सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सुविधासम्पन्न यातायातमा यात्रा

Nepal Telecom ad

भर्खरै खुर्कोट–सिन्धुलीको बाटो हुँदै झापा पुगेर फर्किएको थिएँ । सडक साँच्चै आधुनिक र भव्य छ त्यो । घुम्तीमा आउँदै गरेका गाडी देखियून् भनेर सडकको केही खण्डमा ऐनाहरू समेत जडान गरिएका थिए त्यहाँ पहिला, सायद परीक्षणका लागि होला । जाँदा एक–दुई ठाउँमा बाँकी देखिएका ऐना फर्किंदा ढुट्टिइसकेका रहेछन् । हामी वीर नेपाली जाति ऐनाजस्ता कुनै उज्याला, राम्रा, नयाँ र टल्किने वस्तु देख्नै सक्दैनौँ, फुटाइहाल्छौँ । हामीलाई परीक्षण गरिराख्नै पर्दैन, हाम्रो निशाना अचूक छ ।

काठमाडौँ फर्केकै दिन राजधानीमा अत्याधुनिक सुविधासम्पन्न बस चल्न थालेको समाचार पढेर गद्गद भएँ । त्यो बस हेरिहाल्न, चढिहाल्न इच्छा भयो । पछि भनेको के हो के हो ! बस कति दिनसम्म चल्ने हो ! दुई–चार दिनपछि जाँदा सिट सद्दे रहने हुन् कि होइनन् ! अहिले पो दिनैपिच्छे नुहाइधुवाइ गरिदिने अरे त, केही दिनपछि धूलोले गाडीको रंग पनि नछुट्टिएला । यो राम्ररी चल्न थाल्यो भने ट्याक्सी, माइक्रो र अरू कम्पनीका गाडीहरूले बाटो छेकेर गुड्नै बन्द गराउलान् । ढुंगा हान्न त थाली नै सके, कुन दिनदेखि आगो लगाउन थाल्लान् । त्यसैले बस चल्न थालेको दोस्रो दिन नै म लागेँ चक्रपथतिर बस हेर्न ।

सञ्चारमाध्यममा चिटिक्कका राता राम्रा गाडी देखेको थिएँ । विशेष पोसाक लगाएका चालकहरू । मीठो बोली र मुस्कानसहित ढोकामा स्वागत गर्न बसेका परिचारिकाहरू । गाडीभित्र सजिलै सास फेर्न सकिने खुकुलोपन । भिडिओ स्क्रिनबाट आइरहेको मधुरो गीत । पुगिएको ठाउँ र अब पुगिने स्टेसनको नाम डिजिटल डिस्प्लेमा । यति भएपछि कुनै यात्रुले ‘ओए ! रोक् भनेको सुनिनस् ?’ भनेर हपार्नु पनि नपर्ने, सहचालकले ‘अघि बोलाएको बेला कानमा ठेटी खाँदेको थियो ?’ भनेर यात्रुलाई झपार्नु पनि नपर्ने ।

त्यस्तो बसमा चढ्ने आत्तुरीका साथ पर्खंदै गर्दा ‘महानगर यातायात’ लेखेको बस आयो । गाडी ठम्याउन खोज्दै थिएँ, झ्यालबाट मुन्टो निकालेर एक जना भाइ करायो, ‘नयाँ बस ! नयाँ बस ! गौशाला, चाबहिल महाराजगन्ज, चक्रपथ !’ बस नयाँ तर पुरानै कर्कश आवाज । पारा पुरानै । मन खिस्रिक्क भयो । गाडीमा चढौँ कि नचढौँ जस्तो गर्दै थिएँ, भाइ करायो, “जाने होइन दाइ ?” मैले भनेँ, “हो ।” उसले पुरानै भाकामा भन्यो, “के हेरेर बसेको त, चढ्नु न छिटो ।” म ढोकाछेउको अटेसमटेस भीडमा मिसिएँ । भाइले भन्यो, “भित्र जानू न, ढोकैमा भीड गर्नुपर्छ ?”

त्यो भाइ पक्कै पनि नयाँ परिचारिकाहरूलाई तालिम दिन खटाइएको कर्मचारी हुनुपर्छ । ऊ यात्रुलाई खाँद्ने, हप्काउने, तान्ने, घचेट्ने आदि तरिकाहरू सिकाइरहेको थियो । एयरपोर्टबाट चढेको म गौशालामा झरेँ । भाडा १३ रुपियाँ रहेछ, परिचारिकाले मसँग १५ रुपियाँ लिइन् । मैले भनेँ, “खोइ दुई रुपियाँ ?” उनी ‘खुद्रै भएन दाइ’ भन्दै झोला खोतल्न थालिन् । प्रशिक्षक कराए, “ढिलो भइसक्यो, दुई रुपियाँका लागि के किचकिच गरिराख्या, ल लिनूस् ।” उनले दुइटा सिक्का मतिर फाले । एउटा सिक्का हातमा पर्यो, अर्को गुडेर हरायो । परिचारिकाहरूको नमस्ते खाइएला भनेको झन्डै परिचारकहरूको कुटाइ खाइयो । जाबो १३ रुपियाँको यात्रामा त्यसभन्दा बढी अत्याधुनिकता र सुविधा सम्पन्नता के पाइयोस् त भनेर चित्त बुझाउँदै घर फर्किएँ ।

नेपाल, चैत्र १२, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे