साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहाडमा मधेसी

Nepal Telecom ad

दृश्य– १
‘ए, खाली सिसी, पुराना कागज, टिना, फलाम, कापी, किताब साट्ने !’ वृद्ध मधेसी टोलमा आउँछन् । एउटा युवा चिच्याउँछ, ‘ओए, पुराना कागज कसरी लिन्छस् ?’ साइकल अड्याउँदै वृद्ध भन्छन्, ‘किलोको ६ रुपियाँ हजुर !’ टाउकामा प्याट्ट हान्दै युवा झर्किन्छ, ‘अस्ति मैले १० रुपैयाँ किलो बेचेको, अहिले ढाँट्छस् !’ फेटा मिलाउँदै वृद्ध बोल्छन्, ‘कहाँ ढाँट्ने हजुर, अहिले त भाउ नै छैन ।’ साइकलमा लात्ताले हिर्काउँदै युवा भन्छ, ‘ठग्छस्, मास्साला, जा !’

दृश्य– २
‘ओ, भैया इनार खनेको कति ?’ एउटा जंकी युवा सोध्छ । ‘भैया हैन, दादा भन्नोस्, तपाईंजत्रो त पाँच जना पोतापोती छ मेरो ।’ इनार निर्माता वृद्ध जवाफ दिन्छन् । ‘ए, अब मैले दादा भन्नुर्पयो तँलाई ?’ युवा फिस्स हाँस्छ । इनारवाला भन्छन्, ‘आफूभन्दा ठूलो मान्छेलाई सम्मान गर्नुपर्छ भनेर सिकाएनन् तपाईंका बाबा–आमाले ? तँलाई हैन, तपाईंलाई भन्नोस् ।’ युवा अकमकिन्छ, ‘यो मधिसेलाई काम गर्नु छैन जस्तो छ ।’ ‘पहाडे न मधिसे, काम त सबैलाई चाहिन्छ । तर काम त्यहाँ मात्र गरिन्छ जहाँ काम र कामदारको इज्जत हुन्छ ।’ वृद्ध व्यंग्य कस्छन् । ‘ए, अब तँ धोतीलाई इज्जत गर्नुपर्यो ?’ युवा फिस्स हाँस्छ । ‘धोतीलाई होइन, मान्छेलाई इज्जत दिन सिक्नोस् ।’ वृद्धको जवाफले युवा तिलमिलाउँछ, ‘भन्नोस्, न त कति हो ?’ वृद्ध भन्छन्, ‘आफूभन्दा ठूलो मान्छेलाई यसरी सम्मान गरेपछि तपाईंलाई जति मन लाग्छ त्यति दिनोस् ।’

दृश्य– ३
‘आलु, बन्दा, काउली, भन्टा लिने हजुर ?’ तराईमूलका एक नेपाली चिच्याउँछन् । ‘आलु कसरी हो दाजु ?’ पहाडी मूलका घरबेटी सोध्छन् । ‘धार्नीको ९० हो, हजुरका लागि ८५ लगाइदिन्छु ।’ तरकारीवालाको प्रस्तावमा घरबेटी सहज प्रतिक्रिया दिन्छन्, ‘८५ किन, ९० नै लिनोस्, माल राम्रो दिनोस् ।’ प्लास्टिकको झोला थमाउँदै व्यापारी भन्छन्, ‘हजुर आफैं छान्नोस्, कोही दिक्कत छैन ।’

उपरोक्त दृश्यहरू पहाड–मधेस सबन्धका तीन आयाम हुन् । पहिलो दृश्यमा हिजोको अवस्था देखाइएको छ भने दोस्रोमा आजको अवस्थालाई प्रस्तुत गरिएको छ । तेस्रो दृश्यले भोलिको त्यो दिनलाई प्रतिविम्बित गरेको छ, जहाँ पहाडी र मधेसीबीच भ्रातृत्वपूर्ण सम्बन्ध हुनेछ । आउनोस्, यसको गजुरियल शैलीमा रियल विश्लेषण गरौं ।

जसरी माओवादी आन्दोलनले पहाडका जनतामा अधिकारसम्बन्धी चेतना फैलाउन सहयोग गर्यो, त्यसरी नै मधेस आन्दोलनले त्यहाँका जनतामा आत्मसम्मानको भावना बलियो बनाएको छ । वेशभूषाका आधारमा, भाषा र संस्कृतिका आधारमा भेदभाव गरिनु हुन्न भनेर संविधानमा लेखिए पनि हामीले त्यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनौं । क्षेत्रीय, भाषिक एवं सांस्कृतिक भिन्नताका आधारमा कसैलाई हेप्ने, होच्याउने, असमान व्यवहार गर्ने स्वभावमा हामी अझै व्यवहारिक हुनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

त्यसका लागि हाम्रो सम्पर्कमा आउने तराईवासी नेपालीहरूप्रतिको हाम्रो व्यवहारमा आमूल परिवर्तन आउनु जरुरी छ । जुन शब्दले उहाँहरू ‘ह्युमिलेसन फिल’ गर्नुहुन्छ, त्यो शब्दमा सुधार गर्नुपर्छ । जे गर्दा उहाँहरू हेपिएको महसुस गर्नुहुन्छ, त्यसमा परिवर्तन ल्याउनुपर्छ । जेमा उहाँहरू आत्मीय र भ्रातृत्वपूर्ण अनुभव गर्नुहुन्छ, हामीले त्यही नै गर्नुपर्ने गजुरियल ठम्याइ छ ।

पहाड–मधेस सद्भाव अभियानका लागि फेसबुकमा सक्रिय एक युवा रमेशप्रसाद साहको आह्वानमा सहमति जनाउँदै रियल अनरोध छ— अब उप्रान्त, कुनै पनि तराईमूलको नेपाली नागरिकलाई ‘भैया’ र ‘भेले’ होइन, उमेरअनुसार दाजु, भाइ वा बारबुवारबाजे सम्बोधन गरौं । आफूभन्दा पाको उमेरकालाई तिमी नभनेर ‘तपाईं’ सम्बोधन गर्दा मीठो सुनिन्छ भने ज्येष्ठ नागरिकको सम्मान पनि हुन्छ– अस्तु ।

साप्ताहिक, जेष्ठ ३१, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x