सुलसुलेपोखरामा भेला भए भारतका साहित्यकार
पोखरा, १४ भदौ । छिमेकी राष्ट्र भारतको असम राज्यबाट साहित्यकारहरू असम–नेपाली साहित्यिक मितेरी कार्यक्रमका साथ पोखरा आइपुग्नुभएको छ । उहाँहरूलाई सोमबार हिमाली सांस्कृतिक परिवारको संयोजनमा पोखराका १९ वाङमय संस्थाले सांस्कृतिक स्वागत गरेका थिए ।
असम नेपाली साहित्य समाजका सभापति डम्बर दाहालको नेतृत्वमा लमजुङ हुँदै पोखरा आइपुगेको २० जना साहित्यकारसहितको २२ जनाको टोलीलाई हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, अलिमिया वाङमय प्रतिष्ठानलगायतका संस्थाले ढाकाटोपी, पछ्यौरा र ढाकाको खादाले पोखरामा सम्मान गर्नुभयो ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका तर्फबाट उहाँहरूको स्वागतमा कलाकारले नेपालको मौलिक लोकनृत्य सखिया, छलिया हुर्केउली, थकाली, कर्पुटारे झ्याउरे, नेवारी, मगरको कौरा र गुरुङको रोधी प्रस्तुत गरिएको थियो ।
त्यस्तै, झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशालाले सारङ्गी धुन र गीत, जोजिजु म्युजिक सेन्टरबाट कान्छो ड्रमर उत्पे्रम जोजिजुको प्रस्तुति र विनित जोजिजुको गायन, वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले गीत प्रस्तुति र लेखनाथ साहित्य प्रतिष्ठानका तर्फबाट अध्यक्ष पदमराज ढकालले लोक गीत र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले दोहोरी गीत प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा असम नेपाली साहित्य सभाका हरि गजुरेल र चन्द्र लुइँटेलले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक, वरिष्ठ स्रष्टा, चलचित्रकर्मी चेतन कार्कीले भाषा, साहित्य र कला राष्ट्रको सम्पत्ति भएकाले नेपाली जहाँ पुगे रहेपनि नेपाली मौलिक राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भाषा, साहित्य, सङ्गीत र कलाले विश्वभरका नेपालीलाई एउटै मालामा गाँस्न सक्ने भएकाले साहित्यिक कार्यक्रम अति आवश्यक रहेको बताउनुभयो ।
Subscribe
Login
0 Comments
Oldest











































