फित्काैली डटकमचुल्ठे मुन्द्रे एक हौँ
समय र परिस्थितिलाई बुझेर अगाडि बढ्न सकेन भने बाघले ओरालोमा खेदेको मृगको हविगत भोग्नु पर्दोरहेछ । को भन्दा को कम भनेर बसिरहेको अवस्थामा अवसर पाउनासाथ अर्काको खुट्टा तान्ने देखि खाडलमा जाक्ने काम गर्न सम्म पछि नपर्दो रहेछ । अर्काको अस्तित्व नै संकटमा पारेर ठूलो काम गरेको भन्दौ घिरौला भन्दा पनि ठूलो नाक पारेर दुनियाको सामु ठाटबाटका साथ हिड्दो रहेछ । फुटाउ र राजनीति गरको सिद्धान्तलाई अवलम्वन गर्दो रहेछ । यी सबै कुरा बुझिसक्नु भएको छ कि छैन ? यदि बुझिसक्नु भएको भए चुल्ठे मुन्द्रेको अस्तित्वलाई जीवन्त राख्नको लागि एक हुनु आवश्यक हो कि होइन ?
मुलुकको प्रमुख पार्टी भनाउदाहरूले “छोरो पाउनु कहिले भोटो सिउनु अहिले” भने झै संविधानसभाको दोस्रो निर्वाचनको मितिको घोषणा गर्ने कहिले हो ठेगान छैन तैपनि निर्वाचनमा हाम्रो विजयलाई सुनिश्चित गरिनु पर्दछ भन्दै पहिचानसहितको संघीयता र संघीयतासहितको पहिचान भन्ने मन्त्र बनाई अगाडि सारेको छ । चुल्ठे मुन्द्रेलाई यस मुलुकका निर्भिकताकासाथ जीवन यापन गर्न दिएनन् । बाध्यतावश हाम्रो अस्तित्वलाई पलायन पार्ने कुटिल चाल रचे भने हामीले पनि केही त गर्नै पर्ने हुन्छ । त्यसैले समयमा नै सचेत बनौं । संविधानसभाको पहिलो पटकको निर्वाचनबाट विजयी सभाषद्हरूले तोकिएको निर्धारित समयमा संविधान त बनाएनन् । समय अपुग भयो भन्दै आप्mनो आयु आफै अरू दुई वर्ष थप्दा पनि कुनै लछारपाटो लगाएनन् । विगतको यस्तो परिस्थितिलाई थाती राखेर आगामी निर्वाचनबाट निर्वाचित सभाषद्हरू चाँही निश्चय पनि यथोचित समयमा नै संविधान बनाउनेछ भन्ने अपेक्षामा बसौं । अव बन्ने संविधानसभासंग हाम्रा अस्तित्वको लागि के कस्ता मागपत्रहरू पेश गर्ने भनेर पहिले चुल्ले समूह र मुन्द्रे समूहको एकताको मन्त्र अगाडि सारौं । इलाका भेला गरौं । जिल्ला अधिवेशन गरौं । देशभरिका प्रतिनिधिहरूद्वारा महाधिवेशन गरौं । केन्द्रमा बस्नेहरूको विवादमा खटपट भएमा पाँचसय , हजार वा आवश्यक अनुसारको केन्द्रीय सदस्यहरू चयन गरौं भरसक सबैलाई पद पुगोस् ।
केन्द्रीय सदस्यहरूको गहनगम रूपमा बैंठक बसी हामीलाई हेप्नुका कारणसहित भावी रणनीति र कार्यदिशा सहितको खाकाहरू तयार पारौं । पत्रकार सम्मेलन गरौं । पत्रकारहरूले पनि काम पाउनेछन् । नयाँ समूहका नयाँ नयाँ कार्यक्रमहरू नयाँ विचार आदिको समाचारले सञ्चारमाध्यमहरूले मुख्य समाचार बन्न पाओस् । गोरूका आँखा भन्दा पनि ठूला शीर्षकमा अग्र पृष्ठमा छापिने अवसर पाउन् । विद्युतीय सञ्चार माध्यमहरूमा पनि फ्लेस समाचार लगातार देखाउन पाउन् । चुल्ठेमुन्द्रेको पहिचानसहितको पृथक् राज्यको माग गरौं । जसमा निर्वाध रूपमा हामीहरू वस्न सकौं । चुल्ठे मुन्द्रेले मुलुकभर कसरी गर्विलो पहिचान बनाउन सकिन्छ ? अझ यसलाई विश्व सामु के कसरी विस्तार गर्न सकिन्न भनेर सोचौं । अन्तरराष्ट्रिय स्तरको सञ्जाल विस्तारमा लागौ ।
यस समूहमा सदस्य विस्तारमा नयाँ रणनीति अपनाऔं । यस समूहमा प्रवेश गर्नेहरूलाई केही आकर्षक पुरस्कारहरू प्रदान गर्ने व्यवस्था मिलाऔं । पुरस्कारको राशी जुटाउने समस्या भएको बेला बेलामा मुन्द्रा प्रदर्शन गर्नुहोस् । चल्ठो शक्ति देखाउनुहोस् । सब व्यवस्था मिलिहाल्छ नि । “भाग्यमानी अरूको परेर चेत्छ अभागी आफै परेर चेत्छ ” अरूले गरेको कार्यको सिको गरेर शून्यबाट सुरू गरेकाहरूले कति उन्नति गरे, प्रगति गरे उनीहरूको इतिहास हेरे त भैहाल्यो नि । उद्योगी, व्यापारी कर्मचारी शिक्षक सर्वसाधारण कसैलाई पनि छाडेनन् । उनीहरूलाई फकाएर, धम्क्याएर अनेकानेक बहानाबाजी बनाएर सकेसम्म धेरै चन्दा असुले. । ज्यान मार्ने धम्की दिएर , हामीसँगै हिड्नु पर्छ भन्दै हतियार जिम्मा लगाउन खोजेर, कोही कसैका पुराना मुद्धाको सम्झना गराएर पनि चन्दा लिन छोडेनन् । देश र जनताको रक्षाको लागि भन्दै सकेसम्म धुते भने यस्तो तौरतरिका अपनाए भने रातारात नै समूह मालामाल भैहाल्छ नि । यस संसारमा गाँठ भएपनि के पो पाइदैन र ?
त्यसलाई अपनाउन कठिन भयो भने अर्को पनि आइडिया छ । गाँठ भएकाहरूका सन्ततिलाई बाटाबाटै अपहरण गरेर लैजाने र फिरौती रकम माग्ने गर्नु पर्छ । स्कुल हिडेका, स्कुलबाट घर तर्फ फर्किदै गरेका साना साना नानीबाबुहरूलाई फकाई फुल्याई लैजाने र केही समयसम्म बन्धक बनाई राख्ने उसले क्षमता हेरेर फिरौती रकमको माग गर्ने । समयमा फिरौती रकम बुझाउन नल्याएमा केहीलाई सोझै स्वर्गमा पठाएर सकेसम्म आतङ्क फैलाउने । त्यसपछि त मालामाल हुनेछ । यदि यो मन्त्र पनि सफल हुने छेकछन्द देखिएन भने अर्को मन्त्र प्रयोग गर्नु पर्ने हुन्छ । रक्तचन्दनको व्यापार । खाद्यान्नको गोदाममा लुकाएर , खाद्यान्न ढुवानी गर्ने मालबाहकमा केही बोराहरू मात्र रक्तचन्दन राखेर बाकी सबै खाद्यान्न राखेर पनि यसको व्यापार गर्न सकिन्छ । यसबाट कुस्त गाँठ आर्जन हुनेछ । न धेरै परिश्रम गर्नु पर्ने छ । मात्र ट्रिक लगाए पुग्ने । भन्सारमा अप्ठेरो पर्ला जस्तो भयो भने त्यहाँ खटिएका सुरक्षाकर्मीसँग पनि बरू साँठगाठ गर्नुपर्ने हुन्छ ।
नयाँ किसिमको मन्त्र अरू पनि छन् । लागुपदार्थको ओसार पसार, महत्वपूर्ण कलाकृतिहरूको विदेशमा निकासा गरेमा पनि हुन्छ । तेत्तीस कोटी देव देवीको वासस्थान यस पुण्यभूमिमा मूर्ति गजुर आदिको खाँचो छैन । भटाभट यहाँबाट विदेशमा निर्यात् गरेमा यसबाट पनि विदेशी डलर हात पर्नेछ । अनि भएन त मालामाल ? त्यसैले पहिले मुन्द्रे चुल्ठे एक हौं भन्ने मुल मन्त्रलाई साकार पारौं । मुन्द्रे चुल्ठेको जय होस् ।
मन्थली– २, रामेछाप
Subscribe
Login
0 Comments
Oldest






































