प्रेम ओली ढकलपुरेमन्त्री नै भएस्

एक दिन बाले आशिक दिँदै भने
ल छोरा मन्त्री नै भएस्
गतिलै मन्त्रालय समाएस् {{read_more}}
ठूलो नाम कमाएस्
नामभन्दा पनि धेरै दाम कमाएस्
यो देशमा तैँले पनि
अरुले जस्तै दरो ठाम जमाएस्
सकेसम्म गृह मन्त्रालय खोजेस्
त्यो पाइएन भने
कि भौतिक कि आपूर्ति मन्त्रालय रोजेस्
छोरालाई पिय राखेस्
श्रीमतिलाई सल्लाहकार राखेस्
अरु क्यै चाहियो भने मलाई पनि डाकेस्
कर्मचारी थुरुरुरु पार्नु
अटेरीको शेखी नै झार्नु
ठेकदार ब्यापारीलाई थर्काउनु
दुईचार जनाको हात खुट्टै मर्काउनु
कसैलाई थुनेर पातै फर्काउनु
यति भए कानमा तेल हालेर सुते पनि
दुई चार महिना काम गर्छ
कति कमाउने तैँले, फटाफट दाम झर्छ
दुई चार पल्ट पत्रकारलाई बोलाएर
पुल निरिक्षणमा जानु
ढल निरिक्षणमा जानु
गरिबखाना जानु, गरीबसँग मार्सी भात खानु
के गरेर हुन्छ दुई चार दिन हङ्गामा मच्चाउनु
त्यसपछि लुसुक्क प्वालभित्र छिर्नु
कताबाट के के आउँछ यसो हेर्नु
दुईचार जना ठेक्दार ब्यापारी समाउनु
मजाले दाम पैसो कमाउनु
मैले भनेको बाटो नबिराइ समाउनु
यति भएपछि, त यो राष्ट्रले खोजेको मान्छे बन्छस्
त्यसपछि त ऐरे गैरेलाई पनि के गन्छस्
ल भन त के भन्छस्
बाले यति आशिक दिएपछि
मैले पनि बाले भनेकै बाटो रोज्या छु
तर कसरी मन्त्री बन्ने त्यो मौका खोज्या छु
पहिले सांसद बनेर मन्त्री बन्ने कि
मन्त्री बनेर सांसद बन्ने भनी सोच्दैछु
पार्टीमा छिर्ने कि आफ्नै पार्टी खोल्ने
यहाँहरूको सरसल्लाह खोज्दैछु ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































