डा. मुकेशकुमार चालिसेपाका मान्छेका नियम आयो रे !
नत्र त हिउँदमा हुने अर्को चुनावमा मत सोहोर्ने नारा वा पाका मान्छेलाई हेपेर जुवा खालबाट जितौरी बाँड्याजस्तो हुँदैन र ज्येष्ठ नागरिकको नयाँ विधेयक ?
पाका मानिसका बारेमा नेपालमा कहिलेदेखि चासो राखियो खोई ? हुन त पहिलेदेखि ‘कुरा सुन्नु बुढाबुढीको’ भन्ने आहान त थियो । पहिलापहिला स्थानिय न्याय निसाफ पनि पाका पञ्चभलादमीले गरेका थुप्रै उदाहरण सामाजिक साहित्य, आख्यान र लिखतहरूमा पाइन्छ । धार्मिक र परम्परागत मान्यतामा पनि पाका मान्छेको आदर, सत्कार र मानमनितो भएकै देखिन्थ्यो । अझ पढेलेखेका र देशदेशावर पुगेका भए त पाका मान्छेको हैसियत स्थानिय तहमा अन्तिम न्यायकर्ता र धर्माधिकारी नै हुन्थ्यो । पारिवारिक ईज्जत बचाई राख्न र स्थाई बसोबास भइरहेको अवस्थामा पुरानै आधार भए पनि विवेकी भएर गरिएको निणर्यले सहि र गलत प्रष्ट हुने गरेर गरिन्थ्यो । पाका मान्छेको सामाजिक हैसियत पहिला अलि बढी थियो कि ? पछि बसाईसराईको चहलपहल बढेर र मान्छेमा प्रबृत्तिगत आदर्श फेरिएर साँचो र झूटोको आदर्श नै फेरिएकाले पाका मान्छे प्रतिको व्यवहार फेरिएको होला ? सत्तरी वर्ष अघिको लिखतमा रणधिर सुब्बाको पार्टीले २००८ साल चैत्र १६ मा ६० वर्ष नाघेका एकल महिला र पुरुषलाई भत्ता दिने घोषणापत्रमा भनेको भनेर राजनैतिक दर्पणको भाग १ उल्लेख गरिएको छ ।
पछिल्लो खेप अलिअलि पश्चिमा प्रभावमा पाका मान्छेबारेमा कुरा उठे पनि नेपालमा पाका मान्छेबारेमा चासो त्यति बढेको थिएन । हास्यव्यङ्ग्य साहित्यका हस्ती कृष्णमुरारी गौतम अर्थात चट्याङ माडसाबले नयाँनयाँ काम गर्ने बानीअनुसार एजिङ नेपाल भन्ने संस्था स्थापना गर्ने काम गरे । अब उनको काम व्यङ्ग्यका मटेङ्ग्राले राजनीतिक सामाजिक कुरीतिमाथि प्रहार गर्नु भन्दा पाका मान्छेको हितमा पसिना बगाउने हुनथाल्यो । कहिले बुढ्यौली साहित्यिक जमघट, कहिले पाका मान्छेका मिलन केन्द्र, कहिले पाका मान्छेलाई आन्तरिक पर्यटन गराउनु उनका दैनिकी बने । ठाउँठाउँ पाका महिलाको आधारभूत कक्षा सञ्चालन र वडावडामा पाको मान्छेलाई उल्क्याएर सङ्गठित बनाउन दोडादौड गरे । उनको दर्जनौ प्रयासपछि अन्तर्राष्ट्रिय मान्यता पायो, संयुक्त राष्ट्र संघले प्रबचनमा बोलायो र युनेस्कोले नेपालको कामलाई पुरस्कृत गर्यो । सरकारमा बस्नेले पनि सुनेछन् क्यार र केहि बुझेछन् कि, वार्षिक बजेटसहित वडास्तरीय ज्येष्ठ नागरिक मञ्च बनाउन कार्यक्रम नै ल्यायो । २०७९ साउनमा त संसदमै ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३को पहिलो संशोधन विधेयकमा केहि थपघट गरेर संशोधन विधेयक ल्याउन बाध्य भयो । अब यसले के के व्यवस्था गरेर पाका मान्छेको हकअधिकार सुनिश्चित गर्छ कार्यान्वयन तहमा हेर्न बाँकि छ ।
साँच्चि मान्छेकै अरु उमेर समुहलाई नियम चाहिँदैन कि, कि भइसके ? किन होला पाका मान्छेका लागि नियम, कानुन ऐन बनाउनु पर्ने ? पाका मान्छे त पहिलेदेखि स्थापित मानव समाजका आदरणीय व्यक्तित्व हुन नि । कहिलेदेखि पाका मान्छे हेलाँहोचो, अर्घेलो र परित्यक्तमा परे हँ नेपालमा ? कि मान्छे प्रजातिमा मात्र समस्या होइन अरु प्राणीमा पनि पाका सदस्यको बेवास्ता हुन्छ कि ? बन्यजन्तुमा त समुहमा बस्ने विशेषगरी स्तनधारी सबै प्राणीले आफ्ना पाका सदस्यको निर्देशन र मार्गदर्शनमा नै समुहको गतिविधि गरिरहेका पाइन्छन् । मानवभन्दा कम मस्तिष्क विकास भएका ती जन्तुमा प्राकृतिक र समुहगत अनुसाशन अनुकरणीय छ ! केही उदाहरणहरू बिचार्ने र हामी मान्छे प्रजातिको विकसित (कि अविकसित !) स्वभाव र नियम जाँच्ने कि ?
बन्यजन्तुमा पाकाः
मान्छेले चारित्रिक हिसाबले नराम्रो भनिएको ब्वाँसो प्रजातिमा सिकार गर्न वा प्रतिकुल वातावरणले बसाईसराई गर्दा पाका सदस्य सबै अघि लाग्छन् । आमा समुह, किशोरकिशोरी र छाउराछाउरी बिचमा अनि जब्बर टोलीनेता रखवारी गर्दै पछिपछि हिँड्छन् । विज्ञानले ठम्याएको यो तरिकालाई यसरी बणर्न गरिन्छः पाका बिभिन्न कुराले अनुभवी बिज्ञ हुन, नयाँ ठाउँ र अवस्थाबारे उनीहरू पूर्वजानकार वा सूचित गराउन सक्ने हुन्छन् । समुहमा ख्याल गर्नुपर्ने भनेका अनुभव वा शारीरिक रुपले कमजोर र उत्पादन गर्ने माउ हुन्, तिनलाई समुहको जीवन्तताको लागि सुरक्षित पार्नै पर्छ । टोलीनेता सोख, शयल र मोजगरी अरुलाई कज्याउने होइन, पर्दा लडभिड गरी समुह जोगाउने एक सदस्य हो । उसले समुह अघिअघि बढ्दा पछाडिबाट अरुले घात गर्न सक्ने सम्भावना बिचार गरी वरपर, पछाडि हेर्दै अन्तिमबाट समुह पच्छ्याउने हुन्छ । ब्वाँसोलाई कसले यो नियम, कानुन र आफ्नो प्रजातिको हितको तरिका बनाएर दियो होला र अकाट्य पालना गर्छन् होला हँ ?
हात्ती बुढो भएपछि समुहलाई पच्छ्याउँदै समुहभन्दा केहि फरकमा बस्ने र चर्ने गर्छ । बसाईसराई गर्दा पनि ब्वाँसोको जस्तै तर अलि फरक गरी समुहको मत्ता केहि अघि लाग्ने केही पछि गरेर हिँड्छन् । आमासमुह र अरु उमेर समुह बिचमा बस्छन् । अघिलाग्ने मत्ता बाटो फरक वा चौबाटो आउँदा चारैतर्फ नियालेरमात्र बाटो काटछ । त्यसबखत समुहका सदस्यहरू नेतृत्वको ईसारा पर्खन्छन्, आफैँ जान्ने भएर अघि बढ्दैनन् । छावाछावी हिँड्दा चनमते भएर अभरमा परे फर्केर आमासमुह उद्धारमा लाग्छन् । अरु उमेरसमुहका सबै झुरुप्प जम्मा भई उद्धार गर्न सघाउने, अभर परेकालाई सुमसुम्याएर ढाडस दिने गरिरहेका हुन्छन् । नसकेको सुईँको पाउनासाथ मत्तामध्ये आएर बच्चालाई उद्धार गर्छ । त्यतिन्जेल अशक्त भए पनि बुढो हात्ती समुह नजिकै रहेर समुहको रखवारीमा ओरपरको वातावरणमा दिव्यदृष्टि लगाइरहेको हुन्छ । अशुभ सङ्केत पाउनासाथ आफूले प्रतिकार गर्न नसके पनि समुहलाई आवाज निकाली जानकारी दिन्छ । हात्ती समुहलाई आफ्नो प्रजातिको नियम र अनुशासनका बुँदा कस्ले बनाएर दियो होला ?
मृग, खरायो र लोखर्के जस्ता मध्यम र साना प्राणीलाई आफ्नो प्रजाति र समुहको रक्षा गर्ने नियम, कानुन र तरिका कस्ले बनाएर दियो होला ? प्रजातिगत अप्ठ्यारोमा समुहका सदस्यहरूको रक्षाको लागि अशुभ सङ्केत पाउनासाथ पाका सदस्यले खुर र पञ्जा भुइँमा बजारेर ठ्यापठ्याप आवाज निकाल्न र अनौठो स्वरमा कराउनु पर्छ भन्ने नियम कस्ले बनाई दियो होला ? सत्रु पक्ष वा मांसाहारी नजिक पर्दा समुहको हितमा भँगेरा, सारौँटे, परेवा, चिबे, जुरेली, काग, बट्टाई, आदि चरालाई आफू पनि बच्न अरुलाई पनि बचाउन कर्कस आवाज लगाउनु भन्ने नियम कस्ले सिकायो होला ?
माहुरीले चिलेको त सबैलाई थाहा होला ! माहुरीले चिलेपछि त्यो माहुरीको अङ्ग नै निक्लेकाले मर्छ । आफ्नो घार नजिक वा साथी अभरमा परेको ठाउँमा भुनभुनाउँदै घुम्दा परचक्री आयो भने आफू मर्ने कुरा थाहा पाउँदापाउँदै किन चिल्छ होला ? बरु आफू मरेर भए पनि आफ्नो प्रजातिको रक्षा गर्ने निस्वार्थी भावनाको यो भन्दा बढी के उदाहरण हुन सक्ला ? यसरी आत्मदाह गरेरै भए पनि आफ्नो प्रजाति बचाउनु भन्ने नियमकानुन उनीहरूलाई कस्ले अकाट्य मान्नु भनि उर्दि दिएको होला ?
मान्छेका लागि कानुन आयोः
रैथाने परिपाटी र आदर्श हराउँदै जाँदा संसारनै मानिसका लागि अनौठो व्यवहार भोग्ने थलो बनिरहेछ । मानिसमात्रको भलाईमा आवाज उठाई सबैको हितमा समग्र काम गर्ने, सोच्ने र व्यवहार गरे हुन्थ्यो नि ! सिङ्गो रोपनीमा रमाईलो बगैँचा, घर, करेसासहित स्वर्गीय आनन्दको परिवार बनाउनु पर्नेमा आवश्यक नै नभए पनि छिटोछरितोको नाममा त्यसो गर्नु भन्दा एक रोपनी जग्गाको कित्ताकाट गरेर चारपाँच टुक्रा बनाएझैँ हरेक उमेर र लिङ्गअनुसार हकअधिकार सुनिश्चित गर्न पो लागेका छन् मान्छेहरू । किन होला हँ, आधुनिक र अग्रगामी भनिएकाहरू देश, समाज, परिवार र व्यक्तिलाई अलगअलग भएकै हेर्न चाहन्छन् ? आयस्रोत, आर्थिक अवस्था र कमाईको लगतमा मात्र मानिसमा बर्गीकरण हुन्छ होइन र ? तर समग्र परिवारमा प्रबृत्तिगत बाहेक एउटै स्तर मानिन्छ कि ?
अहिले प्रशारित विधेयक २०६३ पछि २०७५मा पनि गिजोलगाजल पार्न खोज्या रहेछ, त्यसैलाई कोरीबाटी २०७५मा भए पनि थपघट २०७६मा गरिएकाले अबदेखि यसको परिमार्जन तीन वर्ष अघि भएको भनि अहिले सदर गर्नु पर्ने रहेछ । समाज व्यवस्था र आदर्श परिवर्तनसँगै सर्बसाधारणलाई असर पर्ने अति आवश्यक कार्यक्रम कति छिटोछरितो नेपालाँ हुन्छ ? जनप्रतिनिधिको रैतीप्रति गरिने राम्रो नजिर बन्छ कि यस्तो क्रियाकलाप ?
‘सन्तान’ शब्दको व्याख्या पनि रमाइलो गरेछन् है विधेयकमा, जैविक र अजैविक हुन्छ भनेर । अजैविक सन्तानको उत्पादन कसरी हुन्छ होला ? किन कि अजैविक त जैविक होइन, त्यो त कुनै निर्जीव बस्तु वा त्यसको उत्पादन हो । निर्जीव सन्तान कस्ता होलान् ? कि खेलौना, मूर्ति वा काँस, ढलोट, सिमेण्ट, ढुङ्गा र माटोका सालिक जस्तो प्रतिमालाई भनेको हो ? घरगाउँ र अशिक्षितमात्र होइन शिक्षितलाई पनि बुझाउन सरकारले तालिम र जानकारी कक्षा राखे रैतीलाई सुसूचित हुने हक प्राप्त हुन्थ्यो । त्यहि निहुँपिउँले तालुकवालालाई भ्रमण र दैनिक भत्ता नियमानुसार जिप्ट्याउन बन्देज हुने थिएन ।
पाका मान्छे एकै प्रकारका हुँदैनन् । शारीरिक र बौद्धिक क्षमता फरकफरक हुन्छ । सामाजिक र पारिवारिक व्यवहार पनि फरकफरक भोगिरहेका हुन्छन् । जोडीमा भएका मात्र होइन एकल भएका र एकल हुन बाध्य पारिएका पनि हुन्छन् । उमेर, शिक्षा, स्वभाव, स्वास्थ्यस्थिति फरक भएका कारण पारिवारिक सहजता नभएका हुनसक्छन् । पाका मान्छेलाई असहाय र सहाय भन्नेमात्र सोचाइले हेरियो भने बाञ्छित उद्धेश्स्य पुरा होला र ?
पाका मान्छे निसन्तान वा अविवाहित भए प्रचलित कानुनले दिएको दायराभित्र रही बाँचुन्जेल र मरेपछिको हकभोग, दानदातव्य गर्न सम्पतिमाथि व्यक्तिको अधिकारले दिइहाल्ला ! सन्तान भए पाका मान्छेले चाहे, सन्तानका दरसन्तान जो छन् तिनैमा सर्दै जाने त होला सम्पति भन्ने झन्झट ? अनि नातिपनातिको किटानी उल्लेख किन पर्छ होला ? पाका मान्छेले अनुभव र विचारका आधारमा आफ्नो सम्पति सार्वजनिक हितमा लगाउन सार्वजनिक सम्पति घोषणा पनि गर्न सक्लान् नि ?
न्युनतम सुबिधा, असहाय, हेरबिचार नगरिएको, जीवनयापन जस्ता कुराको सीमा र आवश्यक्ता व्यक्तिका योग्यता, आर्थिक अवस्था, आचरण, सामाजिक परिस्थिति, हुकाई, स्वास्थ्यस्थिति आदिमा निर्भर हुन्छन् । समग्रमा मौजुदा बर्ग स्रोत वा स्थितिमा आउने मनोवैज्ञानिक परिणामको उपज हुन्छ । एकजना पूर्व पदाधिकारी वा प्राध्यापकको उपरोक्त कुरामा सीमा र चाहना श्रमगरी खाने परिवारका पाका मान्छेसँग मिल्ला र ? त्यस्तै ठूला सहरबजारमा बस्ने र ससाना गाउँमा केन्द्रित पाका मान्छेको चाहना र आवश्यक्ता उस्तै होला र ? त्यसैले सरकारले नियमित कानुनी हिसाबले गर्ने सरसहयोग र पाका मान्छेका पक्षमा गरिने निर्णय उमेरजन्य कारणले पनि किटानी हुनु जरुरी हुन्छ ।
सामाजिक विभेद र राजनीतिक दाउपेचमा हुँडलिएको बर्तमान नेपाली समाज छ । एकै परिवारमा त अन्तरकलह विद्यमान रहेको अनुभूति गरेर नै पाका मान्छेका नियम बनेका होलान् ! छिमेकीले उजुर हाल्न सक्ने प्रावधानले गाउँ टोलमा मिलापत्रभन्दा छिमेकी झगडा निम्त्याउने सम्भावना बढि छ । किन कि सबैका समान मान्यता नहुँदा छिमेकीको असमान व्यवहार देखिनु अनौठो नहोला ! अनि झगडाको बिऊ त करेसामा फलिहाल्छ । बरु छिमेकी समुह मिलेर मिलापत्र र सहजता ल्याउन प्रयास गर्ने र समस्या नटुङ्गिए स्थानिय निकायमा लैजाने गरे पाका मान्छेको हित हुन्थ्यो कि ?
दुर्व्यवहारको मापदण्ड कति, स्तर कति ? कतिपय भाषागत, आर्थिक स्तर, जातिगत, क्षेत्रीय विविध कारणले बोलिचालीदेखि व्यवहार र क्रियाकलापयुक्त तरिका छन् नेपालमा । पछिल्लो खेप अधिकारकै लागि सय नाघेको छ जातजातिको सूचना र भाषिक विविधता । त्यसमा अझ धार्मिक हिसाब र अघिपछिको वर्गसमेत उल्लेख छ । एउटा समुहको मिठासपूर्ण बोली र लबज अर्को समुह र जातिलाई अभद्र सुनिन्छ । एकथरीको व्याख्या अर्कोले अर्कै सुन्नेबुझ्ने जातिगत, साँस्कृतिक र भाषिक विविधता नेपालको विशेषता हो जतिसुकै गफ गरे पनि । सबैलाई एउटै अस्पष्ट किटानरहित नापो र नियमले सँगेट्न सकिएला र ?
अन्त्यमा,
सरसरती पढदा र पाका मान्छेलाई छोराछोरीले निकाल्न नपाउने वा सन्तानलाई दण्डजरिवाना गरिन्छ भनेर उल्का हुन्न है । समाज विज्ञानको अध्ययन गरेर आर्थिक स्तर, क्षेत्रिय र स्थानिय विविधता, न्युनतम राज्यले टेको गर्ने स्तरको किटान, आदि बुँदामा गम्भीर ध्यान दिएर स्पष्टता भए विद्यमान समस्या हल होला । अन्यथा गुजुल्टिएको गाँठो फुकाउन अझ बलियो गाँठोको सञ्जाल बुनिएला र रैती एकआपसमा नै लडिरहलान्, समस्या बल्झिएला । समयमा नै होस् गरे हुने ।
बरु राम्ररी नेपाली समाज विज्ञान अध्ययन गरेर, पाका मान्छेका समस्या आर्थिक अवस्था, पारिवारिक स्थिति र उनीहरूको व्यवहारको लगत वडामा बनाउनु पर्छ । त्यसमा विभिन्न कोणबाट ब्याख्या विश्लेषण पनि गरेर निचोड निकालिनु पर्छ । त्यसपछि वडावडामा बिस्तृत लिखत राखी, वडाबाटै सहुलियत वा अनुदान भत्तासमेत स्थानिय अवस्था हेरी निरोपण गरिनुपर्छ । त्यसको समग्र रिपोर्ट तयार गरी तालुकवाला मन्त्रालयमा पठाउनु पर्छ । स्थानिय जनप्रतिनिधिले वडाबाट, केन्द्रीय प्रतिनिधि वा सांसदले मन्त्रालयबाट लिइहेरी लागेका राम्रा नराम्रा कुरा र गर्नुपर्ने थप संशोधन गरी भत्ताको निर्धारण गरे पो ‘दिएजस्तो र खाएजस्तो’ होला ! नत्र त हिउँदमा हुने अर्को चुनावमा मत सोहोर्ने नारा वा पाका मान्छेलाई हेपेर जुवा खालबाट जितौरी बाँड्याजस्तो हुँदैन र ज्येष्ठ नागरिकको नयाँ विधेयक ?
ल.पु. चालिसेडाँडा
२०७९ साउन १३
लेखकका अरु सामग्रीः
१. मेरा अहिलेका साथीहरू, फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२१ नेभेम्बर २७
२. बुढ्यौलीमा हामीले गर्ने कामहरू, फित्कौली डट कम अनलाईन, २०२१ दिसम्बर २८
३. हामीले किन यस्तो भोग्छौँ ?, फित्कौली डट कम अनलाईन, २०२२ जनुवरी ११
४. हामी जता भए पनि !, फित्कौली डट कम अनलाईन, २०२२ फरबरी ५
५. हामी यस्तैमा छौँ साथीहरू !, परिसम्बाद डट कम अनलाईन, २०२२ फरवरी ९
६. हामीलाई फुर्सद छैन, के गर्नु ? (१), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी १७
७. हामीलाई फुर्सद छैन, के गर्नु ? (२), फित्कौली डट कम अनलाईन, २०२२ फरबरी २४
८. हामीलाई फुर्सद छैन, के गर्नु ? (३), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ५
९. हामीलाई फुर्सद छैन, के गर्नु ? (४), फित्कौली डट कम अनलाईन, २०२२ मार्च २०
१०. कसरी पाटी बन्दैछन् घरहरू.. मकालुखबर डट कम अनलाईन, १४ चैत्र, २९ मार्च २०२२
११. हामीलाई फुर्सद छैन, के गर्नु ? (५), फित्कौली डट कम अनलाईन, २०२२ मार्च ३१
१२. बृध्दभत्ता- पहेँला अक्षता कि पिण्ड हो ? मकालुखबर डट कम अनलाईन, २२ चैत्र, २०७८, ६ अप्रिल २०२२
१३. हामीलाई फुर्सद छैन, के गर्नु ? (६), फित्कौली डट कम अनलाईन, २०२२ अप्रिल १३
१४. मेरा अहिलेका साथीहरू (परिमार्जित), फित्कौली डट कम अनलाईन, २०२२ मे ३, बैसाख २०, २०७९
१५. हामी हेपिने मान्छे हो र ? क्यानाडा नेपाल डट कम अनलाईन, ९ मे २०२२, बैसाख २६ २०७९
१६. हामीलाई एकै नापो काम लाग्दैन है ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, २०२२ मई १७, ३ ज्येष्ठ २०७९
१७. ज्येष्ठ नागरिकलाई बेवास्ता गरे बिकास हुन्छ र ? क्यानाडा नेपाल डट कम अनलाईन, २० मे २०२२, ज्येष्ठ ६, २०७९
१८. पाका मानिसलाई घरमै राख्ने (१) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन १२, ज्येष्ठ २९, २०७९
१९. पाका मान्छेका तथ्यकुरा बुझौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, १८ जुन २०२२, असार ४, २०७९
२०. पाका मानिसलाई घरमै राख्ने (२) ! फित्कौली डट कम अनलाईन, २०२२ जुन २१, असार ७, २०७९
२१. पाका मान्छेका कुरा सुनौँ ! क्यानाडा नेपाल डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
२२. पाका मान्छेका रोग तह लगाऔँ ! फित्कौली डट कम अनलाईन, ५ जुलाई २०२२, असार २१, २०७९
२३. पाको मान्छेलाई एक्लो नपारौँ ! फित्कौली डट कम अनलाईन, १७ जुलाई २०२२, साउन १, २०७९
२४. पाकोे मान्छेलाई एक्लोपनबाट जोगाऔँ ! फ्रेसन्युजनेपाल डट कम अनलाईन, १९ जुलाई २०२२, साउन ३, २०७९
२५. पाका मान्छेलाई यत्ति भए पुग्छ ! क्यानाडा नेपाल डट कम अनलाईन, २१ जुलाई २०२२, साउन ५, २०७९
Subscribe
Login
0 Comments
Oldest



































