सुलसुलेमलेसियामा ‘दुई थोपा हाँसो’
चैत्र १०, २०७२ । ‘परदेशको भूमीमा पसिना बगाएर आफ्नो परिवार मात्र होइन, सिंगै नेपाललाई पालीरहेका आदरणीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू नमस्कार । यता तपाईंहरूलाई सञ्चै होला, उता हामीलाई पनि राम्रो छ । राम्रोमात्र होइन साह्रै राम्रो छ । तपाईंहरूले छाडेको भन्दा नेपाल बेग्लै भइसकेको छ । विकासको गतिमा दौडिरहेको छ । दौडिने मात्र होइन अब त उड्लाजस्तो छ ।’
शुक्रबार मलेसियाको बान्तिङमा रहेको नेपाली कामदार बस्ने होस्टलमै पुगेर एकजना व्यक्ति यस्तै खबर सुनाउँदै के थिए, सहभागीहरूले हलै गुञ्जिने गरि ताली पड्काए र मज्जैले हाँसे । दिनभरिको काम सकेर होस्टल फर्किएका श्रमशील नेपालीहरूलाई ‘नेपालको खबर’ बारे व्यङ्ग्यात्मक चिठी पढेर सुनाउँदै थिए, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे । उनका बाङ्गा बाङ्गा ठट्यौली प्रस्तुतिले श्रमशील सीधा सादा नेपाली हाँसोले गुञ्जिए ।
परिवारको साथ छाडेर परदेशमा श्रम गरिरहेका नेपालीहरूको दुस्खबीच हँसाउन दुई थोपा हाँसो लिएर मलेसिया आएको सिस्नुपानी नेपालको टिमले यसैगरि मलेसियाको राजधानी क्वालालम्पुर, निलाई, क्लाङ लगायत शहरहरूमा आफ्ना प्रस्तुतीले हँसाए । नेपालीहरूको बाहुल्यता भएको अर्को शहर जोहोरबारुमा कार्यक्रम रहेको थियो । गत शुक्रबार निलाईको जिएस पेपर एण्ड प्याकेजिङ कम्पनी, शनिबार केलाङको टपग्लोब कम्पनीको होस्टल र आइतबार केएलस्थित फाइभ इलेमेन्ट्स होटल कार्यक्रम सम्पन्न भएको हो भने बुधबार जोहोरबारुको होटल जेए रेसिडेन्सीमा पनि ।
उक्त अवसरमा सिस्नुपानी नेपालका गाम्नागे, मनोज गजुरेल, अर्जुन पराजुली, टंक आचार्य, डा राजु अधिकारी, धीरेन्द्र प्रेमर्षी र पत्रकार जगत तामाङ मलेसिया आएका थिए । उनीहरूले यहाँ कर्मशील नेपालीलाई पालैपालो हँसाए ।
कार्यक्रमको चाँजोपाँजो दूतावासका द्वितीय सचीव उत्तम कुमार शाही, एनआरएनका संरक्षक विश्व राई, व्यवसायी पासाङ लामा, नर बहादुर सुनार लगायतले मिलाएका थिए । श्रमशील नेपालीहरूका लागि जनचेतना बाँड्न सामाजिक अभियानस्वरुप गरिएको व्यङ्ग्यात्मक हास्य कार्यक्रमले दर्शक दीर्घामा रहेका नेपालीहरू कम्ती हाँसेनन् । हाँस्यकलामा लोकप्रिय मनोजले आफ्नो ‘गजुरियल’ प्रहसनमार्फत भरपुर मनोरञ्जनका साथै सामाजिक सचेतनामूलक सन्देशहरू सुनाए । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको क्यारिकेचर गर्दा दर्शकमा हाँसोको फोहोरा छुट्यो ।
‘अरुको बायुसेवा निगमले जहाज उडाउँछ,
हाम्रो वायुसेवा निगमलाई जहाजले उडाउँछ ।’
अर्जुन पराजुलीको व्यङ्ग्यात्मक कविताका यस्तै हरफहरूले दर्शक नहाँसी रहन सकेनन् । मुलुक, नेता अझै धेरै सुध्रन बाँकी रहेको तर सकारात्मक आशा र विश्वास अझै बाँकी रहेको भाव झल्कने करिब आधा दर्जन कविता सुनाए ।
अर्का स्रष्टा डा राजु अधिकारीले योग र स्वस्थ रहने विभिन्न टिप्सहरू बाँडे । उनले कसरी स्वस्थ रहने भन्नेबारे विविध टिप्सहरू मात्रै बाँडेनन् सहभागीहरूलाई बीच बीचमा हँसाउँदै शारीरिक व्यायाम समेत गराउन सफल भए ।
त्यस्तै कार्यक्रमका अर्का आकर्षण धीरेन्द्रले रोचक र घोचक दुवैखाले प्यारोडी गीत र गजल गाएर दर्शक हँसाए । उनले मैथिली भाषामा समेत आफ्ना प्रस्तुती पस्किएर मैथिलीभाषी दर्शकको मन बुझाउन भ्याए ।
व्यङ्ग्यबाणको आडमा जनचेतना र हाँस्य मिश्रित उक्त कार्यक्रमका संयोजक एवं अर्का प्रस्तोता टंक आचार्य पनि कम्ती थिएनन् । व्यंग्य मिश्रित सटिक शैलीमा दर्शक रिझाउन जानेका उनले ठट्यौली शैलीमा सकारात्मक र चेतनामूलक खुराकसमेत पस्किए ।
अरुबेला पैसा तिरेर कार्यक्रम हेर्ने गरेका नेपालीहरू यसपाली सित्तैमा हाँस्यव्यङ्ग्य र ज्ञानगुनका कुरा थाहा पाउँदा मख्ख परे । ‘पैसा तिरेर १ घण्टा बसमा केएल पुगेर त कार्यक्रम हेरिन्थ्यो । तर आज आफ्नै होस्टलमै हेर्न पाइयो । त्यही पनि निशुल्क ।’ रौतहट घर भई २ बर्षअघि देखि क्लाङस्थित टपग्लोब कम्पनीमा कार्यरत बृजेश्वर यादवले खुशी हुँदै भने ‘अरुबेला भन्दा फरक हँसाउने कार्यक्रम हेर्न पाउँदा धेरै खुशी लाग्यो ।’
जति दुख भए पनि सकारात्मक सोचको विकास गर्न, आशा र उमंगमा रमाउन र सदभावना जगाउन कार्यक्रमले भरपुर मनोरञ्जन दियो । सामाजिक परिवर्तनका लागि हाँस्यव्यङ्ग्य यात्रा गर्दै आएको सिस्नुपानी नेपालले बैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरेर उनीहरू भएकै ठाउँमा पुगेर गरेको यो पहिलो अभियान हो । यसअघि कतार र युएईमा कार्यक्रम सम्पन्न भइसकेको र नेपाली रोजगारीमा रहेका साउदी अरब, कुवेत लगायत मुलुकहरूमा छिटै आयोजना हुने कार्यक्रम संयोजक टंक आचार्यले जानकारी दिए ।
कार्यक्रममा नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्न्यातसहित दूतावासका अन्य प्रतिनिधि, गैरआवासीय नेपाली संघ एवं अरु विभिन्न संघ संस्थाका प्रतिनिधि, श्रमिक र पत्रकारहरूको बाक्लो सहभागिता थियो । सिस्नुपानी नेपाल र इस्लिङ्टन कलेजको सहकार्यमा आयोजित यस कार्यक्रमलाई श्रम मन्त्रालय, पर्यटन बोर्ड, अन्तर्राष्ट्रिय श्रम संगठन, एयर एसियाले सघाएको हो ।
–रामचन्द्र गिरी, मलेसिया
Subscribe
Login
0 Comments
Oldest












































