साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो र कुलो

Nepal Telecom ad

भान्जाको बिहेको निम्तो मान्ने उद्देश्यले गत साता गाउँ पुगेँ । बजारको पुरानो चल्तीको चिया दोकानमा आज पनि थुप्रै स्थानीय नेता, कार्यकर्ता र गाउँलेहरू भेला भएर वादविवाद गर्दै रहेछन् । आजको विषयचाहिँ प्रधानमन्त्रीको भारत भ्रमण रहेछ ।

कांग्रेसका स्थानीय नेता खड्गप्रसाद ओझाको पालो रहेछ बोल्ने । भने, ‘ओली त जिउँदो मान्छे रैछ हो । शिर ठाडो गरेर इन्डियन नेताहरूसँग, पत्रकारहरूसँग, जोसँग पनि बोल्न सक्ने । हिन्दीमा भन्यो हिन्दीमा, अंग्रेजीमा भन्यो अंग्रेजीमा, ओहो !’

एमालेका स्थानीय नेता माधवकुमार ढकालको चित्त बुझेन । भने, ‘अंग्रेजी बोल्दैमा ठूलो भइन्छ ? मेरो नाति पनि फरर्र अंग्रेजी बोल्छ । शिर ठाडो त यसो नि, घाँटीको बिरामी, मुन्टो निहुराउनै मिल्दैन अरे ओलीजीको । अनि ठाडो त हुने भैगो नि !’

‘आफ्नै नेतालाई नउडाउनूस् काका । उहाँको आत्मविश्वासले रोगलाई जितिसक्यो । उहाँको यही आत्मविश्वास र अडानले गर्दा कसरी झुक्न आए भारतीय नेताहरू ? उहाँलाई स्वागत गर्न राज्यमन्त्री, सचिव जाँदा हुनेमा विदेशमन्त्री आफैँ एयरपोर्ट गइन् ।’

‘तिमेरु ठिटाहरूलाई भारतको कूटनीति के थाहा छ ? यो त हाम्रा नेताहरूलाई भस्ल्याङभुस्लुङ पारेर लटपट्याउने चाल हो । त्यो सुष्मा भन्नेले केपीको हात कस्तरी च्याप्प पारेर समातेकी, ख्याल गर्नुभो तपाईंहरूले ?’

‘तपाईंले के भन्न खोज्नुभएको ?’ एक जना युवा जंगिँदै उठे ।
‘बिरामी मान्छेको अररिएको हात त्यसरी अठ्याउन हुन्छ ? उनीहरूले रिस पोख्न त्यसो गरेका हुन्, जानी जानी पीडा दिन । राजकीय भ्रमणमा गएका प्रधानमन्त्रीलाई स्वागत गर्न आउँदा हाफ सर्टमा भोटो लगाएर भेट्न आए मोदी । मोजासमेत लगाएका छैनन् खुट्टामा । कति हेपेको त ? यत्रो अपमान गर्दा पनि ओलीले कुनै प्रतिरोध गरेनन् । लत्रक्कै परे ।’

‘मोजा लगाएर आउनूस् मोदीजी भन्नु त केपीले ? नचाहिने कुरा ! देख्नुभएन, विदेश मन्त्रीले केपीको जन्म दिनमा कत्रो सम्मान प्रकट गरिन् । आफ्नै भाइ भन्दै शुभकामना दिइन् ।’

‘केको सम्मान, हेपेको हो हेपेको । आफू आठ दिनअगाडि जन्मेको कुरा पत्ता लगाएर प्रधानमन्त्रीजस्तो मान्छेलाई ‘छोटा भाइ’ भनेर अपहेलना गर्दा पनि मख्ख पर्ने ? अर्को कुरो, देशको स्थिति यस्तो छ, नयाँ दिल्लीमा गएर जन्म दिन मनाउनुपर्ने ! काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।’

‘तपाईंहरू नकारात्मक मात्रै कुरा नगर्नूस्, मधेस आन्दोलनका बेला इन्डियाबाट नेपालको भूमिमाथि आक्रमण गरेको कुरा दिल्लीमै गएर अप्रत्यक्ष रूपमा उठाएर ओलीले भारतलाई थर्काएको कुरा पनि नबिर्सौं साथी हो ।’

‘अँ, यहाँ झापामा थापा भाइको चिया दोकान पनि हल्लिन त हल्लिएको थियो । ओलीले दिल्लीमा थर्काएकाले पो रहेछ । डाइरेक्ट भन्न सक्नुपर्यो नि भारतले नेपालमाथि आक्रमण गरायो, त्यसका लागि भारतले माफी माग्नुपर्छ भनेर ।’ कुईंकेल बूढा कस्सिए ।

‘यी भन्न सक्छ कसैले त्यसरी ? तिम्रा नेता भए सुरालमा सु गरेर फर्किन्थे होला ।’ लाउती बूढाले जुरुक्कै उठेर कुईंकेल बूढालाई लोपारे । कुईंकेल उठेर लाउतीतिर जाइलाग्न खोजे । एकछिनको चर्काचर्की र ठेलमठेलपछि एक एक गरेर जंगिँदै सबै निस्किए र तितरबितर भए । म पनि भोलि फेरि आउने विचार गर्दै घरतिर लागेँ ।

प्रकाशित, फाल्गुन २१, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x