाखात, मार्घेरिटा, हवाइपुर र गुवाहाटी गरी सात जिल्लामा दुईदुई दिने प्रशिक्षण कार्यशाला भव्यताका साथ सम्पन्न भएको छ । असमेली नेपाली साहित्यको इतिहासमा अभूतपूर्व मानिएको यस प्रशिक्षणबाट सात सय प्रशिक्षार्थीहरु लाभान्वित भएको र तीमध्येमा करिब तीन सयजना नयाँ पुस्ताका कवि, गजलकार तथा बाल साहित्यका सर्जकहरु जन्मिन सक्ने विश्वास अनेसासका अध्यक्ष डम्बर दाहालको रहेको छ ।

प्रशिक्षकद्वय नेपाल र सुवेदीको छोटो समयमा कविताका विविध रुपहरुका बारेमा सङ्क्षिप्त रेखाङ्कन प्रस्तुत गर्दै, नेपाली कविता, गीत र गजलमा प्रयोग हुने सम्पूर्ण लयका बारेमा स्पष्ट सूचना प्रदान गर्दै कविता र गजलको सैद्धान्तिक पक्षका बारेमा सूत्रात्मक जानकारी प्रदान गरी सोझै प्रयोगात्मक कक्षामा प्रवेश गर्ने र प्रशिक्षार्थीहरुले दिएका शब्दहरु सङ्कलन गरी त्यहीँ कविता निर्माण गरिदिने शैलीले गर्दा प्रशिक्षण सुरु भएको दुई घण्टापछि नै कहिल्यै कविता नलेखेको व्यक्तिले समेत कविता लेख्न थालेको देखेर अनेसासका केन्द्रीय उपाध्यक्ष प्रा. भवानी प्रसाद शर्मा आश्चर्य प्रकट गर्दछन् । असमेली नेपाली साहित्य अन्य विधामा सशक्त देखिए पनि बाल साहित्य र गजलमा कमजोर देखिएको हुनाले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको र अबका छ महिनाभित्रमा कम्तीमा एकएक सय जना नवीन स्रष्टाहरुलाई समावेश गरी ‘असमेली नेपाली बाल साहित्य’ र ‘असमेली नेपाली गजल’ दुई संयुक्त सङ्ग्रहहरु प्रकाशन गर्ने योजना रहेको कुराको जानकारी अनेसासका मूल सचिव डा. चिन्तामणि शर्माले दिएका छन् ।

प्रशिक्षण यात्रामा एकपछि अर्को ठाउँमा आयोजक वर्ग र सहभागी वर्ग दुवै झन्झन् उत्साही बन्दै गएको र असमेली नेपाली साहित्यका अत्यन्त सम्मानित, वयोवृद्ध तथा स्थापित साहित्यकारहरु विद्यापति शर्मा, तारापति दाहाल, युद्धवीर राणा, गुरुप्रसाद कोइराला, पद्म ढकाल, डा. खेमराज नेपाल, डा. दैवकी देवी तिमल्सिना, मदन थापा, तारा थापा, रेवती मोहन तिम्सिना, रेवती रमण सापकोटा, दुर्गाप्रसाद खतिवडा, गोमा शर्मा, नव सापकोटा, मुन्नी सापकोटा, चन्द्रमणि उपाध्याय, तिलक शर्मा, खिलानाथ उपाध्याय, मयनाथ नेपाल लगायत वरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्री समेत कार्यक्रमको पूर्ण अवधिभर बसिदिनाले आफू थप गौरवान्वित र उत्साहित बनेको जानकारी प्रमुख प्रशिक्षक देवी नेपालले दिएका छन् ।

प्रशिक्षण यात्राको अन्तिम दिन गुवाहाटीमा आयोजित समापन समारोहमा वरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीले आजभन्दा चालीस वर्ष अगाडि यस्तो अवसर पाएको भए म पनि उपन्यासकार नबनेर कवि बन्ने रहेछु भन्ने विचार प्रकट गरे भने भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय उपाध्यक्ष कृष्ण भुजेलले प्रशिक्षक नेपालमा रहेको चमत्कारपूर्ण एवं जादुमय प्रशिक्षण शैलीले जोकोहीलाई पनि कवि तथा गजलकार बनाउन सक्ने विश्वास व्यक्त गरे । उक्त प्रशिक्षण यात्रा पूरा गरी माघ नौ गते नै प्रशिक्षक टोली नेपाल फर्किसकेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x