बुढ्यौलीको व्यथा
बडो भव्य नेता बनी बाँच्न खोजें, सधैँ बाँच्छु जस्तो गरी नाच्न खोजें , न ता काल टार्ने कुनै शक्ति पाएँ , वृथा उग्र आन्दोलनैमा रमाएँ ।
गए दाँत फुक्लेर थोते बनें यी
सबै केश पाकेर सेता भए यी
न ता कानले सुन्छ,आँखा न देख्छ
शरीरैभरी चाउरीको मुजा छ ।
खलाँती चलेझैँ बडो शीघ्र शीघ्र
बढी आउने श्वास प्रश्वास तीव्र
गरूँ काम भन्दा न गर्नै सकिन्छ
न ता बाँच्न चासो न मर्नै सकिन्छ ।
अहो वृद्धताले जसै गाँज्न थाल्यो
अनेकौँ महारोगले झन् सतायो
न सम्पत्ति, पत्नी न ता पुत्र, मित्र
हुँदैनन् कुनै जानुपर्दा म साथ ।
मलाई सबै थोक यी चाहिने हुन्
म मात्रै धनी भारि विद्वान् हुने हुँ
भनीकिन्तु धर्तीविषे जो कमाएँ
बचायो न त्यल्ले, न आफै म बाँचें ।
बडो भव्य नेता बनी बाँच्न खोजें
सधैँ बाँच्छु जस्तो गरी नाच्न खोजें
न ता काल टार्ने कुनै शक्ति पाएँ
वृथा उग्र आन्दोलनैमा रमाएँ ।
मुठी बाँधिआएँ यहाँ आउँदा म
मुठी खोलि जाँदैछु जाँदा कता म ?
नजानी नजानी गरें व्यर्थ काम
खरानी भयो देहसाथै तमाम ।
त्यसैले सधैँ सत्य छामेर लेख्छु
अरूको कुरा कान थापेर सुन्छु
फुटानी गरेझैँ सबैको भनाइ
वृथा लाग्छ सारा कुरा यी मलाई ।
०००
विराटनगर