सुलसुलेमूर्ख सम्मेलनमा ‘महामूर्ख’ सम्मान
जनकपुर, चैत्र १०, २०७२ । मिथिला नाट्यकला परिषद्ले बुधवार आयोजन गरेको फागु महोत्सवको दोस्रो दिन समाजसेवी पवन सिंहानिया महामूर्ख घोषित भएका छन् । सिंहानियालाई पूर्वमन्त्री रामचन्द्र झासंगै मिनापका अध्यक्ष मदन ठाकुरसहितका पदाधिकारीहरूले उपहार, प्रमाणपत्र तथा कलात्मक माला लगाएर यस वर्षको महामूर्ख घोषित गरेका थिए ।
सभासद दिनेशप्रसाद यादवलाई खेसारीलाल, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साहलाई पट्टमूर्ख, नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेशप्रसाद साहलाई गजाधर, रामानन्द युवा क्लवका पूर्व अध्यक्ष जीवनाथ चौधरीलाई बोतलानन्द, तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहलाई बज्रकीट, राम युवा कमिटीका पूर्व अध्यक्ष प्रमोद चौधरीलाई सिलौटानन्द, कविद्वय काशीकान्त झा र विजय दत्त मणिलाई क्रमशः हराशंख तथा डपोरशंख, समाजवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झालाई वैशाखनन्दनको उपाधि प्रदान गरिएको थियो ।
उनीहरूलाई पूर्वमन्त्री रामचन्द्र झा, सभासद शीतल झा, साहित्यकार डा.रेवतीरमण लाल तथा अयोध्यानाथ चौधरी, नेपाली काग्रेस धनुषाका सभापति एवं पूर्व सभासद रामसरोज यादव लगायतले कलात्मक माला, प्रमाणपत्र तथा उपाधि प्रदान गरेका थिए ।
मिथिला नाट्यकला परिषद् फागु पर्वको पुर्व सन्ध्यामा प्रत्येक वर्ष दुई दिवसीय फागु महोत्सव आयोजन गर्दै आएको छ । महोत्सवको पहिलो दिन मंगलवार फागुगीत प्रतियोगिता तथा दोस्रो दिन बुधवार महामूर्ख सम्मेलन आयोजन गरिएको थियो ।
मिनाप अध्यक्ष मदन ठाकुरको अध्यक्षतामा सम्पन्न महामूर्ख सम्मेलनमा हास्य कविगोष्ठीको आयोजन गरिएको थियो जसमा डा.रेवतीरमण लाल, दिगम्बर झा दिनमणि, नरेश ठाकुर, विजय दत्त मणि, काशीकान्त झा, ब्रजमोहन झा, मनोज प्रवेश, ज्ञानेन्द्र झा, राजेश कर्ण, संतोष कर्ण, लालजी ठाकुर, नागेश्वर मण्डल तथा किरन झा रश्मिीलगायतका कवि कवियत्रीहरूले व्यङ्ग कविता पाठ गरेका थिए ।
कार्यक्रमको श्रीगणेश मिनापका कलाकारहरूले व्यङ्ग नाटिकाबाट गरेको थियो । नाटक मार्फत नगर पालिकाको दुराव्यवस्थाप्रति व्यङ्ग गरिएको थियो । नाटिकामा मदन ठाकुर, रामनारायण ठाकुर, गंगाकान्त झा, परमेश झा, भवेश मिश्र, घनश्याम मिश्र, मुकेश, सन्नी, संदीपलगायतका अभिनेताहरूले अभिनय गरेका थिए । यसैगरी मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक, ललित कापर, गंगाकान्त, रामनारायण, अनिलचन्द्र, राजकिशोर साहलगायतले फागु गीत तथा जोगीरा गाएर दर्शकलाई मोहित बनाएका थिए ।
–श्यामसुन्दर शशि, जनकपुर
Subscribe
Login
0 Comments
Oldest












































