सुलसुलेसाहित्य परिषदको पुरस्कारै पुरस्कार
दाङ । राप्ती साहित्य परिषद्ले यस वर्ष १७ जना स्रष्टाहरूलाई पुरस्कृत तथा ५ जनालाई सम्मान गर्ने भएको छ । परिषद्को प्रतिभा छनौट समितिको बैठकले सम्मान तथा पुरस्कार प्रदान गर्नका लागि स्रष्टाहरू छनौट गरेको हो । प्रतिभा छनौट समितिका अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार साहित्यकार नित्यानन्द शर्मालाई दिइने भएको छ भने राप्ती सिर्जना पुरस्कार सल्यानका स्रष्टा गणेशमान सिंहको ‘यो देश र म’ निबन्ध कृतिलाई दिने निर्णय गरिएको छ । २०७१ सालमा प्रकाशित कृतिहरूमध्येबाट सिंहको निबन्ध कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
त्यसैगरी नन्दहरि साहित्य पुरस्कार दुर्गाप्रसाद अधिकारीलाई, विष्णुनुमा साहित्य पुरस्कार भवानी न्यौपाने ‘भावना’लाई, डोमादेवी साहित्य पुरस्कार शेरबहादुर चौधरीलाई, ऋषिलक्ष्मी साहित्य पुरस्कार नवीन अभिलाषीलाई, देवीचन्द्र साहित्य पुरस्कार रुकुमका मनलाल ओलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै, अपामुकुन्द प्रज्ञा पुरस्कार रोल्पाका खेमराज गाउँलेलाई, गोपालचन्द्र प्रज्ञा पुरस्कार प्यूठानका तिलक अधिकारीलाई, गोमा देवकोटा कला पुरस्कार जुग्री चौधरीलाई, हरिप्रसाद–मीना पाण्डेय कलासाहित्य पुरस्कार चामबहादुर विकलाई, खोपीलाल–हुकुमादेवी छन्द पुरस्कार मोहनकुमार दाहाललाई, पण्डित कपिलमणि–भक्तकुमारी शिवाकोटी स्रष्टा पुरस्कार प्यूठानका भेषमान गिरीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी पद्मप्रसाद–रुपसा प्रज्ञा पुरस्कार डा. भीमार्जुन आचार्य, तिलका–तुल्सीराम आचार्य स्मृति साहित्य पुरस्कार केशव सुवेदीलाई, चक्रपाणि–लक्ष्मी–लोकेश्वरी छन्द पुरस्कार जागेश्वर घिमिरेलाई र पद्माकुल हास्यव्यङ्ग्य पुरस्कार रोल्पाका चन्द्रज्योति सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । परिषद्ले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने ४ जना व्यक्ति तथा एउटा संस्थालाई सम्मान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार साहित्यिक क्षेत्रबाट भीमकान्त आचार्य र भावना अधिकारीलाई, पुरस्कार संस्थापकको तर्फबाट हरिप्रसाद पाण्डेयलाई, गीतसङ्गीतको क्षेत्रबाट मधुबाबु थापालाई र सञ्चार क्षेत्रबाट रेडियो मध्यपश्चिमलाई सम्मान गर्ने निर्णय गरिएको हो ।
परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिमा साहित्यकारहरू गिरिराज शर्मा, उत्तमकृष्ण मजगैंया, सुशील गौतम, डा. गोविन्द आचार्य, टीकाराम उदासी र शारदा शर्मा सदस्य रहेका थिए । उक्त पुरस्कार तथा सम्मान परिषद्को ४० औं वार्षिकोत्सवको अवसरमा यही बैशाख २४ गतेदेखि २६ गतेसम्म घोराहीमा हुने विशेष समारोहमा प्रदान गरिने परिषद्का अध्यक्ष खनालले जानकारी दिए । अध्यक्ष खनालले बैशाख २४ गतेदेखि शुरु हुने वार्षिकोत्सव कार्यक्रममा उपस्थितिका लागि परिषद्का आजीवन सदस्य, साहित्यकार, पत्रकार तथा साहित्यानुरागी सबैलाई अनुरोध गरेका छन् ।
Subscribe
Login
0 Comments
Oldest











































