सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सलाम छ काठमाडौंलाई

विराटनगर स्थित आफ्नो निवासमा बसिरहेका बेला सरकारले २०७८ को राष्ट्रिय प्रतिभा पुरस्कारका निम्ति नाम घोषणा गरेको समाचार सुनेपछि कवि अभयले लेख्नुभएको कविता ।

Nepal Telecom ad

काठमाडौं,
जसको पुरानो नाउँ
अलकापुरी हो ।
काठमाडौं जसको अर्वाचीन नाउँ
कान्तिपुरी हो !
ए, हजुर !
यहाँ के छैन ? भन्नोस् त !
यहाँ प्रतिभादेखि पशुपतिनाथसम्म
गायकदेखि महानायकसम्म
चरीदेखि विश्वसुन्दरीसम्म
पत्रकारदेखि अलपत्रकारसम्म
राजादेखि रङ्कसम्म
तस्करदेखि लावालस्करसम्म
राजनीतिदेखि कुटनीतिसम्म
महिलादेखि सुकिलासम्म
झोपडीदेखि महलसम्म
मालदेखि मन्दिरसम्म
कविदेखि कलाकारसम्म
यहाँ के छैन, हजुर !
पुरस्कारदेखि तिरस्कारसम्म
पप संगीतदेखि लोक संगीतसम्म
आँसुदेखि हाँसोसम्म
कलेजदेखि त्रि.वि.सम्म
शिक्षादेखि दीक्षासम्म
राम्रैराम्रा रचनाहरू मात्रै छन् ।
त्यसैले सलाम गर्छौं
यहाँको ढुङ्गामाटोलाई
यहाँका नदीनालालाई
यहाँ फोहोरको डङ्गुरदेखि
मोहरको लङ्गुरसम्म सबैथोक छ !
यहाँ पियनदेखि प्रधानमन्त्रीसम्म
महान्यायाधिवक्तादेखि प्रधानन्यायाधीशसम्म
सबै हजुरहरू मात्रै छन्
सबै हजुरै हजुर छन् !
त्यसैले म पनि सलाम गर्छु काठमाडौ.लाई !
०००
कल्पना त हो-
मुकन्द इन्दिराका भवदेवले
देखेजति कुरा म लेख्न सक्दिनँ ।
मैले देखेको कुरा पनि भवदेवले
न सुन्न पाउँछ, न देख्न पाउँछ !
त्यो बेलाको नेपालमा र
वर्तमान हाम्रो नेपालमा-
अहिलेको ‘म’ मा र उतिखेरको भवदेवमा
जत्तिकै ठूलो खाडल परिसकेको छ ।
आकाशजमिनको फरक छ, हजुर !
ऊ बेला कविको कल्पनामा
भावनाको कोमल ज्वारभाटाले
तरङ्गित भएर झल्कने किरणहरू सल्बलाएथे
भवदेवको मुखारविन्दमा
विद्याधिष्ठात्री सरस्वती माता बसेकी थिइन्
अहिले सोमराजका कविको
कल्पना र भावनामा तरङ्गित
राजनीतिक ज्वारभाटाले
के के लेखाउँछ, हजुर हजुर ! के के लेखाउँछ !
प्रसङ्गवश
हाम्रो देशको राजधानी काठमाडौं !
यहाँ के छैन ? म पनि सोध्न सक्छु हजुरहरूलाई ?
भवदेवले भनेझैं
यहाँ के छैन ? हजुर, के छैन ?
म त पशुपतिनाथलाई छोएर भन्ने गर्छु(
यहाँ जे पनि छ, जस्तो पनि छ, जसरी पनि छ ।
राजा महेन्द्रले पञ्चलाई
तलबभत्ता केही नदिएर
गोरुलाई नत्थ्याएर राखेका रीसले
काङ्ग्रेस कम्युनिस्टले बहुदल ल्याएका रहेछन् !
आफ्ना मान्छे राखेर राजा हुन्,
रजाइँ र रजगज गर्न
दलहरूले संघ, प्रदेश र स्थानीय तह गठन गरेका रहेछन्
सत्ते होला, हजुर !
मेरो कविता ढाँटको पुस्तक होइन ।
म देखेको कुरा रिठ्ठो नबिराई
लेख्ने झोले हुनाले
झुत्रेझाम्रे झोले कवि हुँ !
आजसम्म उन्नति प्रगति केही नभएको !
राजनीतिक वेश्याहरूसँग सङ्गतै नभएको,
माफ गर्नुहोला, हजुर !
हाम्रा अर्थशास्त्री चाणक्य मुनिले
राजनीतिलाई वेश्यासँग तुलना गरेका छन् !
“वाराङ्गनेव नृपनीतिरनेकरुपा”
त्यसैले म लिङ्गमा पुरुष नै भए पनि
कामले राजनीतिक वेश्या भन्न रुचाउँछु, हजुर !
माफ पाऊँ !
अहिलेको राजधानी काठमाडौंमा
सुन पसलदेख नुन पसलसम्म
चाउरे भुँडीदेखि दमाहा भुँडीसम्म
सबैका सबै
होटलमा गएर बोतल फोर्छन्
सट्टामा ढिकुटी खेल्छन्
जूवा निषेध गरेर मिटरब्याजी बनेका छन् ।
संसारभरिकै अझ विश्वब्रह्माण्डकै अनुकरणमा लागेका छन् ।
सबै जान्ने पनि बुझ्ने पनि !
यहाँ सिने कलाकारलाई
राजनीतिको सांसद बनाइन्छ
वेश्या पुरुषलाई पति मानिन्छ !
चोर, तस्कर, लुटेरा, ठग, ज्यानमारा, हत्यारा
हजुर ! यस्तै यस्ता प्रतिभा बस्ने
हाम्रो देशको राजधानी काठमाडौं !
भन्न पनि घृणा लाग्छ, हजुर !
अहिले म एकासी वर्षको भएँ !
यस उमेरमा आइपुग्दा
दुइटै आँखामा जलबिन्दु र
मोतियाबिन्दू भएर
राम्रो आँखा देख्तिनँ पनि !
कान पनि कम सुन्न थालेको छु !
मेरो पहिचान खोज्नेहरूले मलाई
झोले भनेर चिनून्
मोफसलको झुत्रे
फुत्त कहाँबाट यहाँ आएर
ठूलो कुरा गर्दोरहेछ !
राजधानीबासी हामीले
अरिङ्गाल खायौं, बाच्छ्यूँ खायौं
यो झुसे बारुलो भनून् !
म उखान टुक्का जान्दिनँ
हाइकु गजल
गिजोल(गाजल केही आउँदैन मलाई !
०००
त्यसैले साहित्य क्षेत्रको
मदन पुस्कार मलाई चाहिँदैन ।
म राजनीति खाएर टम्म अघाएको छु, हजुर !
जुनिभरिलाई पुगिसकेको छ ।
आफ्ना मरेका मातापिताको
छोराछोरी र बन्धुबान्धवको
श्रद्धाले अन्वित भएर
आधुनिक श्राद्ध गर्ने
महान् उद्देश्य लिएर
पुरस्कारदाताहरूले प्रतिष्ठान खोली(खोली
लेखक कलाकारको सम्मान
आदर इज्जत गर्नु भएको छ ।
यस्ता पावन संस्थाबाट
झोले जस्ताको सम्मान गरिनु
आठौं आश्चर्यको कुरा जस्तो लाग्छ !
मलाई यहाँबाट वितरित राष्ट्रिय वा क्षेत्रीय पुरस्कार
मर्ने बेलामा खा, बाबै ! केरा, भएको छ !
नखाऊँ भने जुनिभरिको शिकार !
खाऊँ भने कान्छा बाउको अनुहार भएको छ ।
०००
पुरस्कार भनेको पुरस्कारै हो-
चाहे त्यो विराटनगरमा स्थापित गरियोस्
चाहे महेन्द्रनगरमा
चाहे जनकपुरमा स्थापित गरिएको होस्
चाहे भरतपुरमा
पुरस्कार पाउन लायक प्रतिभा त
केवल काठमाडौंमा मात्र पाइन्छन्
त्यसैले त्यहाँको प्रतिभा पाँच हजारको पाउन वा लिन
करोडको गाडी चढेर या हवाइयानमा उडेर
कि विराटनगर आउँछन् !
कि महेन्द्रनगर धाउँछन् !
देख्नु भएकै छ, हजुर ! सुन्नु भएकै छ !
०००
मेरो देशको महान् राजधानी
काठमाडौं हो
जहाँ हनुमाढोका मात्र नभएर
पाटनढोका पनि छ !
वाङ्मयका शिखर संस्था
साझा प्रकाशन मात्र होइन
नेपाल प्रज्ञा प्रतिष्ठान पनि छ ।
जहाँ चतुरलाल मात्र छैनन्
चाण्डाल चौकडी पनि छ
त्यहाँबाट कुनै मजस्ता-
खोयाबिर्केले पुरस्कार पाए भने
सुपरस्टार होटलमा एक साँझ
साथीभाइ बटुलेर होली वाइन र मासु खाएर उडाइन्छ ।
मजस्ता नामूद कौडेले
क्यासिनोमा कौडा खेलेर
एकरात रमाइलो मनाइन्छ ।
अथवा, मजस्ता जोइटिङ्ग्रेले
सो पुरस्कार पाएमा
एकरात नगरवधूको ओछ्यान तताइन्छ
यसरी पुरस्कारको औचित्य
दिनानुदिन बढेकोबढ्यै छ, हजुर !
मेरो काठमाडौं अत्यन्त
यसरी अत्यन्त धन्य छ, हजुर !
अत्यन्त धन्य छ !

असार २३, २०७९
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
चिहानपूजा

चिहानपूजा

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
कस्तो जमाना भयो ?

कस्तो जमाना भयो ?

सोमराज ‘अभय’
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही