साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार खित्का

Nepal Telecom ad

कहिल्यै नसकिने प्रश्नोत्तर

प्रश्न : चाहिएजति ग्यास–पेट्रोल कहिले पाइन्छ ?
उत्तर : नाकाबन्दी खुलेपछि ।
प्रश्न : नाकाबन्दी खुल्यो, तैपनि किन पाइएन ?
उत्तर : प्रधानमन्त्री भारत भ्रमणमा गएपछि पाइन्छ ।
प्रश्न : भारत भ्रमणमा गएपछि पनि किन पाइएन ?
उत्तर : फर्किएपछि पाइन्छ ।
प्रश्न : प्रधानमन्त्री फर्किए, अब कहिले पाइन्छ ?
उत्तर : अब चीन भ्रमणमा गएपछि पाइन्छ ।
प्रश्नोत्तर जारी रहनेछ…।

पहिले भाइभाइ, अब दिदीभाइ

यताबाट सरर उडेर दिल्ली पुगेँ । दिल्लीमा जाडो थियो तर म पुगेपछि जाडो बेपत्ता भयो । जाडो हटेपछि मेरो न्यानो स्वागत भयो । कति न्यानो भयो भने मलाई कोट खोलेर फालौँजस्तो लाग्यो तर खोलिनँ । म दिल्ली पुग्नासाथ जाडो भाग्नुको रहस्य मोदीजीले सोधे । मैले भनेँ, ‘जाडो भगाउने उखान मनमनै वाचन गरेको थिएँ, टिक्न नसकेर टाप कस्यो ।’ त्यसपछि सुत्नलाई कोठा पसेपछि बाथरुममा हेर्छु त पानी नै थिएन । म बसेको कोठालाई समेत नाकाबन्दी गरेर यिनले ताउरमाउर देखाए भन्ने लाग्यो । बिहान उठेपछि मात्र थाहा पाएँ, दिल्लीलाई हरियाणाका जाटले पानीको नाकाबन्दी ठोकेका रहेछन् । जस्तालाई त्यस्तै ढिँडालाई निस्तै भनेको यही हो भनिदिऊँजस्तो लाग्या थियो तर परदेशमा छुच्चो मुख किन गर्नु भनेर चुप लागेँ ।

बिहानै मोदीजी मेरो कोठामा आए । अनुहार हेर्दा उनले मुख धुन नपाएको जस्तो लाग्यो । अब उनले मसँग पक्कै पानी माग्छन् भन्ने लाग्यो । त्यसैले उनले माग्नुअगाडि नै मैले बिजुली मागिदिएँ । नाईं भन्ने मौका नै दिइनँ । प्याच्च मागेँ, ट्वाक्क पाएँ । उताबाट पाएको बिजुली नेपालमा तारमार्फत घरघरमा बाँड्ने व्यवस्था मिलाएको छु । यति बिजुलीले पुगेन भनेर गुनासो नगर्नुहोला, चिन्ता नगर्नूस्, अझै दिने भनेका छन् ।

बिजुली दिन त दिए तर भविष्यमा यसमा पनि नाकाबन्दी गरिदिन के बेर ? यो चिन्ताको औषधि पनि मैले फ्याट्टै निकालेँ । विदेशमन्त्रीलाई दिदी बनाएँ । पहिले नेपाल–भारत ‘भाइभाइ’ थियो, अब ‘दिदीभाइ’ भयो । दिदीले भाइलाई कसरी नाकाबन्दी गर्छे ? कसरी दुस्ख दिन्छे ? यही हो मेरो भ्रमणको उपलब्धि ।

भिखारी होइन, भोकारी

वडामा भोट माग्यो । गाउँमा भोट माग्यो । क्षेत्रमा भोट माग्यो । जिल्लामा भोट माग्यो । केन्द्रमा, कहाँ कुन पदमा उठ्ने टुंगो छैन । तैपनि, उठ्नै र्पयो । नउठे नेता बनिन्न, उठे जित्ने ग्यारेन्टी छैन । गाउँदेखि भोट माग्दैमाग्दै आउँदा थाकिसक्यो । ज्यानभन्दा धेरै खल्ती थाकिसक्यो । उम्मेदवार बनेपछि मतदाता वरिपरि आउँछन् । आफ्नै पार्टीका भनेर के गर्नू ? तिनलाई मीठो खुवाउनै र्पयो । ठोस मात्र खुवाएर भएन, तरल पनि पिलाउनै र्पयो । हे प्रभो ! नेता बन्न असाध्यै गाह्रो र्पयो ।

अहिले कांग्रेस महाधिवेशनको याम छ । नेताहरूको आँगनमा टिकट माग्नेको लाम छ । गुटले उठ भनेर टिकट नदिएसम्म आफूखुसी उठेर काम छैन । तैपनि, उम्मेदवार नबनी भा छैन । चुनावमा उठेपछि भोट माग्न पर्छ । माग्दा माग्दै जीवन जाने भो । जहिलेतहिले मागेर नेता बन्नुपर्ने यो राजनीति कस्तो नशा हो ? नजान्नेका लागि नशा हो, जान्नेका लागि पेसा हो । भीख माग्नेलाई भिखारी भनेजस्तै भोट माग्ने लाई ‘भोकारी’ भन्ने कि ? राजधानीको भीडभाडमा मुसुक्क हाँसेर कसैले केही माग्दैछ भने उसलाई भिखारी भनिहाल्न हुन्न, ऊ कांग्रेसको भोकारी पनि हुन सक्छ ।
कांग्रेसका मात्र किन ? हरेक पार्टीका नेता–कार्यकर्ताहरू भोकारी होइनन् र ?

पार्टी शास्त्र

पार्टी के हो ? : पार्टी भन्या पाटीजस्तै हो । चक या खरीले लेख्ने पाटी होइन, बास बस्ने पाटी हो । पाटी र धर्मशालाको चलन हराए पनि राजनीतिक पार्टीले तिनको काम धानेका छन् । उपयोगिता हुन्जेल बस्ने, उपयोगिता सकिएपछि बाटो लाग्ने थलोलाई कसैले पाटी भन्छन्, कसैले धर्मशाला र कसैले पापशाला पनि ।

पार्टीभित्र के हुन्छ ? : जसरी पाटीभित्र कोठाहरू हुन्छन्, त्यसै गरी पार्टीभित्र पनि कोठाहरू हुन्छन् । पार्टीभित्रका कोठालाई गुट भनिन्छ । कोठाभित्र पनि ससाना कोठा हुन्छन्, जसलाई उपगुट भनिन्छ ।

गुट के हो ? : गुट भनेको उपगुटहरूको समूह हो । उपगुटहरू मिलेर गुट बन्छ । गुटहरू मिलेर पार्टी बन्छ ।

एउटा पार्टीमा कति गुट हुन्छन् ? स् जहाँ नेता त्यहाँ गुट हुन्छ, त्यसैले पार्टीमा नेतापिच्छेको गुट हुन्छ । सानो नेताको नेतृत्वको झुन्डलाई उपगुट भनिन्छ भने ठूला नेताकोलाई गुट । नेता जतिसुकै ठूलो किन नहोस्, उसको गुट पनि उपगुटहरूको समूह हो । पानीबिना माछा बाँच्दैन, गुटबिना नेता टिक्दैन ।

पार्टी ठूलो कि गुट ? : पार्टी नै ठूलो हो तर नेताका लागि चाहिँ होइन । नेता बन्न गुट चाहिन्छ, गुट बन्न पार्टी चाहिन्छ । गुट रहे नयाँ पार्टी बनाएर भए पनि नेताका रूपमा टिकिरहन सकिन्छ । त्यसैले नेताका लागि गुट नै ठूलो भएन र ?

गुट कसरी बन्छ ? : गुटमा लाग्न हुन्न, पार्टीका लागि गुट हानिकारक छ, गुट मासेर पार्टी एकढिक्का हुनुपर्छ भन्ने ‘सद्विचार’ राख्नेहरू एक ठाउँ भेला हुन्छन् र नयाँ समूह जन्मन्छ । औकात पुगेमा त्यो समूह गुटमा परिणत हुन्छ, नत्र उपगुटको रूपमा कुनै गुटमा मिसिन्छ ।

गाँठी कुरो : लोकतन्त्र भनेको पार्टीहरूको तन्त्र र पार्टीतन्त्र भनेको गुटरउपगुटहरूको तन्त्र हो भन्ने जसले जान्यो, उसले राजनीति गरिखायो ।

नेपाल, फाल्गुन २१, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x