सोमराज ‘अभय’अमरावती कान्तिपुरी नगरी
अघि पुगे जब कान्तिपुरी
कविका मनको रसिलो लहरी !
मुखबाट चुह्यो मधुझैँ यसरी
अलकापुरी कान्तिपुरी नगरी
चपला अबलाहरू फेसनमा
पुरुषै सरिको हक पाउनमा !
नगुती फरिया, सटपैन्ट भिरी
हिडन्या, कति सुन्दर कान्तिपुरी !
कति गन्नु यहाँ अहिले धनियाँ !
कति छन् धनका गतिला बनियाँ !
बहुसेवक लीकन ओरीपरि
अमरावती कान्तिपुरी नगरी !
पिसतोल र बन्दुकसम्म भिरी,
रहन्या कति ठाउँ खडा प्रहरी !
तर लुट्न सकिन्छ नि रातभरी
अमरापुरी हो, कि त डाकुपुरी !
प्रति रोज यहाँ अति फोहर भो
प्रति मानिस नै मलको ढल हो !
बनियो अहिले च कुगन्धपुरी
मलका पुरी भो, अलका नगरी !
न नुहाइ, धुवाइ न पाठ, जप !
मुख मुस्किलले धुनु, चाक सब !
अनि खानु भुजा जिउनार गरी
मलका पुरी हो अलका नगरी !
जनतन्त्र यहीँ, गणतन्त्र यहीँ !
खलतन्त्र यहीँ, छलतन्त्र यहीँ !
छ र अन्त कतै सुविधा यसरी ?
अमरापुरी कान्तिपुरी नगरी !
अति दुस्तर दुर्ग जित्यो उसले,
घर एक बनाउन सक्छ भने !
अमरापुरीमा मलको ढिकुरी !
अलकापुरी भो अब नर्कपुरी !
पिसकोर यहीँ, घुसखोर यहीँ !
दलफोर यहीँ, जलफोर यहीँ !
छ त अन्त कतै सुविधा यसरी ?
अलकापुरी कान्तिपुरी नगरी !
कति साततले घरमा बसन्या !
कति सत्तलमा कबजा कसन्या !
कतिको फुटपाथ छ गेहसरी !
अमरापुरी हो कि दरिद्रपुरी ?
छलछाम यहीँ, शिवधाम यहीँ !
जल बाग्मतीको ढल झैँ छ यहीँ !
ठगठाग यहीँ, रतिराग यहीँ !
अमरापुरी झैँ छ र अन्त कहीँ ?
रिस राग कपट् छल छैन भनी,
कसले अब भन्दछ मूर्ख बनी !
सबका सब डाक्टर छन् नि भरी
अमरापुरी सार्थक भो यसरी !
बहुला नट नाटक मञ्चनमा !
ठगियो बिचरो तर यो दुनियाँ !
गफको अखडा छ नि भट्टी सरी !
कति सार्थक मान्नु र कान्तिपुरी !?
धनचोर यहीँ, मनचोर यहीँ !
सुनचोर यहीँ सुदखोर यहीँ !
भगवान् र भक्त अनेक यहीँ !
अमरापुरी झैँ छ र अन्त कहीँ ?
सडकैभरि टायर बाल्न हुने !
पथका सब रेलिङ तोड्न हुने !
छ त अन्त कतै सुविधा यसरी ?
अमरापुरी कान्तिपुरी हो कि प्रमत्तपुरी ?!?
गुडन्या कति मोटर बाइकमा !
कति कार र जीप तथा बसमा !
पथमा हिडन्याकन मारिवरि !
अमरापुरी हो कि त मृत्युपुरी ?!?
बिराटनगर–५
Subscribe
Login
0 Comments
Oldest







































