साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविरल जन साहित्य यात्रामा देवी नेपाल

Nepal Telecom ad

काठमाडौं, वैशाख १०, २०७३ । अविरल जन साहित्य यात्राको पच्चिसौँ शृङ्खला कवि देवी नेपालका दर्जन कविता प्रस्तुतिसँगै सम्पन्न भयो ।
जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधान मन्त्री माधवकुमार नेपाल उपस्थित हुनु हुन्थ्यो भने विशेष अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनु हुन्थ्यो ।

त्यसै गरी अतिथिहरूमा डा.विजय सुब्बा, डा.फणीन्द्र निरौला, डा.लेखप्रसाद निरौला, वरिष्ठ कविहरू वासुदेव अधिकारी, कणाद महर्षि, डा.रामप्रसाद ज्ञवाली, डा.विन्दु शर्मा, प्रा.जगत् उपाध्याय प्रेक्षित्, समालोचक हेमनाथ पौडेल लगायत देवी नेपालका बुबा र आमा अनि उहाँकी जीवन सङ्गिनी टीका नेपाल हुनुहुन्थ्यो ।

प्रमुख अतिथि माधवकुमार नेपालले कवि देवी नेपाललाई माला लगाइ दिनु भयो र सम्मान पत्र अर्पण गर्नु भयो । विशिष्ट अतिथि कुलपति गङ्गाप्रसाद उप्रेतीले टीका लगाइ दिनु भएको थियो । समारोहका नायक डा.देवी नेपालको व्यक्तित्वमाथि प्रकाश पार्दै समालोचक डा.रामप्रसाद ज्ञवालीले सकारात्मक सोच राख्ने, व्यक्तित्व निर्माणमा सचेतताका साथ सक्रिय रहने सदैव शिरमा राष्ट्रवादी भावना बोकेर हिँड्ने स्रष्टा नपालमा कहिल्यै अहङ्कार नआओस् भन्दै शुभ कामना दिनु भयो ।

डा.देवी नेपालले पृष्ठभूमि सहित ‘प्रकृति र देश’, ‘स्वप्नदोष’, ‘एक चिहान’, ‘युवा’, ‘अनुत्तरित प्रश्नहरू’, ‘देश हार्दै छ आज’, ‘गजल’, ‘परिवर्तन’ र ‘मित्रलाई सन्देश’ शीर्षकका कविता वाचन गर्नु भयो । जन गायक रामकृष्ण दुवालले ‘गजल’, यशोदा अधिकारीले मन्दाक्रान्ता छन्दको ‘चेतना फुल्नु पर्छ’ शीर्षकको, सुदेश सत्यालले ‘प्रश्न नयाँ नेपालको’ प्रेक्षा लम्सालले ‘खै एकताको बल’ कविता वाचन गर्दै नेपाललाई साथ दिएका थिए ।

सामालेचक डा.विन्दु शर्माले वाचित कवितामाथि सङ्छिप्त टिप्पणी गर्नुहुँदै वाचित कविता सरल भएकाले थप व्याख्याको आवश्यकता नरहेको बताउनु भयो । प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आकृतिमा सुन्दर र ओजस्वी कविता सुन्न पाइएको, प्रगतिवादी खेमाका कविलाई स्थान दिएर स्रष्टाको क्षमता उजागर गर्ने काम अविरल जन साहित्य यात्रामा भइ रहेको र प्रखर छन्दकविको देवी नेपालको सिर्जना यात्रा अझ शिखरमा पुगोस् भन्ने कामना गर्नु भयो ।

विशिष्ट अतिथि डा.मोदनाथ प्रश्रितले प्रतिभाशाली, ओजस्वी, देशभक्त कविका कविता सुन्न पाइएको, कविले युगले मागेको कुरा दिनु नै प्रगतिशीलता हो भन्ने यथार्थलाई राम्ररी आत्मसात गर्न सकेको बताउनु भयो । प्रमुख अतिथि माधवकुमार नेपालले यतिखेर नेपाली समाजमा दूरत्वको र जातीयताको दुर्भावना हुर्किएको बताउँदै यस्तो कुप्रवृत्तिको अन्त साहित्यले मात्र गर्न सक्छ भन्नु भयो । महासंघका अध्यक्ष खगेन्द्र राईले प्रखर कवि देवी नेपालका असाध्यै मन छुने कविता सुन्न पाएकाले सुखद अनुभूति भएको बताउनु भयो ।

आगामी जेठको २६ औँ शृङ्खलामा नेपालगन्जमा रहेर सिर्जनारत स्रष्टा हरि तिमिल्सिनालाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गरिएको थियो ।
–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x