सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

युवराज नयाँघरेको हाराबारा

Nepal Telecom ad

काठमाडौं, १ असार २०७३ । नियात्राकार तथा निबन्धकार युवराज नयाँघरेको हालै प्रकाशित नियात्रा सङ्ग्रह ‘हाराबारा’ को भाषाशास्त्री तथा निबन्धकार प्रा.डा. माधव पोखरेलले विमोचन गर्नु भयो । पोखरेलले आफ्नो मन्तव्यमा भन्नुभयो– ‘ठेट र झर्रो लेखन मार्फत् नेपाली हिमाली र पहाडी जीवनको सूक्ष्म बयान हाराबारामा छ । यो नियात्रा लेखनमा एउटा अर्थपूर्ण उपस्थिति कृतिको रुपमा देखा परेको छ ।’

समालोचक महेश पौड्यालले कृतिबारे मन्तव्य राख्दै भन्नुभयो– ‘हाराबारा नेपाली सुन्दर लेखकी नमूनाको रुपमा आएको छ । हिमाल, पहाड र प्रकृति यो कृति सबैका लागि उपयोगी हुन सक्छ । चमात्कारिक भाषा र कलात्मक शिल्प यो कृतिमा भेट्न सकिन्छ ।’

साहित्यकार राधेश्याम लेकालीले शुभकामना मन्तव्यमा ‘नयाँघरे नेपाली निबन्ध र नियात्राको क्षेत्रमा अनवरत साधक हुन् । उनका कृतिले नेपाल िभाषाको विकास विस्तारमा अर्थपूर्ण महत्व राख्दछ ।’ भन्नु भयो ।

कृतिका प्रकाशक सुरेश श्रेष्ठले नेपाली यात्रा साहित्य धेरै पाठकहरूले मन पराइ रहेको धारणा राख्नु भयो । वहाँले भन्नुभयो– ‘नयाँघरेका यस अघि नै रत्न पुस्तकबाट आएका अन्य दुई कृति पनि पाठकहरूले निकै नै मन पराएका थिए । वहाँको लेखनशैली र विषय वस्तुलाई पाठकहरूले अत्याधिक मन पराउने गरेका छन् ।’

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा भन्नुभयो– ‘नेपाली समाज भित्र रहेको सुन्दरतम् भावना र चित्रलाई हाराबारामा उतारेको छु । संस्कृति र प्रकृतिलाई पाठकको मनमा सरक्क राख्न सक्ने शिल्पमा यो कृतिको सृजना गरेको छु ।’ वहाँले भन्नुभयो– ‘मेरो यात्रा लेखनले नेपालको हिमाली र पहाडी लोक सभ्यता र संस्कृतिको समग्र चित्रण गरेको छ । अधिकांश यात्राहरू मैले पैदलयात्राको क्रममा भोगेका र अनुभव गरेका भावनालाई यहाँ लिपिवद्ध गरेको छु ।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित प्रस्तुत कृतिमा २९ वटा नियात्राहरू रहेका छन् । मदन पुरस्कार विजेता नयाँघरेको यो १५ औं कृति हो । उनी नेपाली साहित्यमा यात्रा र निबन्धका क्षेत्रमा पाठकहरूद्वारा अत्याधिक रुचाइएका यात्राकार तथा निबन्धकार हुन् ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad