फित्काैली डटकमछातीभित्र – पृथ्वी
पृथ्वी के ले बनेको छ ? सायद बिचार र दर्शनको गहिराईले वा, समर्पणको उचाइले वा, समझदारीको पूलले अब कोलम्बसले देशको सुरक्षा गर्न बोक्नुपर्ने छ छातीभित्र – पृथ्वी ।

ऋजन मायालु :
(विमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता -२०८२, धरानमा प्रथम स्थान हासिल गर्न सफल ऋजन मायालुकाे कविता !)
बेलुकीसम्ममा हत्या हुनसक्छ
विहानै सग्लो उभिरहेको
बषौँदेखि लोपोन्मुख सेपियन्सलाई
ओथारो बस्नलाई ओत दिइरहेको एउटा बुढो –
सिमलको रुखको
एक झोँका हावा हुरी बनेर च्याब्रुङ नाचिसकेपछि
कोलम्बस उध्याइरहेको छ झरिलो आगोको बिऊ
बाल्नलाई उज्यालो – यात्रामा निस्कनुअघि
उसले बोकेको छ –
सेतो खाली कागज, स्केल र तिखारीएका पेन्सिल
कोर्नलाई नयाँ नक्सा
पत्ता लगाएपछि नयाँ सिमानाको
उसले –
सिमानाभित्र बनाउन जरुरी छ
बारुदी बम, पनडुब्बी, जेट प्लेन
या रसायनिक अत्याधुनिक हातहथियार
उसले –
सिक्नुपर्नेछ गुरिल्ला युद्धका टेक्निकहरु
खडा गर्नुपर्नेछ साइबर सैन्य
बाट्नुपर्नेछ कडा सुरक्षा प्रणालीको डोरी
हरेकका लागि –
छुट्टै बनाउनुपर्नेछ भूमिगत सुरुङ
थन्क्याउनुपर्नेछ बाँच्नलाई अत्यावश्यक सुरक्षा किटहरु
नभए उसले –
भोक विना बाँच्ने मान्छे बनाउनुपर्नेछ
महामारीले नछुने मान्छे बनाउनुपर्नेछ
संवेदना भएको मान्छे नजन्मिने वस्ती बनाउनुपर्नेछ
फूलको सट्टा रोप्नुपर्नेछ – हाइड्रोजन फ्युजन
रुखको सट्टा रोप्नुपर्नेछ – विद्युतिय पोलहरु
जराहरुजस्तो कुदाउनुपर्नेछ – शक्तिशाली इन्टरनेटका हाइस्पिड क्रोमोजोम
फेरी एकपटक भुगोलभरी कुहिनेछन –
हाडजस्ता फलामहरु
रक्तनलीजस्ता सुरुङहरु
नशाजस्ता तारहरु
दिमागजस्ता हार्डड्राइभ र मेमोरी पावर हाउसहरु
फूलको बास्ना भन्दा धेरै फैलनेछ बारुदको गन्ध
हावाको गति छोडेर कुद्नेछन साइवरयुद्धका साइवर सेना
पृथ्वीको बीचमा उभिएको
बषौँ पुरानो सिमलको रुखले
हिउँदमा फेरेर पालुवा
बसन्तमा रातो गुलावी सुन्दर फूल बोकेर
स्वागत गरिरहेछ – मिलेनियम, जेन–जी र अल्फाहरुलाई
त्यसको दानाबाट निस्किएपछि सुकोमल रुई
इन्टरनेटको हाइस्पिड नेटवर्कभित्र सुस्तरी सुस्तरी नाच्दै
गाइरहेछ – मृत्युगीत
बेलुकीसम्ममा हत्या हुनसक्छ
विहानै सग्लो उभिरहेको
बषौँदेखि लोपोन्मुख सेपियन्सलाई
ओथारो बस्नलाई ओत दिइरहेको एउटा बुढो –
सिमलको रुखको
हत्याराले ढलेको सिमलको रुख काटेर दाउरा बाल्दै
बाँकी रहेको काठको फेरी उभ्याउनसक्छ चिटिक्क परेको घर
त्यही घरभित्र सुरक्षित बसेर फेरि कोर्न सक्छन्
अर्को खतरनाक डिजिटल युद्धको खाका
ज्ञानइन्द्रिय र कर्मइन्द्रियले बन्छ शरीर
पृथ्वी के ले बनेको छ ???
सायद बिचार र दर्शनको गहिराईले
वा, समर्पणको उचाइले
वा, समझदारीको पूलले
अब कोलम्बसले देशको सुरक्षा गर्न बोक्नुपर्ने छ
छातीभित्र – पृथ्वी ।
०००
Subscribe
Login
0 Comments
Oldest












































