साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लभफ्ल्यु रोग, लक्षण र उपचार

Nepal Telecom ad

परिचय :
उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरूमा विपरीत लिङ्गीहरूप्रति चुम्बकीय आकर्षण पैदा भई शरीर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभफ्ल्यु भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वाभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्डफ्ल्यु, स्वाइनफ्ल्यु भन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबी, क्यान्सर र एड्स सामान्य भइसके । किन भने यो रोगले नौ वर्षे कलिलो उमेरदेखि पचहत्तर–असी वर्षे बृद्धबालकहरू सम्मलाई गाँजेको पाइन्छ । मधुमेय प्रेसर र डँडाल्नु दुख्ने रोगले ढल्कँदो उमेर खेदे पनि यो रोगले उमेर जात धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरिसाध्य नहुने रोग हो भन्ने ठोक्टरहरूको दाबी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झाँजरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्का व्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौँ । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने, धताउने एकोहोरो हुने, पागल हुने, मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विशेष गरी ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।

लक्षण :
यो रोग लागेका मान्छेमा तल उल्लेखित लक्षणहरू देखिन्छन् । यी लक्षणहरू देखिने बितिक्कै लगनगाँठो कसीदिन बेर लाइयो भने तपाईंको नाक समाजमा खेर जान सक्छ । यो रोग लागेको शङ्का लागे तुरुन्त जन्त लाने वा ल्याउने काम गरिएन भने तिनका बाबुआमाको छरछिमेकमा नाम नरहने कुरालाई नकार्न सकिँदैन । लक्षणहरूलाई बुँदागत रुपमा लेखेको छु :
१. एकाएक छोराछोरीले बुवाआमासँग ‘कम्युनिकेसन ग्याप’ गरेको देखिएमा ।
२. ‘क्युँकी सास भि कभी बहु थी’ जस्ता हिन्दी धारावाहिक टेलिभिजन सिरियल सिरियस भएर भातपानी बिर्सने गरी हेरेको देखिएमा ।
३. एक्लै टोलाएर वा साथीसँगी बोलाएर चिउँडामा हात राखी वियोगान्त गीतहरू नन्स्टप सुनेको पाइएमा ।
४. घरैमा बसेर डिभिडीमा वा शहरका ठूला घरमा गएर फेरिएपिच्छेका बोलचित्र हेर्नमा तपाइँको कमाइको केही अंश स्वाहा पारेको देखिएमा ।
५. किताब वा कापीका भित्री पानामा मयुरका पङ्ख, गुलाबका सुकेका फूल र विभिन्न पोस्टकार्डहरू चेपिएको भेटिएमा ।
६. इन्टरनेटमा लगातार घण्टौँ झोक्राएर घोत्लिएको, फेसबुकमा चमेरे शैलीमा झुण्डिएको र च्याटमा अनिदो बसेको देखिएमा ।
७. घरमा कसैले बोलाउँदा झर्किएर बोल्ने र तर्किएर हिँड्ने गरेको पाइएमा ।
८. मोबाइलमा नयाँनयाँ नम्बरहरूबाट कल, मिसकल वा ब्लफ कलको ओइरो लागेको र नयाँनयाँ नम्बरहरूमा कल, मिसकल वा ब्लफ कल गर्दै गरेको भेटिएमा वा कामोत्तेजक म्यासेजको पहिरो लागेको देखेमा ।
९. भुल्भुलेमा बगेको पानी जस्तै चुल्बुले बानी हुने नानीहरूमा एक्कासी गम्भीरता शरमपना र नरमपना देखिएमा ।
१०. बाँसझाङका फेदमा, नदी वा खोलाका किनारमा शहरका खाजे होटलदेखि लिएर तारे होटलसम्ममा र स्कुल कलेज पछाडिका चौरमा लेडालेडीलाई एकअर्कासँग गुनगुनाइ रहेको र ढुनमुनाइरहेको भेटिएमा ।
११. रेडियो टेलिभिजनका अनुरोध गर्ने खालका कार्यक्रममा विपरीत लिङ्गीलाई गीत फर्माइस् गरेको वा सम्झिएको सुने–देखेमा ।
१२. लेटरप्याड वा कापीका पानामा रातो रङ्ग वा रगतले लभ लेटर लेखिएको भेटिएमा ।
१३. दिनदिनै नयाँनयाँ र महँगा महँगा जिन्सी सामान र हात्ती अङ्कित नोटहरू छोराछोरीका साथमा वा हातमा भेटिएमा ।
१४. सिरानमुनि वा कोर्सका किताबका चेपमा रसरङ्ग जस्ता पत्रिका, आगो र कामसूत्र जस्ता किताब भेटिएमा । आदि ।

सर्ने तरिका :
यो रोग निम्न लिखित तरिकाबाट सर्ने गर्दछ :
१. साथीसँगीका माध्यमबाट–
साथीसँगीका देखासिखीमा लागेर हिँडेमा यो रोग सर्ने गर्दछ । ‘त्यसको त ब्वाइफ्रेण्ड वा गलफ्रेण्ड छ मेरो चैँ किन नहुनु भन्ने भावले यो रोग सर्नमा अहम् भूमिका खेलेको पाइन्छ । ‘यस्तो हुन्छ उस्तो हुन्छ, यो विना त जीवन पनि निस्तो हुन्छ’ भनेर साथीसँगीले हाउ लाइदिएपछि तिनका मुटुमा घाउ लाग्न सुरु हुन्छ र यो घाउ बढेर जानाले रोगीले आफूसहित आमा र बाउ बिर्सने क्रम सुरु भइहाल्छ ।
२. रेडियो, टेलिभिजन, मोबाइल, इन्टरनेट, पत्रपत्रिका र बोलचित्रबाट-
यो रोग यी माध्यमहरूबाट परालमा लागेको आगो झैँ फैलने गर्दछ । रेडियोमा लेडाको बोली सुनेर लेडी र लेडीको बोली सुनेर लेडा मख्ख पर्दै छक्क परेबाट यो रोगका जिवाणुको शरीरमा प्रवेश गरेको स्पष्ट हुन्छ । टेलिभिजनमा लेडाले लेडी र लेडीले लेडालाई देख्दा बेस्सरी कराउनु र होससम्म हराउनुबाट यो रोगले भोक तिर्खा मास्ने गरी जकडेको प्रष्ट हुन्छ । रङ नम्बर होस् वा राइट नम्बर होस्, मिसकल होस् वा सरकल होस्, सर्ट म्यासेज हुन् वा लङ म्यासेज हुन् यी सवैबाट यो रोग उल्का झरेजति छिटो सर्ने गर्दछ । इन्टरनेटमा बाङ्गा मान्छेका नाङ्गा फोटा, भिडियो र अडियो सुनेपछि यो रोगका जिवाणु रोगीको रगतसँगै सञ्चार हुन्छन् र एकैचोटी तन मन र दिमाखमा डेरा जमाउँछन् । रसरङ्ग प्रेमको डायरी आगो जस्ता थुप्रै पत्रपत्रिका र उपन्यासहरूबाट यो रोग मरुभूमिमा बालुवा झैँ फैलने गर्दछ । बोलचित्रमा देखाइने म्वाई खाएका दृश्यबाट र पिँडुला तिघ्रा र अन्य मैले यहाँ लेख्न नमिल्ने शरीरका मांसपिण्डहरू हेरेर र देखेर हेर्ने र देख्नेलाई यो रोगले ढुङ्गालाई पिपलले बेरे जस्तै बेरिहाल्छ । फलस्वरुप रोगीका शरीरमा कहिल्यै नदेखिने माथि उल्लेखित लक्षण देखा पर्छन् । आदि इत्यादिबाट यो रोग सर्ने गर्दछ ।

उपचार :
बेलैमा आफ्ना नानीहरूलाई माथि उल्लेखित सर्ने तरिकाहरूबाट जोगाउन सक्नु नै असलीमा लभफ्ल्युको निधान हो । तर यो रोग लागी सकेपछि उपचार गर्छु भनेर नसोचे हुन्छ । लाग्न नदिनु धेरै उत्तम भए पनि लागी सकेपछि रोकथाम गर्न समेत नसकिने भएकाले नै यो रोगलाई संसारकै महामारीका रुपमा हेरिन्छ । तेसो त फेब्रुवरी १४ तारिकमा मनाइने ‘भालेटायम डे’ ले यो रोगलाई विश्वव्यापी बनाउन अहम् भूमिका खेलेकाले पनि उपचार असम्भव देखिएको हो ।

निष्कर्ष :
यो रोगले सताएकालाई निको पार्नु भो भने तपाइँ संसारकै नामी÷लमी ठोक्टर हुनुहुनेछ । यस विषयमा पिएचडी प्राप्त गर्ने ठोक्टरको सङ्ख्या न्यून रहेकाले ठोक्टर बन्न चाहने विद्यार्थीलाई यो विषयलाई लिएर पढ्न अनुरोध गर्छु र यो विषयमा पढेका ठोक्टरको रोजगारीको वारेण्टी ग्यारेण्टी मैले नै गरेको यसै लेख मार्फत जानकारी गराउँदै इच्छुकलाई तलको इमेल ठेगानामा सम्पर्क गर्न हार्दिक अनुरोध गर्छु ।
जय होस् !

दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x