साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँटको पुस्तक !

मूर्खहरू पनि ढाँटका पुस्तक हुन् जो सज्जनका डाहाले जीउँदै मर्न खोज्छन् । राष्ट्रिय विकास र निर्माणका ठुल्ठुला आयोजनाहरू पनि ढाँटकै पुस्तक हुन् किनभने जसबाट एकाधजना लाउकेले मात्र फाइदा हात लगाउँछन् ।

Nepal Telecom ad

सोमराज अभय :

अचेल मलाई स्वतः स्फूर्त रूपमा सानैदेखि सिक्तै ल्याइएको यौटा कुराबाट विमुख भए झैँ लाग्न थालेको छ। मैले सिकेर आफैलाई जाने जस्तो लाग्ने त्यो कुरा लेखनकला थियो र दुनियाँलाई ढाँट्न त्यस कुरामा सामर्थ्य पनि थियो। तर अब त्यो कुरा मान्छेको बुढ्याइ झै मभिन्नै बुढिन गएको मलाई आभास हुँदैछ । अब त्यो कलामा सरसता र सजीवता छैन जस्तो लाग्छ। अचेल मेरो भावनाको कल्लोल शून्य छ र कल्पनाको उडान स्तब्ध हुन थालेको छ । मेरो आफ्नै खोजीको विषय हो, कसरी यस्तो भयो भन्ने थाहा पाउनु ? मेरो अन्तर्मन दुर्गुणमा लठ्ठिने खालको छैन, बहिर्मन दुर्गुणी भए पनि । मभित्र कल्पनाको स्रोत सुक्न थालेको विदित हुन्छ।

त्यसैले मेरो लेखनकला तित्राको मुखै वैरी भनेजस्तो हुन्छ कि भनेर पातर कुरो लेखेर आत्मसन्तुष्टि लिएको पनि छुइँन जस्तो लाग्छ र मैले लेख्ता दुनियाँका निमित्त काम लाग्ने कुरा लेख्नुपर्छ भन्ने सचेत सुन्दर बोध पनि छ र कल्पना फुरे पनि नफुरे पनि केही लेखेर नै छोड्छु। कुरो के भने मैले सानैदेखि साँच्चो कुरा लेख्नुपर्छ भन्ने भावबोध गरी लेख्न थालेको हुँदा त्यो लेखाइ कविता-लेख आदि हुन पुगेछ । यो अनुभव भयो धेरै पछि। र अहिलेसम्म पनि लेखाइमा म काँचै छु। तैपनि सच्चा लेखनकलामा स्फुरणका साथै जोस र जाँगर पनि थपियो भने त सुनमा सुगन्ध थपिने रहेछ । अशुद्धिहरू शुद्ध गर्न सकिने रहेछ । बुढेसकालतिर पुगेको, क्षीणमस्तिष्क भएको मान्छे जे भनोस्, सुनिदिने व्यक्ति त एक अबोला पाठकबाहेक अर्को को छ र ? हेर्नोस्न । कवि-लेखकको दिन-दशा ! उसका त बोल्ने चाल्ने पाठक पनि पो नास्ति !!! आफूले आफैलाई कस्तो बुझियो ? त्यही अमूर्त भावलाई शब्दको सहयोग लिएर मूर्तिमान् बनाउनु नै त कालीगडी हो क्या रे! संभवतः मेरो भावबोध पनि मै झै अपरिपक्व छ।

यस महत्वपूर्ण कुरामा एकछिन घोरिन नपाई आशंका हाब्रे मुख बाएर मलाई साध्छे-“के तिम्रो आत्मोन्नति भएको छ ?” जवाफ छाम्छु अहँ ! यथार्थ अगाडि थियो किनभने आजसम्म न कुनै एक विषयको मापन (डिग्री) लिन सकिएको होस्, न दस बीस हजार रूपैयाँ ब्यांक ब्यालेन्स गर्न सकिएको होस् । न छोराछोरीहरूलाई राम्रा स्कुलमा पढाउन सकियो, न आरामदायी घर बनाएर सहर बजारमा बस्न सकियो। यहाँसम्म कि काखकी स्वास्नीको पनि चित्त बुझाउन सकेको छैन। यस्तो स्थितिमा आत्मोन्नति कसरी हुन सक्छ र ? आत्मावनति पो बरु भैरहेको छ। शिथिल मस्तिष्क लिएर स्कुलमा पढाउने शिक्षक जस्तो यद्वा मुद्रा सटही गर्ने सर्राफी जस्तो आफ्नो विशिष्ट स्थितिमा स्वाभाविक छ – मलाई दुःख लाग्ने नै भयो। म आफ्नो द्रव्यधूर्त मानसिकतालाई सत्य-समक्ष कसरी ढाँटेर प्रकट गर्न सक्छु र ? म दीपक जूनकीरी ! सूर्य-समक्ष कसरी टल्किन सक्छु र हिजोआज म क्षीणमुद्रामा उदासीन रहेर उज्यालोको आशामा दुःखका लामा दिनहरू बिताइरहेको छु ।

यस्तो भए पनि जीवन-बोध रसमय नै लाग्दछ र सोच्तछु तर के ललितकला भनेको खालि भूलभुलैया र क्षणिक रमझम मात्रै हो त ? यसमा गुदी, बीयाँ क्यै छैन ? मलाई शंकाले शाकिनीको जस्तो झन् ठूलो हाब्रो पारी निल्न खोज्दै भन्छे-“तेरै टाउकाको सिंगानजस्तो गिदी पनि सुकेर पाप्रिन थालेको छ।” बस्तुतः मान्छेको जात स्वार्थी हुन्छ, ऊ आफ्नो समस्त बुद्धि र कौशलबाट दुनियाँलाई ढाँट्न, झुक्याउन र आत्मोन्नति गर्नपट्टि नै क्रियाशील रहन्छ । संसारमा मान्छेको चरम सत्य यसरी नै प्रकट भएको पाइन्छ। मान्छेको जात आफैले नाना भ्रम सिर्जना गरी आफ्नै छायासँग त्रस्त भएर बाँचिरहेको छ। भ्रम सृजना गर्न मान्छेले जति अरू पशुहरूले सक्तैनन् र यसको उद्देश्य आफूपट्टि स्वार्थको दुनु सोझ्याउनु रहन्छ । स्वार्थलाई मान्छेले राम्ररी चिनेकाले आफ्ना मन-मस्तिष्क र घरहरूमा पालिराखेको हुन्छ नोकर पालेझैँ ! पहिले “गरीबका मसीहाहरू” भूमिहीन, सर्वहारा, किसान र मजदुर आदि गरीबवर्गको नाम बेचेर देशोन्नति गर्ने लक्ष्य राखेर अगि बढेकाजस्ता लाग्थे, तर अधिकांश गरीबवर्ग आफ्नै ठाउँमा रहेको देखिन्छ र आर्थिक हालतले पातलिंदै, दुब्लाउँदै गएर अन्ततोगत्वा मरिरहेको छ ।

गरीबवर्ग अधिकांश देशमा गरीबै भएर बाँचेको छ। प्रजातन्त्र आदि कारणले पनि उल्लेखित वर्गको अभ्युदय भएको छैन। तर नव-सामन्तको अभ्युदय भइरहेछ । धर्म गरिन्छ ईश्वरको नाउँमा-फाइदा उठाउँछन् पण्डाले । परिवेश र परिस्थिति बेमौसममा पनि परिवर्तित भइरहन्छन् । कैयौं तानाशाही संसारमा मासिएर गए भने कति नयाँ तानाशाहीको प्रादुर्भाव पनि भएको छ। नयाँ तानाशाहहरू गरीबका पक्षपाती छैनन्, स्वार्थका पक्षपाती छन् । संसार विनाशशील छ। यस मृत्युलोकमा नमर्ने प्राणी जन्मिदैन। राम, कृष्ण, ईशा, बुद्ध, गान्धी, मार्क्स सबै मृत्युको गर्भमा बिलाएका छन् । उनीहरूले दिएको ज्ञान पनि कालान्तरमा मृत्युकै गर्भमा विलीन हुने आभास पाइन्छ । यस्तोमा जसले जे बोले, लेखे पनि बकवास मात्र सिद्ध भएको छ । अहिलेको चातुर्य वा विज्ञान रोगी युवकलाई युवती अप्सराझैं भएको छ।

जहाँसम्म हाम्रो मुलुकमा मान्छेको जातका व्यक्ति र दलहरूको स्वभावको सवाल छ, ती सबै वनैया भेडाबाख्रा र बाघभालूहरूका बथान मात्रै रहेछन् जस्तो भान हुन्छ । लाग्छ कुइगन्धे सिनुमा काग र कुकुरहरू झुत्ती खेलिरहेका छन्, एकापसमा टोकाटोक गर्दै। स्वार्थको बजार यसरी गम्किएको छ कि त्यहाँ निःस्वार्थी व्यक्तिहरू छिर्नै सक्तैनन् । कुरा गर्न जान्ने त धेरै हुन्छन् तर नेपाली जातिमा त खेतीजस्तो मामुलीपेसा गर्न जान्ने पनि पो निकै कम छन् । तर व्याख्याताहरू बताउँछन्- “नेपाल कृषि प्रधान देश हो” यदि देश कृषिप्रधान देश भए देशवासीहरूले किन वैज्ञानिक ढंगले खेती गरेर अन्नोत्पादन द्विगुणित गर्न सकेनन् ? र, खाद्यान्नको अभाव पूर्ति गर्न सरकार भारत या अमेरिकासंग गहूँ र चामल किन किन्दै छ ? यस प्रश्नले मलाई यसरी रन्थन्याउँछ कि मेरो मगजका सुकिसकेका
गिदीका पाप्राहरू पनि चर्को घामले चट्टान फुटेझैँ चोइटिन्छन् । अनि मलाई यकिन हुन्छ मेरो लेखन कार्य पनि ढाँटकै पुस्तक हो र यस्ता ढाँट कुराहरू भाटशास्त्र हुन् र दुनियाँका तमाम बुद्धिजीवी नै ढाँट कुरा भएको भाटशास्त्रका विश्वविख्यात प्रणेता रहेछन् जस्तो भान हुन्छ । नेपाल कृषिप्रधान देश हो भन्नु दुनियाँलाई ढाँट्न मात्र बोलिएको हो भन्ने कुरा एतावता छर्लङ्गिन्छ।

अहिले मेरो देश र परिवेशभरि दृश्यचित्र बनेर रहेको जगतमा मैले केही ढाँटका पुस्तकहरूको बयान तयार पारेको छु, जसलाई मेरो मौलिक चिन्तन भनेर ढाँट्नु नै मेरो कर्तब्य भइरहेको छ। मैले जानेका विश्व-लेखक मध्ये सबभन्दा धेरै लेख्ने कृष्ण द्वैपायन (वेदव्यास) हुन् । उनले धेरै कुरा त आफूले जानेर नै लेखेका छन् भने केही थोरै कुरा चाहिँ नजानेर पनि लेखिदिएका छन्। उनको काम त लेख्न मात्रै थियो। उनी पछिका कालिदास, भवभूति, सेक्सपिअर, मैक्समूलर, गेटे, दाँते आदिले व्यासले ढाँटेका कुरालाई पछ्‌याएर लेखे। मलाई त यस्तो लाग्छ कि वेदव्यासले पनि चरमसत्यलाई लेखेर पाउन सकेनन् र आफ्ना समस्त इन्द्रियलाई केन्द्रित गरेर चिन्तन मनन र अध्ययन गर्दा पनि सही सत्य नभेटेकाले केही ढाँटकुराहरू लेखिदिए, जुन कुरालाई देवकोटाको भाषामा “वमन-वेदान्त” भनिन्छ । तिनकै छादमा रिड्ने झिंगा भुसुनाहरू नै अहिलेका योगी, विद्वान् र दार्शनिक वा महात्मा रहेछन् जस्तो लाग्छ ।

सन्सारमा ढाँटको पुस्तक पढेर साध्य छैन । एउटा आफ्नै उदाहरण-म दिनभरि आफूचाहिँ गाउँमा गएर बाहमासे जुवा खेली घर आउँछ र स्वास्नीलाई अफिस गएको थिएँ भनेर ढाँट्न कोसिस गर्छु। त्यसैगरी मेरो साथी चाहिँ उच्चकोटिको रक्सी खाएर रातभरि आधुनिक क्लबमा नाचेर घर आई फिल्म हेर्न गएको थिएँ भनेर ढाँट्तछ । एउटा बूढो मानिस, आफ्नो बुद्धि र धन खर्चेर तरुनीहरू फसाई रातोदिन हरिभजन गरेको स्वाङ पारी तमाम दुनियाँलाई ढाँटिरहेको छ। एउटी गाउँले युवती दिनभरि वनको पोइलाई चाप्रे खुवाएर आउँछे र दाउरा खोज्न गएकी थिएँ भनेर घरमा ढाँटी दिन्छे । अर्की नगरवधू (बजारिया युवती) क्लबमा रातभरि नाचेर आउँछे र माइत गएकी थिएँ भनेर ढाँट्दछे । एउटा शिशु वा किशोरवयको मान्छे आफ्ना बाबुआमालाई हज्जारौं सानातिना कुरामा ढाँटिरहेको हुन्छ, झुक्याई रहेको छ। मलाई त के लाग्छ भने सारा मानिसहरू ढाँटका पुस्तक रहेछन् । पशुहरू यति विघ्न चलाख नहुनाले ढाँट्न सक्तैनन् । प्राणीहरूमा मनुष्य चलाख हुनाले ढाँट्न, छल्न र झुक्याउन माहिर छ।

गहिरिएर सामाजिक अध्ययन गर्दा यस्तो लाग्छ कि कवि लेखकहरू दुनियाँलाई काल्पनिक उटुङ्ग्याई झिकेर मनोरञ्जन गराउने चारणजस्ता लाग्छन् र तिनले लेखेजति यथार्थमा सबै ढाँटका पुस्तकहरू हुन् । राजनैतिक व्यक्तित्व त झन् ढाँटको पुस्तक हो किनभने उसले दुनियाँका छोरालाई अन्तर्राष्ट्रिय खुला बजारमा बेचेर आफ्नो गाँठ बढाउने उद्योग गरी ढाँटिरहेको देखिन्छ । मानिसलाई चाहिने असल शिक्षा हो। शिक्षाको आधार प्राथमिक शिक्षा हो। तर एउटा शिक्षक दुनियाँका छोराछोरीलाई छडीले पिटेर

भेडाबाखा बनाई शिक्षा दिएको अभिनय गरेर शतचूर्ण पारी ढाँटिरहेको छ। जन्माउने बाबु पनि ढाँटको पुस्तक हो, जो स्वास्नी मन नपरेको खण्डमा आफ्नै वीर्यबाट जन्मेका बच्चालाई पनि अनुत्तरदायी रिसको झोंकमा मेरो सन्तान होइन भन्ने अदालती प्रमाण पुऱ्याई ढाँटिरहेको हुन्छ। आमा उस्तै ढाँटको पुस्तक देखिन्छे-जसले आफ्ना सन्तानलाई सही बाबुको सुईकोसमेत दिन्न । विद्यालयीय औपचारिक रूपमा पढाइने ढाँटका पुस्तकहरूमा मान्छेलाई “अल्छे तिम्रो, स्वादे जिब्राे” बनाइएको हुन्छ । किनभने उच्चशिक्षा दिने प्राध्यापकहरूले र विद्यार्थीहरूले प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू जम्मै, ढाँटका पुस्तक यस मानेमा ठहरिन्छन् कि त्यो प्रमाणपत्रधारी प्रत्येकले परीक्षामा “चीट” गरेकै हुनुपर्छ । अझ बहुदलीय चुनाव पनि ढाँटकै पुस्तक भयो किनभने जसमा जसरी भए पनि चुनाव जित्ने लक्ष्य राखेको हुन्छ। डाक्टरहरू पनि ढाँटका पुस्तक हुन्, जो मरिसकेकालाई पनि जीउँदै छ भनेर औषधोपचार गर्छन्। न त मर्नेलाई बचाउन सक्छन्। इन्जिनियर र ओभरसियरहरू त झन् ढाँटका पुस्तक भैहाले, जो पाँच वर्ष पनि नटिक्ने पुल, नहर र भवन आदिलाई पचास वर्ष टिक्ने भनी ग्यारेन्टी दिन्छन् । मूर्खहरू पनि ढाँटका पुस्तक हुन् जो सज्जनका डाहाले जीउँदै मर्न खोज्छन् । राष्ट्रिय विकास र निर्माणका ठुल्ठुला आयोजनाहरू पनि ढाँटकै पुस्तक हुन् किनभने जसबाट एकाधजना लाउकेले मात्र फाइदा हात लगाउँछन् । त्यसैगरी ग्रामीण विकास गर्ने चटकी उद्घोषणले पनि गाउँलाई ढाँटेर सहरकै विकासमा मात्र बल पुऱ्याएको देखिन्छ।

यसरी दृश्यचित्र हेर्दा कहिले त वाक्क लागेर ठहऱ्याउँछु बरु पशुको जीवन सही होला । तर फेरि जताततै विरोधाभास देख्छु र मलाई लाग्दछ मानव मस्तिष्कका समस्त सिलबिले कोषीय डिम्भहरू एकार्काका प्रतिक्रियावादी अणु-परमाणुहरू हुन् । त्यसैले म अरूलाई चैं ढाँटको पुस्तक भनेर आफू सच्चाइमा छु भनूँ भने पनि मैले लेखेको जति त सबै ढाँटको पुस्तक हो भनेर माथि नै मैले यसै लेखमा स्विकारिसकेको छु। गुदी, बीयाँ क्यै छैन ! कस्तो संकटमूलक विरोधाभास ! त्यसर्थ के पनि प्रमाणित हुन्छ भने-यो लेख र यसको लेखक दुवै ढाँटका पुस्तक हुन्। अनि यो लेख पढ्ने, सुन्ने र यसभित्र पनि गुदी, बीयाँ देख्ने महाशयहरू त आँखामा रतन्धो भएका झन् ढाँटको पुस्तक ठहर्छन् कि भन्ने संझन्छु ।

०००
विराटनगर
ढाँटकाे पुस्तक, निबन्धसङ्ग्रह (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
विकास कि विनाश ?

विकास कि विनाश ?

सोमराज ‘अभय’
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x