सुलसुले‘सांस्कृतिक रुपान्तरण एक विमर्श’ लोकार्पण
फागुन २३ काठमाडौं– लेखक तथा राजनीतिज्ञ प्रदीप ज्ञवालीद्वारा लिखित ‘सांस्कृतिक रुपान्तरण एक विमर्श’ पुस्तकको आइतबार पुल्चोकस्थित साझा प्रकाशनको प्राङ्गणमा लोकार्पण भएको छ ।
समाजको संस्कृतिमा परिवर्तन नभए राजनीतिक परिवर्तनले मात्रै समाजमा परिवर्तन अनुभूत हुन नसक्ने यथार्थलाई पुस्तकले समेटेको सो अवसरमा वक्ताहरूले धारणा राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा निम्त्याइएका राष्ट्रकवि माधवप्रसाद घिमिरेले सांस्कृतिक परिवर्तन विनाको राजनीतिक परिवर्तन रसहीन जीवनजस्तै हुने वताए । राष्ट्रकविले आफ्नो संस्कृतिको संरक्षण नगरी आयातित संस्कृतिको तिक्रमणलाई स्वीकार गर्न नहुने पनि बताए ।
‘संस्कृतिमा समाजको रस हुन्छ, संस्कृतिमा परिवर्तनविनाको राजनीतिक परिवर्तन रसहीन जीवनझैं हुन्छ’ वयोबृद्ध राष्ट्रकविले थर्थराएको स्वरमा भने, ‘आफ्नो संस्कृतिको महानतालाई भुलेर आयातित संस्कृतितिर आकर्षित हुनु पनि ठूलो भुल हो ।’ राष्ट्रकवि घिमिरेले राजनीतिक परिवर्तनसँगै स्वस्थ्य सांस्कृतिक परिवर्तन हुन सके सभ्य समाज बन्ने बताए ।
पुस्तकको समीक्षकद्वय तुलसी दिवस र बासुदेव अधिकारीले पुस्तकमा उठाइएको विषयले लेखक प्रदीप ज्ञवाली र समालोचक, लेखक र राजनीतिकर्मीमा मात्रै सीमित नरहेर एउटा सांस्कृतिक अभियन्ताका रुपमा स्थापित रहेको वताए ।
तुलसी दिवसले पुस्तकको समालोचना गर्दै भनेः ‘समाज कसरी परिवर्तन हुँदैछ त्यो बुझ्न यो पुस्तक पढे पुग्छ । यसमा संस्कृति बुझ्नलाई राजनीति र सामाजिक जीवन बुझ्न किन जरुरी छ भन्ने कुरा प्रष्ट ढङ्गले ब्याख्या गरिएको छ ।’
पुस्तकका लेखक ज्ञवालीले भने राजनीतिक क्षेत्रमा ठूला ठूला परिवर्तन भए पनि समाजमा अग्राह्य संस्कृति परिवर्तन हुन नसक्नुका कारणहरू खोतलेका थिए । ‘राजनीतिक क्षेत्रमा ठूला परिवर्तन भइसक्दा पनि सामाजका कतिपय ग्रहण गर्नै नसकिने संस्कृतिमा परिर्वतन किन नभएको होला ?’ ज्ञवालीको प्रश्न थियो, ‘समाजमा ठूला ठूला परिवर्तन भइसक्दा पनि महिला र दलितलाई दोस्रो दर्जामा हेरिने चलन किन परिवर्तन हुन नसकेको ? यिनै प्रश्नको वरिपरी रहेर बहसको सुरुवात गरिएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रकवि उपस्थित भएको कार्यक्रममा मर्यादाका हिसावले आफू प्रमुख अतिथि हुन नसक्ने वताउँदै राष्ट्रकवि घिमिरेलाई प्रमुख अतिथि घोषणा गरेका थिए । ‘राष्ट्रकवि उपस्थित भएको पुस्तक सम्बन्धी कार्यक्रममा प्रधानमन्त्री कसरी प्रमुख अतिथि हुन सुहाउँछ ?’ प्रधानमन्त्री ओलीले यसो भन्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रमुख अतिथि घोषणा गरेपछि सहभागीहरूले गडगडाहट ताली बजाएका थिए ।
कार्यक्रमा प्रा. डा. कृष्णहरि बराल, महिला बालबालिका तथा जेष्ठ नागरिक समाज मञ्चका अध्यक्ष रञ्जु झा लगायतले बोलेका थिए । कार्यक्रम साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्माको अध्यक्षतामा भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































