सोमराज ‘अभय’सर्वश्रेष्ठ
"रे मूर्ख, तिम्रा छोराहरूको नामै छैन भने, तिमीले त्यस्तो वस्तु पाउने छैनौ ।" मैले त्यसपछि विचार गरें ! मेरा ती हराएका छोराभन्दा त, तिनको नाम नै सर्वश्रेष्ठ रहेछ ।

साेमराज अभय :
हे अविनाशी !
तिमीलाई भेट्न भनेर मैले
कैयौं जन्म ग्रहण गरेर
असङ्ख्य चक्कर लगाइसकें !
हे शाश्वत-सनातन, ज्योतिरूप !
यस जन्ममा पनि मैले
तिमीलाई भेट्न सक्छु कि भनेर
जीवनका साठी वसन्त खर्च गरिसकें ।
तर खै, भेटियौ र ?
मैले भेटेसम्म नामहरू सुखदुःखका !
अनाम भएर शब्दार्णवमा बगिसके !
मेरा अगिल्ला तमाम जीवनहरू पनि
नामशेष बनिसके !
मेरा पछिल्ला जन्महरू पनि
नामावशेष रहनेछन् !
के भनूँ !
यस जीवनमा मैले
दुइटा छोरा पाएको थिएँ !
एउटाको त नाम पनि थियो,
तर अर्काको नाम राखेकै थिइँन !
दुवै समान रूप, वर्ण र उमेरका थिए,
मेरो जीवनमा
ठूलो भूइँचालो आएको बेला !
ती मेरा दुवै छोरा हराए !
वेपत्ता भए !
मैले असङ्ख्य शास्त्रजङ्गल छिचोलेर,
अनन्त गुरुपरम्पराको आड लागेर,
नाम भएको छोरो चाहिं पाउन सकें !
तर, नामैविनाका छोराको भने
पत्तो लाग्न सकेन !
म प्रेमाभिभूत भएर त्यसको
खोजी गरिरहन्थें !
मेरो व्यर्थको खोजी देखेर
एक जना सज्जनले भने-
“रे मूर्ख, तिम्रा छोराहरूको नामै छैन भने,
तिमीले त्यस्तो वस्तु पाउने छैनौ ।”
मैले त्यसपछि विचार गरें !
मेरा ती हराएका छोराभन्दा त,
तिनको नाम नै सर्वश्रेष्ठ रहेछ ।
०००
विराटनगर
अनुगुञ्जन (२०६२)
Subscribe
Login
0 Comments
Oldest







































