सुलसुलेचार स्रष्टालाई पारिजात स्मृति सम्मान
काठमाडौं । विभिन्न क्षेत्रका चार स्रष्टालाई पारिजात स्मृति सम्मान दिइएको छ । २०७२ का लागि पारिजात सिर्जन सम्मान साहित्यकार मोहन दुवाललाई, पारिजात बालसाहित्य सम्मान बाल साहित्यकार विनयकुमार कसजुलाई प्रदान गरिएको हो । यस्तै पारिजात संघर्षशील नारी सम्मान मसिनीमाया स्याङ्बा र पारिजात कला सम्मान कार्टुनिस्ट रविन सायमिलाई प्रदान गरियो ।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको थियो ।
१९९४ सालमा दार्जिलिङको चिया कमानमा जन्मिएकी पारिजातको वास्तविक नाम विष्णु कुमारी वाइबा हो । नेपाली साहित्यका सुप्रसिद्ध नामको रुपमा स्थापित उनी बहुमुखी प्रतिभा सम्पन्न शिखर नारी हस्ताक्षर समेत हुन् ।
सुरुमा विसंगतिवादी र पछि प्रगतिवादी कला चेतनाद्वारा नेपाली साहित्यलाई अतुलनीय योगदान दिने पारिजातको २०५० सालमा निधन भएको थियो । उनैको नामबाट स्थापित पारिजात स्मृति केन्द्रले प्रत्येक वर्ष विशिष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै आएको छ ।
हाल उक्त संस्थाकी अध्यक्षमा कवि लक्ष्मी माली र सदस्य सचिवमा कलाकार बदन शर्मा रहेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































