साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल यात्रामा मिश्र वैजयन्तीका कविता

Nepal Telecom ad

काठमाडौँ १२ चैत २०७२ ।
‘…मलाई आमा हिँडेको बाटो
आमा जत्तिकै प्रिय छन्
मलाई आमासम्म पुग्नु छ…’

कवि तथा समालोचक मिश्र वैजयन्तीले यसरी आमाप्रतिको आफ्नो श्रद्धा पोख्दै शालीन विद्रोही खालका आफ्ना १४ कविता शुक्रबार प्रस्तुत गर्नुभयो । जनसाहित्यिक मञ्च नेपालद्वारा ‘अविरल जनसाहित्यिक यात्रा–२४’ अन्तर्गत आयोजित एकल कविता वाचनमा उर्लाबारी, मोरङकी मिश्रले डेरावाललाई घरपतिले आफ्नो घरमा शिशु जन्माउन नदिएको, समुदायमा जातीय रङ खोज्ने प्रवृत्ति बढेको नेताहरू आफैँ देवता बन्न खोजेको लगायत भावका कविता प्रस्तुत गर्नुभयो । नेतृत्वमा बसेकाहरूप्रति सम्बोधन गर्दै गरेको उहाँको अभिव्यक्ति यस्तो थियो–
‘…मन्दिर हटाएर मन्दिरमै
विराजमान हुनुहुन्छ तपाईँ…’

प्रलेस मोरङका अध्यक्ष मिश्रलाई कविता वाचनमा डा भीम खतिवडा, अनिल पौडेल, लक्ष्मी निरौला, हरिमाया भेटवाल र शर्मिला गिरीले साथ दिनुभएको थियो । मिश्रका निबन्ध र कथासङ्ग्र्रह गरी तीन कृति प्रकाशित छन् । सो अवसरमा नेकपा(एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले साहित्य मार्फत सामाजिक रुपान्तरणमा योगदान दिने प्रतिभाहरूलाई अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो । एमालेका उपमहासचिव घनश्याम भुसाल र केन्द्रीय सदस्य खगेन्द्र राई, मञ्चका अध्यक्ष राम विनय र महासचिव विनोद मन्जनले अब सिर्जनाका क्षेत्रमा केन्द्र र मोफसलको सीमा करिब करिब भत्किसकेको बताउनुभयो ।

मञ्चको काव्य विभागका संयोजक डा विन्दु शर्माले मिश्र शिल्प प्रयोग गरी वैचारिक आस्थाप्रति दृढ हुनुहुन्छ भन्नुभयो । कवितामाथि समीक्षा गर्दै डा देवी नेपालले कविले संवेदना, करुणा र विचार सँगसँगै लगेको बताउनुभयो । सो शृङ्खला अन्तर्गत आगामी महिना २५ औँ एकल कविता वाचन पनि डा. नेपालले नै गर्नुहुने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x