साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोरञ्जक महाधिवेशन

Nepal Telecom ad

नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशन रमाइलो चरणमा प्रवेश गरेको छ । अब सभापति, महामन्त्री, कोषाध्यक्ष आदिका पदेन प्रतिस्पर्धा हुनेछ । यसका निम्ति एकसेएक कांग्रेसीजन फुर्तीका साथ अघि बढेका छन् ।

एकातिर स्वर्गीय बीपी कोइरालाका कनिष्ठ पुत्र सशांक कोइराला महामन्त्री पदको सशक्त दाबेदार छन् भने अर्कोतिर स्वर्गीय गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह भने प्रकाशमा देखिएका छैनन् । यसको गाँठी कारण के हो भने उनी रंगमञ्चको नेपथ्यबाटै ‘वेटिङ उपसभापति’को रूपमा प्रतिक्षित छन् भनी कांग्रेसी मित्रहरू सुनाउने गर्छन् ।

कुन्नि स्वर्गीय गिरिजाप्रसाद कोइरालाका एकमात्र सुपुत्री सुजाता कोइरालाले सभापतिमा लड्ने जोशिलो घोषणा गरेर पनि किन दृश्यपटलबाट अलप हुनुपरेको हो ! यस्तोमा मलाई भने किसुनजी (स्वर्गीय कृष्णप्रसाद भट्टराई) को बलात् स्मरण भइरहेको छ । उनको पनि कुनै एक पुत्र या पुत्री भएको भए यो महाधिवेशनीय कांग्रेसी लडाइँमा अझ क्या खासा रमाइलो थपिने थियो !

यस्तो प्रतीत हुन्छ, नेपालको एक पुरानो पार्टी नेपाली कांग्रेसको मूल विचारधारा अरु केही नभएर परिवारवाद हो । तर खासमा यस्तो होइन । वास्तवमा नेपाली कांग्रेस एक विशुद्ध समाजवादी पार्टी हो । किनभने यस्तो भनिने गरिन्छ ।

यो पहिलेदेखि प्रस्टसँगै भनिँदै आएको पनि हो । बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई आदिका समयदेखि । अब यस्तै नै भनिएको छ भने हामीले बढ्ता जान्ने भएर अर्थोक किन सुन्ने ? कम्तीमा मलाई भने नेपाली कांग्रेस एक समाजवादी पार्टी हो भन्ने कुरामा कुनै अविश्वास छैन ।

मेरो यो जब्बर विश्वासको आधार के हो भने नेपाली कांग्रेस समाजवादी पार्टी होइन भने अरु के हो त ? सबै पार्टीसँग एक–एकवटा ‘वाद’ रहेको हुन्छ । जस्तै नेकपा एमालेको ‘माक्र्सवाद’ तथा एनेकपा माओवादीको ‘माओवाद’।

यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘प्रजातन्त्रवाद’लाई पनि मजैले थप्न सकिन्छ । यस्तै भरपुर चलन रहेको छ । अत नेपाली कांग्रेस पार्टीसँग पनि एकथान आफ्नै वादजस्तो केही अर्थात कांग्रेसी ढाँचाकाँचाको मौलिक समाजवाद हुनुमा के आश्चर्य छ ?

नेपाली कांग्रेस पार्टीको चलायमान तेह्रौं महाधिवेशनमा एक परिचित समाजवादी नेता रामचन्द्र पौडेल सभापतिको उम्मेदवार भएका छन् । उनलाई समाजवादी कांग्रेसी नेता किन भनिएको हो भने पौडेल मौखिक तवरले भए पनि नेपाली कांग्रेस पार्टीमा समाजवादको प्रसङ्ग बेलाबखत ल्याइरहन्छन् ।
अहिले उनलाई आफ्नो समाजवादमा उतिसारो भरोसा नभएको भान हुन्छ । सायद यही कारणले उनले सभापतिमा उठ्दा समाजवादको साटो कांग्रेसको बहुचर्चित वंशवादको न्यानो सहारा लिन खोजेका छन् । अर्थात बीपीपुत्र शशांक कोइरालाको ।

यसो ता स्वर्गीय बीपी कोइरालाको नामले नै नेपाली कांग्रेस पार्टीको सिरिखुरी समाजवादलाई धानिरहेको हो । उनी नै कांग्रेसी समाजवादको एकल ‘ट्रेडमार्क’ रहेकोमा कुनै शंका छैन । तसर्थ बीपीपुत्र शशांकको वंशवाद र पौडेलको मौखिक समाजवादमा त्यति अन्तर नहुन पनि सक्छ ।

यसको अर्काे कारण के पनि हो भने उनको तेह्रौं महाधिवेशनमा हुने सभापति पदमा जोसँग कडा टक्कर हुन गइरहेको छ, ती कांग्रेसी नेता पनि कुनै कम्ता समाजवादी होइनन् । मेरो भनाइको तात्पर्य सभापतिका अर्का बलिष्ठ उम्मेदवार गैरसंस्थापतीय नेता शेरबहादुर देउवासँग हो ।

तनहुँ जिल्लाका समाजवादी रामचन्द्र पौडेल केही फैलावट लिएर राष्ट्रिय समाजवादी हुन् भने उनको सभापतीय प्रतिद्वन्द्वी शेरबहादुर देउवा विलकुलै अन्तर्राष्ट्रिय समाजवादी हुन् । यद्यपि उनलाई नेपालमा एक समाजवादी नेताको रूपमा त्यति गम्भीर प्रकारले लिने गरिँदैन ।

तर राष्ट्रको सिमाना नाघेर देउवा अन्तर्राष्ट्रिय स्तरका समाजवादी नेताको रूपमा स्थापित भइसकेका छन् । यसको सुदृढ प्रमाणका लागि सोसलिष्ट इन्टरनेसनललाई प्रस्तुत गर्न सकिन्छ । यो अन्तर्राष्ट्रिय समाजवादीहरूका सुप्रसिद्ध संगठनमा शेरबहादुर देउवा उपाध्यक्षका रूपमा लामो समयदेखि कार्यरत छन् । अब उनको अन्तर्राष्ट्रिय समाजवादी छविको योभन्दा ठूलो सबुत अरु के हुनसक्छ ?

अन्त्यमा,
राष्ट्रिय–अन्तर्राष्ट्रिय समाजवादको जति बखान गरिए पनि नेपाली कांग्रेस पार्टीको तेह्रौं महाधिवेशनको सतहमा खाँट्टी ‘परिवारवाद’ नै देखापरेको छ । यसको वर्तमान मोडल भएर महामन्त्री पदमा उठेका ज्वाइँ–ससुरा देखापरेका छन् ।

यसले के पनि सावित भएको छ भने परिवारवादका लागि पुत्र–पुत्रीहरू पर्याप्त छैनन् । यसरी तेह्रौं महाधिवेशनमा आएर ससुरा अर्जुननरसिंह केसी र उनका छोरी(ज्वाइँ गगन थापाले कांग्रेसी परिवारवादमा रोचक आयाम थपेकोमा साधुवाद !

कान्तिपुर, फागुन २२, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x