साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘गाउँमा कविता’ कार्यक्रम

Nepal Telecom ad

मोरङ, २०७३ बैशाख ११ । झोराहाट नाट्यकेन्द्र झोराहाट, मोरङको आयोजनामा केन्द्रकै भवनमा चारजना सशक्त नारी कविहरूको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

‘गाउँमा कविता’ नाम दिएको सो कविता वाचन कार्यक्रममा न सभापति, न प्रमुख अतिथि, न विशेष अतिथि, न अतिथि आसन ग्रहणको पट्यार लाग्दो लामो फेहरिस्त । छोटो, छरितो, चुस्तदुरुस्त रमाईलो कार्यक्रम । कविका कवितामा लठ्ठ थिए श्रोताहरू । चर्चित कविहरू ज्योति जङ्गल, सीमा आभास, शुभलक्ष्मी लम्साल र खगिन्द्रा खुसीले दुई चरणमा गरेर ४÷४ वटा कविता वाचन गरेका थिए ।

पहिलो कविता वाचकका रुपमा देखा परिन् ज्योति जङ्गल । उनले पहिलो चरणमा ‘पृथ्वी ए पृथ्वी’ र ‘साँझमा नआउनु मेरो घर’ शीर्षकका दुइवटा कविता वाचन गरिन् । त्यसपछि देखा परिन् अर्की कवि सीमा आभास । उनले ‘शक्ति स्तुति’ र ‘योगमायाको काँचो वायु’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

तेस्रो कविता वाचकका रुपमा शुभलक्ष्मी लम्साल देखा परिन् पोडियममा । उनले ‘नचाहेको युद्ध’ ‘नलेख कविता’ शीर्षकका कविता वाचन गरेर श्रोताको वाह ! वाही बटुलिन् । पहिलो चरणको अन्तिम कविता वाचकको रुपमा झापाली छन्दवादी स्रष्टा खगिन्द्रा खुसी आइन् पोडियममा । उनले ‘एउटा शीर्षक विनाको कविता’ र अर्को ‘सपना’ शीर्षकको कविता सस्वर वाचन गरिन् ।

दोश्रो चरणमा ज्योति जङ्गलले ‘अनुरोध’ र ‘मेरा प्रिय’, सीमा आभासले ‘फेरि पनि मातेको छु’ र ‘बयान’, शुभलक्ष्मी लम्सालले ‘चक्रब्यूह माथि मेरो विजय’ र ‘जाँदाजाँदै’ तथा खगिन्द्रा खुसीले ‘माटो प्रेम’ र ‘चमेली बैंशको गन्ध’ शीर्षकका कविताहरू वाचन गरेका थिए । वाचन गरिएका कविताहरूको टिप्पणी चर्चित झापाली कवि मुनाराज शेर्माले गरेका थिए । गण्डकी पुत्रले सञ्चालन गरेको कार्यक्रममा नाट्य केन्द्रका प्रमुख भरत गुरागाईंले स्वागत गरेका थिए । प्रा.डा. भीम खतिवडाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्राज्ञ उपेन्द्र पागलले आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।

नाट्य केन्द्रले पहिलो चोटि चारजना कविहरूलाई एकैठाउँमा राखेर कविता वाचनको कार्यक्रम सम्पन्न गरेको हो । आगामी दिनहरूमा यो कार्यक्रमलाई निरन्तरता दिने भन्दै आगामी कार्यक्रममा कविता वाचन गर्ने कविहरूको नाम समेत कार्यक्रम सञ्चालकले घोषणा गरेका थिए । घोषित नामहरूमा बद्री भिखारी, कविराज पोखरेल, रेखा सुवेदी र सुदीप पाख्रिन रहेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x