साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खित्कै खित्का– ७

Nepal Telecom ad

१. एजेन्डा वा अन्डा !
भूकम्पपछिको पुनर्निर्माण गर्नु छ, कालोबजार हटाउनु छ, तस्करी बन्द गर्नु छ, विकास गर्नु छ । भ्रष्टाचार हटाउनु छ, सुशासन ल्याउनु छ । काम नगर्नेलाई कारबाही गर्नु छ, काम गर्नेलाई पुरस्कृत गर्नु छ । भारत र युरोपियन युनियनसँग पौँठेजोरी खेल्नु छ । काम अनेक छ, समस्या नै समस्या छ, समाधान गर्नु छ ।

अचेल कामलाई ‘एजेन्डा’ भनिन्छ । एजेन्डा अंग्रेजी शब्द हो । यसको नेपालीकरण गरौँ र अन्डा भनौँ । अन्डामा कुखुरा ओथारो बस्छ, एजेन्डामा चाहिँ सरकार ओथारो बस्छ । त्यसैले, अन्डा र एजेन्डा उस्तै हो । ओथारो बसेपछि अन्डाबाट कुखुरा जन्मिन्छ । एजेन्डाबाट चाहिँ एजेन्डा नै जन्मिन्छ ! कुखुराहरू राम्रोसँग ओथारो बस्नाले देश अन्डामा आत्मनिर्भर छ । हाम्रो केपी ओली सरकार पनि एजेन्डामाथि निरन्तर ओथारो बसिरहेछ । ओथारो बसेर सरकारले देशलाई एजेन्डामा आत्मनिर्भर बनाइरहेछ । मानियो, सरकारको ओथारो गजब छ । तर, एउटा कुरा के भने नि, सरकारले ओथारो बसेर समाधानचाहिँ जन्माउन किन नसकेको होला ?

२. भूकम्प पेपर्स
पनामा पेपर्समा नाम नआउँदा नेपाली नेताहरूको अपमान भयो रे ! हामी पनि ‘भूकम्प पेपर्स’ निकालेर नेता तथा दिग्गज महानुभावहरूको उच्च कदर गरौँ । त्यसमा कसको नाम राख्ने भनेर पछि विवाद गर्नुभन्दा अहिले नै मापदण्ड बनाउन छलफल थालौँ । छात्रवृत्तिजस्तै भूकम्पवृत्ति पाउनेहरूको नाम पेपरमा राख्नुपर्नेमा विवाद छैन तर भूकम्पवृत्ति क–कसले पाएको र खाएको मान्ने ? त्यसका लागि यस्तो मापदण्ड बनाए कस्तो होला ?
– चार आनाको राहत बाँड्न १२ आना खर्च गर्नेहरू र त्यसो गर्न अनुमति दिनेहरू ।
– राहत दाता विदेशी संस्थाको गोष्ठी र बैठक भत्ता खाने र तिनको सिफारिसमा विदेश घुम्नेहरू ।
– राहतको बहानामा भूकम्प पर्यटनमा आएका विदेशीलाई सहयोग पुर्याउनेहरू ।
– भूकम्पपीडितका नाममा नातागोतालाई विदेश भ्रमणको मेलोमेसो मिलाउनेहरू ।
– सहरमा घर बनाएर बस्ने अनि गाउँको थोत्रो घर भत्केको उपलक्ष्यमा राहत थाप्नकै लागि गाउँ छिर्नेहरू ।
– चाउचाउ बाँडेर चामल बाँडेको भन्दै कर छुट लिनेहरू ।
– सर्वदलीय सहमति गरेर राहत कुम्ल्याउनेहरू ।
– चामल, त्रिपाल, कम्बल खानेहरू ।
– भूकम्पपीडितलाई राहत दिन ठूलठूला काम गर्दिन्छु भनेर डिङ हाँकेर प्रचार पाउने तर झारा टार्ने उद्योगी व्यापारीहरू ।

यस्ता मापदण्ड अरू के के हुन सक्छन् ? चाँडो छलफल गरौँ, योग्यता पुगेर पनि पनामा पेपर्समा नाम सामेल नगरिएका पीडित नेपाली महानुभावको पीडामा मल्हम लगाऔँ ।

३. अनुशासनको चमत्कार
सांसदहरू अनुशासनमा बसेनन् ? बसेनन् भने मन्त्री बनाइदिनुपर्छ । मन्त्री बनेपछि पनि अनुशासनमा बसेनन् भने मन्त्रीबाट खुस्काइ दिनुपर्छ । सामान्यतया मन्त्रीले तोडफोड गर्ने र हात हाल्ने काम गर्दैनन्, गरे भने पनि के गर्न सकिन्छ र ? ठूलाबडा हुन्, जे पनि गर्न पाउँछन् । सबै सांसदलाई मन्त्री बनाउन सकिँदैन, सबै अनुशासनमा पनि बस्दैनन् ।

त्यसैले, संसद् नियमावलीमा अनुशासनको कडा व्यवस्था राख्न लागेका रै’छन् । घोक्रेठ्याक लगाएर बैठकबाट निकाल्नेसम्मको कारबाहीको व्यवस्था हुँदै रै’छ । नियमावलीमा नानाभाँती व्यवस्था राख्दैमा अनुशासन हुँदैन । यसका लागि त ‘आइडिया’ लगाउनुपर्छ । नियमावलीमा सिर्फ एक वाक्य लेखियो भने हाम्रा सांसद विश्वमा सबैभन्दा अनुशासित ठहरिन सक्छन् । बैठकमा अभद्र व्यवहार गरेमा यति वर्षसम्म मन्त्री बन्न नपाउने लेखिदिऊँ, बाँकी केही लेख्न पर्दैन । यति गर्दा पनि अनुशासन हुँदैन जस्तो लाग्यो ? अभद्र गर्नेले विदेश भ्रमण गर्न पाउँदैन भन्ने पनि थपौँ । यति दुई वाक्यले सांसदमाथि पूरै शासन गरेर अनुशासन हुनेछ । नियमावलीमा अरू जे लेखे पनि केही हुँदैन, यी दुई वाक्य लेखौँ, चमत्कार हुन्छ ।

४. २०७३ मा ओली ग्रह
ग्रहदशा हेर्दा संवत् २०७३ मिश्रित दृष्टिगोचर हुन्छ । यो वर्ष ओली ग्रह अस्ताएर उत्तर या दक्षिण ग्रहमध्ये एउटा उदाउनेछ । जुन ग्रह उदाउँछ, त्यो ग्रहको दृष्टि पर्नेहरूलाई फलिफाप भएर सत्तालाभ हुने योग छ । त्यसै गरी नाकाबन्दी ग्रहले यो वर्ष पनि केही प्रभाव पार्ने दृष्टिगोचर हुन्छ । नाकाबन्दी ग्रहको प्रतापले अघिल्लो वर्ष उदाएको तस्करी र कालोबजार उपग्रहको तेज यस वर्ष केही घटे पनि यसले स्थायी जरा गाड्ने लक्षण देखिन्छ । यस वर्ष सत्ताग्रहको स्थान उच्च भएकाले ६ सय १ नक्षत्रको मानभाउ ह्वात्तै बढ्ने देखिन्छ । सत्ताग्रहको प्रतापले पेट्रोलियम र ग्यासको कारोबार खुब फस्टाउनेछ र दिउँसोभन्दा रातीको कारोबारले धेरै लाभ दिनेछ । भूकम्प र परकम्प बारम्बार आउने योग परेको हुनाले भूकम्प राहत पेसामा लाग्नेहरूलाई यस वर्ष पनि शुभ रहेको छ ।

यस वर्ष देशमा ग्रहभन्दा ग्रन्थले धेरै प्रभाव देखाउने दृष्टिगोचर हुन्छ । संविधान ग्रन्थ जुन घरमा बसेको छ, त्यसको विपरीत घरमा वैदेशिक ग्रहहरू बसेकाले संविधानमा कैयन् प्रहार आउन सक्छन् । सत्तामा तालमेल नमिले वैदेशिक ग्रहहरूले देश तथा संविधानलाई अझ ग्रस्त बनाउने योगको विकास हुँदै वियोग हुने खतरा पनि दृष्टिगोचर हुन्छ ।

सर्वसाधारणका लागि यो वर्ष अत्यन्तै शुभ रहेको छ । जीवन निर्वाह गर्ने सामग्रीहरूको अभाव भए पनि त्यसको सहजै पूर्ति हुनेछ । किनभने, ओली ग्रह अस्त भए पनि बोली ग्रह अस्त नहुने भएकाले भाषणमार्फत जनताले सबैथोक प्राप्त गर्नेछन् र केही अभाव हुने छैन ।

नेपाल, वैशाख ३, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x