सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खित्कै खित्का– ७

Nepal Telecom ad

१. एजेन्डा वा अन्डा !
भूकम्पपछिको पुनर्निर्माण गर्नु छ, कालोबजार हटाउनु छ, तस्करी बन्द गर्नु छ, विकास गर्नु छ । भ्रष्टाचार हटाउनु छ, सुशासन ल्याउनु छ । काम नगर्नेलाई कारबाही गर्नु छ, काम गर्नेलाई पुरस्कृत गर्नु छ । भारत र युरोपियन युनियनसँग पौँठेजोरी खेल्नु छ । काम अनेक छ, समस्या नै समस्या छ, समाधान गर्नु छ ।

अचेल कामलाई ‘एजेन्डा’ भनिन्छ । एजेन्डा अंग्रेजी शब्द हो । यसको नेपालीकरण गरौँ र अन्डा भनौँ । अन्डामा कुखुरा ओथारो बस्छ, एजेन्डामा चाहिँ सरकार ओथारो बस्छ । त्यसैले, अन्डा र एजेन्डा उस्तै हो । ओथारो बसेपछि अन्डाबाट कुखुरा जन्मिन्छ । एजेन्डाबाट चाहिँ एजेन्डा नै जन्मिन्छ ! कुखुराहरू राम्रोसँग ओथारो बस्नाले देश अन्डामा आत्मनिर्भर छ । हाम्रो केपी ओली सरकार पनि एजेन्डामाथि निरन्तर ओथारो बसिरहेछ । ओथारो बसेर सरकारले देशलाई एजेन्डामा आत्मनिर्भर बनाइरहेछ । मानियो, सरकारको ओथारो गजब छ । तर, एउटा कुरा के भने नि, सरकारले ओथारो बसेर समाधानचाहिँ जन्माउन किन नसकेको होला ?

२. भूकम्प पेपर्स
पनामा पेपर्समा नाम नआउँदा नेपाली नेताहरूको अपमान भयो रे ! हामी पनि ‘भूकम्प पेपर्स’ निकालेर नेता तथा दिग्गज महानुभावहरूको उच्च कदर गरौँ । त्यसमा कसको नाम राख्ने भनेर पछि विवाद गर्नुभन्दा अहिले नै मापदण्ड बनाउन छलफल थालौँ । छात्रवृत्तिजस्तै भूकम्पवृत्ति पाउनेहरूको नाम पेपरमा राख्नुपर्नेमा विवाद छैन तर भूकम्पवृत्ति क–कसले पाएको र खाएको मान्ने ? त्यसका लागि यस्तो मापदण्ड बनाए कस्तो होला ?
– चार आनाको राहत बाँड्न १२ आना खर्च गर्नेहरू र त्यसो गर्न अनुमति दिनेहरू ।
– राहत दाता विदेशी संस्थाको गोष्ठी र बैठक भत्ता खाने र तिनको सिफारिसमा विदेश घुम्नेहरू ।
– राहतको बहानामा भूकम्प पर्यटनमा आएका विदेशीलाई सहयोग पुर्याउनेहरू ।
– भूकम्पपीडितका नाममा नातागोतालाई विदेश भ्रमणको मेलोमेसो मिलाउनेहरू ।
– सहरमा घर बनाएर बस्ने अनि गाउँको थोत्रो घर भत्केको उपलक्ष्यमा राहत थाप्नकै लागि गाउँ छिर्नेहरू ।
– चाउचाउ बाँडेर चामल बाँडेको भन्दै कर छुट लिनेहरू ।
– सर्वदलीय सहमति गरेर राहत कुम्ल्याउनेहरू ।
– चामल, त्रिपाल, कम्बल खानेहरू ।
– भूकम्पपीडितलाई राहत दिन ठूलठूला काम गर्दिन्छु भनेर डिङ हाँकेर प्रचार पाउने तर झारा टार्ने उद्योगी व्यापारीहरू ।

यस्ता मापदण्ड अरू के के हुन सक्छन् ? चाँडो छलफल गरौँ, योग्यता पुगेर पनि पनामा पेपर्समा नाम सामेल नगरिएका पीडित नेपाली महानुभावको पीडामा मल्हम लगाऔँ ।

३. अनुशासनको चमत्कार
सांसदहरू अनुशासनमा बसेनन् ? बसेनन् भने मन्त्री बनाइदिनुपर्छ । मन्त्री बनेपछि पनि अनुशासनमा बसेनन् भने मन्त्रीबाट खुस्काइ दिनुपर्छ । सामान्यतया मन्त्रीले तोडफोड गर्ने र हात हाल्ने काम गर्दैनन्, गरे भने पनि के गर्न सकिन्छ र ? ठूलाबडा हुन्, जे पनि गर्न पाउँछन् । सबै सांसदलाई मन्त्री बनाउन सकिँदैन, सबै अनुशासनमा पनि बस्दैनन् ।

त्यसैले, संसद् नियमावलीमा अनुशासनको कडा व्यवस्था राख्न लागेका रै’छन् । घोक्रेठ्याक लगाएर बैठकबाट निकाल्नेसम्मको कारबाहीको व्यवस्था हुँदै रै’छ । नियमावलीमा नानाभाँती व्यवस्था राख्दैमा अनुशासन हुँदैन । यसका लागि त ‘आइडिया’ लगाउनुपर्छ । नियमावलीमा सिर्फ एक वाक्य लेखियो भने हाम्रा सांसद विश्वमा सबैभन्दा अनुशासित ठहरिन सक्छन् । बैठकमा अभद्र व्यवहार गरेमा यति वर्षसम्म मन्त्री बन्न नपाउने लेखिदिऊँ, बाँकी केही लेख्न पर्दैन । यति गर्दा पनि अनुशासन हुँदैन जस्तो लाग्यो ? अभद्र गर्नेले विदेश भ्रमण गर्न पाउँदैन भन्ने पनि थपौँ । यति दुई वाक्यले सांसदमाथि पूरै शासन गरेर अनुशासन हुनेछ । नियमावलीमा अरू जे लेखे पनि केही हुँदैन, यी दुई वाक्य लेखौँ, चमत्कार हुन्छ ।

४. २०७३ मा ओली ग्रह
ग्रहदशा हेर्दा संवत् २०७३ मिश्रित दृष्टिगोचर हुन्छ । यो वर्ष ओली ग्रह अस्ताएर उत्तर या दक्षिण ग्रहमध्ये एउटा उदाउनेछ । जुन ग्रह उदाउँछ, त्यो ग्रहको दृष्टि पर्नेहरूलाई फलिफाप भएर सत्तालाभ हुने योग छ । त्यसै गरी नाकाबन्दी ग्रहले यो वर्ष पनि केही प्रभाव पार्ने दृष्टिगोचर हुन्छ । नाकाबन्दी ग्रहको प्रतापले अघिल्लो वर्ष उदाएको तस्करी र कालोबजार उपग्रहको तेज यस वर्ष केही घटे पनि यसले स्थायी जरा गाड्ने लक्षण देखिन्छ । यस वर्ष सत्ताग्रहको स्थान उच्च भएकाले ६ सय १ नक्षत्रको मानभाउ ह्वात्तै बढ्ने देखिन्छ । सत्ताग्रहको प्रतापले पेट्रोलियम र ग्यासको कारोबार खुब फस्टाउनेछ र दिउँसोभन्दा रातीको कारोबारले धेरै लाभ दिनेछ । भूकम्प र परकम्प बारम्बार आउने योग परेको हुनाले भूकम्प राहत पेसामा लाग्नेहरूलाई यस वर्ष पनि शुभ रहेको छ ।

यस वर्ष देशमा ग्रहभन्दा ग्रन्थले धेरै प्रभाव देखाउने दृष्टिगोचर हुन्छ । संविधान ग्रन्थ जुन घरमा बसेको छ, त्यसको विपरीत घरमा वैदेशिक ग्रहहरू बसेकाले संविधानमा कैयन् प्रहार आउन सक्छन् । सत्तामा तालमेल नमिले वैदेशिक ग्रहहरूले देश तथा संविधानलाई अझ ग्रस्त बनाउने योगको विकास हुँदै वियोग हुने खतरा पनि दृष्टिगोचर हुन्छ ।

सर्वसाधारणका लागि यो वर्ष अत्यन्तै शुभ रहेको छ । जीवन निर्वाह गर्ने सामग्रीहरूको अभाव भए पनि त्यसको सहजै पूर्ति हुनेछ । किनभने, ओली ग्रह अस्त भए पनि बोली ग्रह अस्त नहुने भएकाले भाषणमार्फत जनताले सबैथोक प्राप्त गर्नेछन् र केही अभाव हुने छैन ।

नेपाल, वैशाख ३, २०७३

Fitkauli Publication Books comming soon
Nepal Telecom ad