साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सलाम छ काठमाडौंलाई

विराटनगर स्थित आफ्नो निवासमा बसिरहेका बेला सरकारले २०७८ को राष्ट्रिय प्रतिभा पुरस्कारका निम्ति नाम घोषणा गरेको समाचार सुनेपछि कवि अभयले लेख्नुभएको कविता ।

Nepal Telecom ad

काठमाडौं,
जसको पुरानो नाउँ
अलकापुरी हो ।
काठमाडौं जसको अर्वाचीन नाउँ
कान्तिपुरी हो !
ए, हजुर !
यहाँ के छैन ? भन्नोस् त !
यहाँ प्रतिभादेखि पशुपतिनाथसम्म
गायकदेखि महानायकसम्म
चरीदेखि विश्वसुन्दरीसम्म
पत्रकारदेखि अलपत्रकारसम्म
राजादेखि रङ्कसम्म
तस्करदेखि लावालस्करसम्म
राजनीतिदेखि कुटनीतिसम्म
महिलादेखि सुकिलासम्म
झोपडीदेखि महलसम्म
मालदेखि मन्दिरसम्म
कविदेखि कलाकारसम्म
यहाँ के छैन, हजुर !
पुरस्कारदेखि तिरस्कारसम्म
पप संगीतदेखि लोक संगीतसम्म
आँसुदेखि हाँसोसम्म
कलेजदेखि त्रि.वि.सम्म
शिक्षादेखि दीक्षासम्म
राम्रैराम्रा रचनाहरू मात्रै छन् ।
त्यसैले सलाम गर्छौं
यहाँको ढुङ्गामाटोलाई
यहाँका नदीनालालाई
यहाँ फोहोरको डङ्गुरदेखि
मोहरको लङ्गुरसम्म सबैथोक छ !
यहाँ पियनदेखि प्रधानमन्त्रीसम्म
महान्यायाधिवक्तादेखि प्रधानन्यायाधीशसम्म
सबै हजुरहरू मात्रै छन्
सबै हजुरै हजुर छन् !
त्यसैले म पनि सलाम गर्छु काठमाडौ.लाई !
०००
कल्पना त हो-
मुकन्द इन्दिराका भवदेवले
देखेजति कुरा म लेख्न सक्दिनँ ।
मैले देखेको कुरा पनि भवदेवले
न सुन्न पाउँछ, न देख्न पाउँछ !
त्यो बेलाको नेपालमा र
वर्तमान हाम्रो नेपालमा-
अहिलेको ‘म’ मा र उतिखेरको भवदेवमा
जत्तिकै ठूलो खाडल परिसकेको छ ।
आकाशजमिनको फरक छ, हजुर !
ऊ बेला कविको कल्पनामा
भावनाको कोमल ज्वारभाटाले
तरङ्गित भएर झल्कने किरणहरू सल्बलाएथे
भवदेवको मुखारविन्दमा
विद्याधिष्ठात्री सरस्वती माता बसेकी थिइन्
अहिले सोमराजका कविको
कल्पना र भावनामा तरङ्गित
राजनीतिक ज्वारभाटाले
के के लेखाउँछ, हजुर हजुर ! के के लेखाउँछ !
प्रसङ्गवश
हाम्रो देशको राजधानी काठमाडौं !
यहाँ के छैन ? म पनि सोध्न सक्छु हजुरहरूलाई ?
भवदेवले भनेझैं
यहाँ के छैन ? हजुर, के छैन ?
म त पशुपतिनाथलाई छोएर भन्ने गर्छु(
यहाँ जे पनि छ, जस्तो पनि छ, जसरी पनि छ ।
राजा महेन्द्रले पञ्चलाई
तलबभत्ता केही नदिएर
गोरुलाई नत्थ्याएर राखेका रीसले
काङ्ग्रेस कम्युनिस्टले बहुदल ल्याएका रहेछन् !
आफ्ना मान्छे राखेर राजा हुन्,
रजाइँ र रजगज गर्न
दलहरूले संघ, प्रदेश र स्थानीय तह गठन गरेका रहेछन्
सत्ते होला, हजुर !
मेरो कविता ढाँटको पुस्तक होइन ।
म देखेको कुरा रिठ्ठो नबिराई
लेख्ने झोले हुनाले
झुत्रेझाम्रे झोले कवि हुँ !
आजसम्म उन्नति प्रगति केही नभएको !
राजनीतिक वेश्याहरूसँग सङ्गतै नभएको,
माफ गर्नुहोला, हजुर !
हाम्रा अर्थशास्त्री चाणक्य मुनिले
राजनीतिलाई वेश्यासँग तुलना गरेका छन् !
“वाराङ्गनेव नृपनीतिरनेकरुपा”
त्यसैले म लिङ्गमा पुरुष नै भए पनि
कामले राजनीतिक वेश्या भन्न रुचाउँछु, हजुर !
माफ पाऊँ !
अहिलेको राजधानी काठमाडौंमा
सुन पसलदेख नुन पसलसम्म
चाउरे भुँडीदेखि दमाहा भुँडीसम्म
सबैका सबै
होटलमा गएर बोतल फोर्छन्
सट्टामा ढिकुटी खेल्छन्
जूवा निषेध गरेर मिटरब्याजी बनेका छन् ।
संसारभरिकै अझ विश्वब्रह्माण्डकै अनुकरणमा लागेका छन् ।
सबै जान्ने पनि बुझ्ने पनि !
यहाँ सिने कलाकारलाई
राजनीतिको सांसद बनाइन्छ
वेश्या पुरुषलाई पति मानिन्छ !
चोर, तस्कर, लुटेरा, ठग, ज्यानमारा, हत्यारा
हजुर ! यस्तै यस्ता प्रतिभा बस्ने
हाम्रो देशको राजधानी काठमाडौं !
भन्न पनि घृणा लाग्छ, हजुर !
अहिले म एकासी वर्षको भएँ !
यस उमेरमा आइपुग्दा
दुइटै आँखामा जलबिन्दु र
मोतियाबिन्दू भएर
राम्रो आँखा देख्तिनँ पनि !
कान पनि कम सुन्न थालेको छु !
मेरो पहिचान खोज्नेहरूले मलाई
झोले भनेर चिनून्
मोफसलको झुत्रे
फुत्त कहाँबाट यहाँ आएर
ठूलो कुरा गर्दोरहेछ !
राजधानीबासी हामीले
अरिङ्गाल खायौं, बाच्छ्यूँ खायौं
यो झुसे बारुलो भनून् !
म उखान टुक्का जान्दिनँ
हाइकु गजल
गिजोल(गाजल केही आउँदैन मलाई !
०००
त्यसैले साहित्य क्षेत्रको
मदन पुस्कार मलाई चाहिँदैन ।
म राजनीति खाएर टम्म अघाएको छु, हजुर !
जुनिभरिलाई पुगिसकेको छ ।
आफ्ना मरेका मातापिताको
छोराछोरी र बन्धुबान्धवको
श्रद्धाले अन्वित भएर
आधुनिक श्राद्ध गर्ने
महान् उद्देश्य लिएर
पुरस्कारदाताहरूले प्रतिष्ठान खोली(खोली
लेखक कलाकारको सम्मान
आदर इज्जत गर्नु भएको छ ।
यस्ता पावन संस्थाबाट
झोले जस्ताको सम्मान गरिनु
आठौं आश्चर्यको कुरा जस्तो लाग्छ !
मलाई यहाँबाट वितरित राष्ट्रिय वा क्षेत्रीय पुरस्कार
मर्ने बेलामा खा, बाबै ! केरा, भएको छ !
नखाऊँ भने जुनिभरिको शिकार !
खाऊँ भने कान्छा बाउको अनुहार भएको छ ।
०००
पुरस्कार भनेको पुरस्कारै हो-
चाहे त्यो विराटनगरमा स्थापित गरियोस्
चाहे महेन्द्रनगरमा
चाहे जनकपुरमा स्थापित गरिएको होस्
चाहे भरतपुरमा
पुरस्कार पाउन लायक प्रतिभा त
केवल काठमाडौंमा मात्र पाइन्छन्
त्यसैले त्यहाँको प्रतिभा पाँच हजारको पाउन वा लिन
करोडको गाडी चढेर या हवाइयानमा उडेर
कि विराटनगर आउँछन् !
कि महेन्द्रनगर धाउँछन् !
देख्नु भएकै छ, हजुर ! सुन्नु भएकै छ !
०००
मेरो देशको महान् राजधानी
काठमाडौं हो
जहाँ हनुमाढोका मात्र नभएर
पाटनढोका पनि छ !
वाङ्मयका शिखर संस्था
साझा प्रकाशन मात्र होइन
नेपाल प्रज्ञा प्रतिष्ठान पनि छ ।
जहाँ चतुरलाल मात्र छैनन्
चाण्डाल चौकडी पनि छ
त्यहाँबाट कुनै मजस्ता-
खोयाबिर्केले पुरस्कार पाए भने
सुपरस्टार होटलमा एक साँझ
साथीभाइ बटुलेर होली वाइन र मासु खाएर उडाइन्छ ।
मजस्ता नामूद कौडेले
क्यासिनोमा कौडा खेलेर
एकरात रमाइलो मनाइन्छ ।
अथवा, मजस्ता जोइटिङ्ग्रेले
सो पुरस्कार पाएमा
एकरात नगरवधूको ओछ्यान तताइन्छ
यसरी पुरस्कारको औचित्य
दिनानुदिन बढेकोबढ्यै छ, हजुर !
मेरो काठमाडौं अत्यन्त
यसरी अत्यन्त धन्य छ, हजुर !
अत्यन्त धन्य छ !

असार २३, २०७९
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x