प्रेम ओली ढकलपुरेलोके पुत्र
जेठा पुत्र अलिक इमान्दार
पढाइ लेखाइमा जेहनदार
सधैं पढाइ लेखाइमै कस्सिए
जगिर भएपछि
जिल्ला छोडी
राजधानीतिरै धस्सिए ।
माइला अलिक बाठा परे
अङ्ग्रेजीमा फाइँफुइँ गरे
खैरीनीसँग मस्किए
पातालतिरै फस्किए ।
साइँला परे अलि कडक
गर्नु पर्ने तडक भडक
ती ठेकेदार भै टोपले
सधैं
सोमरसमै मुख चोपले ।
काइँला सधैं
झगडा गर्दै हिँड्ने
कोही भटिएन भने पनि
ससुराललाई तथानाम भन्दै
श्रीमतीसँग भए पनि भिड्ने ।
कान्छो झन लठक नारायण
पढाइ लेखाइ चटक्क नारायण
पढाइ लेखाइ नभए पनि
सधैं कलेज जान्थे
विद्यार्थी आन्दोलनमा
इँटा ढुंगा हान्थे ।
कहिले पिटाइ खान्थे
कहिले अरुलाई पनि
दुईचार मुक्का हान्थे
त्यसैले विद्यार्थीहरू पनि
उनकै कुरा मान्थे ।
बिस्तारै नेतागिरी गर्न थाले
एकदिन सदस्यको लागि
पार्टीमा दरखास्त हाले
पछि सभासदसम्म भएछन्
युरोपदेखि अमेरिकासम्म गएछन्
आजभोलि अरु पुत्र
खै कता गाका छन् गाका छन्
यिनै लठक नारायण नै
ठूला मान्छे भाका छन्
गाउँदेखि सहरसम्म
यिनैले मानसम्मान पाका छन्
डाक्टरदेखि प्राध्यापकसम्म
यिनैलाई भेट्न आका छन् ।
तर लोके
जति पुत्र भए पनि
गाउँमा एक्लै भाका छन्
श्रीमती स्वर्ग हिँडेपछि
आफैं पकाई खाका छन्
बाह्र छोरा तेह्र नाति
बुढाको दुख बुढैमाथि
अब लोके पनि के कम
नयाँ घरजम गरी बस्या छन्
बुढौलीमा भए पनि
घोर्ले छोरो पाउँछु भनी
कमरै कस्या छन् ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































