प्रेम ओली ढकलपुरेकाजीको गधा
काजीको भारी बोक्ने गधालाई
एक दिन भारी फाल्दै भन्यो
काजी अब हजुरको भारी नबोक्ने
जति भारी बोके पनि
एक दिन टन्न पराल खाइन
यत्रो पसिना बगाइयो
दुई चार दाम पनि कमाइन
खोलाको पानी बाहेक
कहिलै तन्न दाना पाइन ।
म त अब भारी बोक्न कतारतिर जाने
उतै विदेशी दाना पनि टन्न खाने
विदेशी दाना पनि टन्न खाइन्छ
दुई चार दाम पनि यसो कमाइन्छ ।
गधा कतारतिर लम्कियो
आज खुशीले गोडा झै चम्कियो
खाडी पुगेपछि गधाले
यहाँको भन्दा ठुलठुलो भारी बोक्यो
त्यहाँको काजीले झन्
यहाँको भन्दा धेरै काम गर्ने समय तोक्यो
गधा कहिले टन्टलापुर घाममा मरुभूमिमा कुद्यो
कहिले सुख्खा पहाडसँग तिर्खाउदै जुध्यो
घामले पाक्यो गधा
कामले थाक्यो गधा
पहिले जिन्दगानी सम्झ्यो
खोला कल्कलाउँदो पानी सम्झ्यो
क्वा क्वा रोयो गधा ।
एक दिन गधाले
फेरि भारी फाल्दै भन्यो
यता आए पनि
न दाम कमाइयो न काम जमाइयो
उता जस्तो न मेला पातमा रमाइयो
यो बिदेशी पाजी पाजी भन्दा आफ्नै कजी ठीक ।
घर फर्केपछि गधाले भन्यो
काजी अब काम गरे यतै गर्ने
मरे पनि अब बरु यतै मर्ने ।
काजीले भने
जवानी सबै बगाइस्
बल बर्कत सबै उतै लगाइस्
तँ गएपछि
गोरु पनि बेची दिएँ भैंसी पनि बेचेँ
गैरीखेत पनि बेची दिएँ
ऊ त्यो पाखो छ जा
तँलाई नै दिउँला भनेकोथेँ
गोरु त छैन अब खनेर खा ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































