चिहानपूजा
जुन् ठाउँलाई अलका-नगरी बतायौ ! त्यो ठाउँलाई मलका ढिकुरी बनायौँ ! आयौ भने अब यहाँ मुख, नाक थुन्नू ! पाइन्न पद्य-कविता, पप-गीत सुन्नू !
१
हे भानुभक्त ! कविका गुरुदेव ! मेरा !
आयौ नि बल्ल अहिले अरुणै तरेर;
हाम्रो छ यो नगर दुर्गम खाँदबारी,
राख्छौं त्रिचोकबिच मूर्ति गरी तयारी !
२
जातीय भानु कवि हुन् कतिले कहन्छन् !
क्वै चाहिं आदिकवि भानु भनेर भन्छन् !
सिङ्गो भए त कर-पाउ दुवै हुनेथे !
हौ क्या र आधि कवि, सालिक यो छ त्यस्तै !
३
नेपालमा यसघरी जुन दुर्दशा छ !
त्यस्को बयान गरुँ ता मन यो कुँढिन्छ !
जो छन्दकाव्य-बिरुवा पहिले उमार्यौ,
हामी मिलेर अहिले त्यसलाई मार्यौं !
४
छन् भानु ता गगनमा तर भक्त हामी;
भेला भएर उनको रचि मूर्ति दामी !
थाप्छौं ठुला सहरमा, छ जहाँ त्रिचोक;
साहित्यको तर यहाँ छ ठुलो बिजोक
५
जो पद्य लेख्छ उसको छ यहाँ न नाम !
जो गद्य लेख्छ कविता उसकै छ मान !
तिम्रा सुनामबिच राखि ठुलो इनाम !
बाँडिन्छ गद्य-कविलाई भनेर जान !
६
अध्यात्मयुक्त, जुन लेख्तछ पद्य-काव्य !
रामायणैसरि पवित्र कुरा भरेर !
हाँस्छन् नि गद्यकवि ती, उनलाई देख्तै !
भो लुप्त पद्य-कविता यसरी नभन्दै !!!
७
जुन् ठाउँलाई अलका-नगरी बतायौ !
त्यो ठाउँलाई मलका ढिकुरी बनायौँ !
आयौ भने अब यहाँ मुख, नाक थुन्नू !
पाइन्न पद्य-कविता, पप-गीत सुन्नू !
८
बालाजुमा अब कुनै कविता रहेन !
धाराहरू सुकिसके, जल नै बहेन !
छन् सुन्दरी जति सबै क्लब, होटलैमा !
नाच्ली र को, कवि तिमीसँग त्यो वनैमा !??
९
आपूm तिमी म त हुँ ब्राह्मण भन्दछौ ता !
क्वै नाचिदिन्न चपला अबला यहाँका !
रक्सी पिएपछि भने सब नाच्न थाल्छन् !
खाँदौन ता यदि सुरा, कुन नाच्न आऊन् !!!
१०
यो लोकभित्र जसलाई सुरा भनिन्छ !
स्वर्लोकभित्र त्यसलाई सुधा भनिन्छ !
बेश्या भनेर जसलाई यहाँ सराप्छन;
ती स्वर्गलोकतिरका मधु अप्सरा हुन् ।
११
हाँस्ने सबै युवतिलाइ भनेर वेश्या !
खेदो गर्यौ नि जिउँदो रहँदा अवश्य !
झन् ती गजाधरबुढीकन हुन् अलच्छिनी !
भन्दा भयौ नि कविजी ! कति दुर्मुखा तिमी !
१२
छुच्चा थियौ कवि ! तिमी र थियौ ठट्यौला !
राखूँ म कीर्ति भनि रामचरित्र लेख्ता !
भन्दैन क्वै पनि तिमीकन रामभक्त !
भन्दै छ मूर्ख दुनियाँ सब भानुभक्त !!!
१३
रामायणै नपढि को कविजी भयो र ?
तिम्रो त कीर्तिधन यै रचना छ हेर !
यैबाट नै अमरता मिलिगो त्यसैले,
थापेर सालिक खडा गरियो यसैले !
१४
यस्तै छ यो नगरको सब हालचाल,
साहित्य-दीपक यहाँ अबदेखि बाल !
विद्वान् ठुलो म हुँ भनीकन गज्किनेकन,
साहित्यको अमृत-बिन्दु पियाइदेउन !
१५
त्यसर्थ हे भानु ! तिमी खडा भई
साहित्यको पाठ यहाँ पढाउ है !
लेखून् सबैले कविता नयाँ-नयाँ
समाज-सापेक्ष गरेर कल्पना !!
१६
अचेल श्रद्धा यसरी गरिन्छ कि,
पुजिन्छ थापेर शिला मरेपछि !
ज्यूँदो हुँदा याद गरिन्न क्यै तर,
चिहान पुज्ने चलिगो परम्परा !
विराटनगर