साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुपियाँ-पैसाको लात्

Nepal Telecom ad

हनुमानलाई आफ्नो असिम तागतको कुनै पत्तौ नै थिएन । बुज्रुग जाम्बवानले त्यसबारे विस्तारपूर्वक बताएपछि मात्र हनुमानले सीताको खोजमा हजारौं योजन लामो समुद्रलाई वेगवान भई नाघेका थिए । रामायणको पानामा यस्तो कथाको वर्णन छ । तर यहाँ जुन हनुमानको उल्लेख हुन गइरहेको छ, त्यो पौराणिक रामकथाको नभएर यहींको हो । अर्थात् स्थानीय हनुमान । मेरो नगरको दुई नम्बरको कारोबार गर्ने एक नम्बरको धनीमानी सेठ हनुमानदास सो नथालिया । संयोगले सेठको मुनिमको नाम हो- जाम्बवानप्रसाद कर्ण । सेठ हनुमानदास र उनको खासमखास मुनिम जाम्बवान प्रसाद, मेनरोडस्थित र्फम ‘हर-गोविन्दराम-हनुमानदास’को मुख्य गद्दीमा रहेर कुराकानी गरिरहेका छन् अहिले । होइन, यो वर्षको दुई नम्बरी व्यापारको नाफा-घाटाको विषयमा होइन । दुवै अचम्मैले मुलुकको वर्तमान राजनीतिको गफ गरिरहेका छन् ।’मुनिमजी, समानुपातिकको नाम हेर्नुभयो ?’
‘के समानुपातिक सेठजी ?’ बहीखाताको पातोबाट मुनिम जाम्बवानप्रसाद टाउको उचाल्छन् ।
नेपाली कांग्रेसको समानुपातिक सभासदको नामावली । सेठ हनुमानदास आफ्नो भनाइलाई प्रस्ट पार्छन् ।
‘के भयो सेठजी ?’
‘मेरो नाम नै आएन त्यहाँ मुनिमजी ।’ सेठको मोटो आवाज अझ मोटो भएर निस्कन्छ, ‘कैसा-कैसा फटिचरहरूका नाम छ त्यसमा, मेरो नामै छैन ।’
यो त सरासर कांग्रेसको बेइमानी भयो सेठजी । मुनिम नाक तल झरेको गोलचस्मा मिलाउँछन् ।
यसले त हाम्रो र्फमलाई काफी घाटा हुने भयो ।
सेठ हनुमानदास प्रश्नको एकजोडी आँखाले बहिखातासँगै चपक्क टाँसिएर बसेका आफ्नो निकै पुरानो मुनिम जाम्बवानप्रसादलाई एकहोरो नियालिरहेका छन् ।
यो राजनीतिमा र्फमको बहुत रुपियाँ गइसकेको छ, सेठजी ।
‘कितना मुनिमजी ?’
यही सब मिलाएर एकानब्बे लाख एक्काइस हजार एक सय एघार नगद रुपियाँ । मुनिम बहिखाताको पानामा पुरै टाउको घुसारेर ठ्याक्कै अंक निकाल्छन्, खुद्रा चन्दा-सन्दाको हिसाब यसमा तानिएको छैन, सेठजी ।
नेतापत्नीहरूलाई घर-घरमा भेजिएको महँगा जरीवाल जयपुरी साडी, उनका बालबच्चाहरूलाई झुन्झुनुबाट मगाइएको स्पेसल मिठाइको डब्बा र राजधानीबाट आएका नेताहरूलाई पिलाइएको विदेशी दारुपानीको पैसा पनि यसमा आएको छ या छैन, मुनिमजी ?
सब लटरपटरको हिसाब-किताब गर्नु त बाँकी नै छ, सेठजी । मुनिम जाम्बवानप्रसाद पावरदार चस्माको कुनोबाट भेदपूर्ण ढंगले हेर्छन् । अनि बेतियाबाट बोलाइएको बाइजीको खर्चा केमा मिलाउने सेठजी ?
‘उचन्ती खातामा ।’ एक्कासी हडबडाउँछन् सेठ हनुमानदास, ‘होइन-होइन, लंगडाखानाको दुःखी गरिब लोगलाई दान-सहयोग गरेको धर्मखातामा डालिदिनोस्, मुनिमजी ।’
मुनिम जाम्बवानप्रसाद कर्णको सेतो टोपीवाल टाउको ढड्डु बहिखाताको खोलमा नाकैले छोलाजस्तो गरेर पुगेको छ । केही पर गोलतकियामा केही ढल्किएर बसेका सेठ हनुमानदास सोनथालियाको कालो अनुहार चिन्ताको बादलले ढपक्कै ढाकिएर झनै कालो देखिएको छ । यो नगरको एक प्रमुख कारोबारी र्फम हरगोविन्दराम-हनुमानदासको गद्दीको वातावरण एक प्रकारको अदृश्य भारीपनले थिचिएको छ । मुनिम घरि-घरि निहुरिएको ढाडलाई सोझो पार्ने प्रयत्न गर्छन् । अनि लगत्तै मेरुदण्ड फुकालेर फेरि बहिखातामै टाँसिन खोज्छन् । केही बेरपछि सेठ आफैंमा ओठबाट स्पष्ट-अस्पष्ट ध्वनि निकालेर बर्बराउँछन्, ‘सब चौपट…पक्का कहकर पनि सभासद आएन…जिल्ला सभापतिले तो विन्दवासिनीमाईको कसम खाकर…कुत्ता धोकेवाज नेता…हरामीनन्दन पिह्ला…घटिया मादर…।’
‘ऐभी कुनै राजनीति हो, मुनिमजी ?’ एक्कासी सेठले बेस्सरी कराएकाले बहिखाताभित्र पसेका मुनिम आत्तिएर बाहिर निस्कन्छन् ।
‘यो तो नेतागिरीको नाममा पुराकापुरा चुतियागिरी भयो, मुनिमजी ।’
‘हाँ सेठजी ।’ सेठको भनाइमा सही थाप्छन्, मुनिम ।
‘सब बर्बाद भयो ।’
अहिले पनि केही बिगडेको छैन, सेठजी । सेठलाई दुःखित देखेर मुनिम बहिखातालाई एकहात पर धकेलेर भन्छन्, ‘सेठजी, अहिले पनि कांग्रेसको सभासद बन्ने मौका गुमेको छैन ।’
अरु जोर लगाउनुपर्योन, सेठजी । सेठलाई चुपचाप मुद्रामा पाएर मुनिम जोरमा जोर दिन्छन् ।
‘इस वर्ष एक करोड जितना खतम भइसक्यो ।’ सेठको मोटो स्वर मुनिमको कानमा ठोक्किन्छ, ‘एक समयमा मेरो पूज्य पिताजीले कांग्रेसको वीपी कोइरालालाई
चुनावमा पार लगाउन भारी रकम दिएको थियो ।’
‘स्वर्गीय दादाजी हरगोविन्दरामले पनि वीपी कोइरालाको पिताजीलाई चन्दादान गरेको जिकिर पुरानो बहिखातामा छ, सेठजी ।’ मुनिम झटपट पुरानो याद दिलाउँछन्, ‘कांग्रेससँग हाम्रो र्फमको धेरै पुरानो रिस्ता छ ।’
‘लेकिन के फाइदा भयो ?’ सेठ हनुमानदासको मोटो आवाज फाट्छ, ‘मेरो नाम कांग्रेसको समानुपातिक सभासदमा आएन, मुनिमजी ।’
‘आउँछन्, अब पनि आउँछ, सेठजी ।’
‘कसरी मुनिमजी ?’
‘हाम्रो गाउँमा एउटा कहावत छ, न हात में न बात में, बहुत दम हुन्छ रुपियाँ-पैसाको लात् मंे, हाँ, कांग्रेसको सभासद पनि यही रुपियाँ-पैसाको लात्ले फटाफट खिचिएर आउनेछ, सेठजी ।’ मुनिमको हौसलापूर्ण आवाज र्फम हरगो विन्दराम-हनुमानदासमा सनसनाएर गुञ्जिन्छ ।
‘यही चक्करमा इतना तो खर्चा भइसक्यो ।’ सेठको मोटो आवाज एकदमसँग पातलिन्छ, ‘घाटाको सौदा कितना गर्ने मुनिमजी ?’
‘यो साल हाम्रो र्फमलाई बहुत नाफा भएको छ, सेठजी ।’
सेठ हनुमानदास आफ्नो फाल्तु बोसोले कसिकसाउ गर्दनलाई अप्ठ्यारोसँग घुमाएर मुनिम जाम्बवानप्रसादलाई हेर्छन् ।
‘कपडा, गल्ला र सिमेन्टको कालाबजारी, मिसावटवाला तेलको निर्यात, चाइनिज मालको तस्करी, भाँग-गाँजा-अफिमको थोक सप्लाइ, लाइसेन्ससहितको नक्कली दबाइको बिक्री आदिको धकाधक कामले यो साल करोडौंको खुद नाफा भइसकेको छ, सेठजी ।’ मुनिम रातो कपडाको जिल्द भएको बहिखाता खोलेर भित्रसम्म पस्छन्, ‘सालको आखिरी हिसाब-किताबमा अरु बेसी मुनाफा हुनेछ, सेठजी ।’
‘ऐसा हो र मुनिमजी ?’
‘हाँ सेठजी ।’ मुनिम जाम्बवानप्रसाद आफ्नो गोलचस्माबाट सावधानीपूर्वक हेर्छन्, ‘मैले भने नि सेठजी, रुपियाँ-पैसाको लात्मा बहुत दम हुन्छ, लगाउनोस् यो राजनीतिलाई अरु दुई-चार लात्, अनि के भन्छ, कांग्रेसको समानुपातिकमा सेठजी नआउने कुनै बातै छैन ।’
‘लेकिन कांग्रेसको सभासदको नाम तो बाहर आइसक्यो, मुनिमजी ।’
‘केही फरक पर्दैन सेठजी ।’ मुनिम जाम्बवानप्रसाद सेठ हनुमानदासलाई विश्वास दिलाउँछन्, ‘रुपियाँ-पैसाको लात्मा जस्तो बिगडिएको कामलाई पनि बनाउने शक्ति हुन्छ, सेठजी ।’
‘अब भी म कांग्रेसको सभासद हुन्छु मुनिमजी ?’
‘जरुर सेठजी ।’
‘पक्का बात हो, मुनिमजी ?’
‘हाँ सेठजी ।’ मुनिमको स्वर उँचो हुन्छ, ‘तर रुपियाँ-पैसाको लात् जोडले चलाउनुपर्योि, सेठजी ।’
‘ऐसा हो भने ड्राइभर पूर्णमानलाई बोलाएर गाडी निकाल्न लगाउनोस्, मुनिमजी ।’ सेठ हनुमानदास सोनथालिया एकाएक जुरुक्क उभिएर आफ्नो खजमजिएको धोती मिलाउन थाल्छन्, ‘म कांग्रेस पार्टीमा गएर अरु जितना रुपियाँ-पैसा खर्चा भए पनि केही बात छैन, मलाई जैसा गरेर पनि समानुपातिक सभासद बनाउनुपर्छ भनेर साला नेताहरूलाई भन्छु, म अब रुपियाँ-पैसा बिछाएर भए पनि सभासद बन्छु-बन्छु, कोही माइकालालले पनि मलाई समानुपातिक सभासद बन्नबाट रोक्न सक्दैन मुनिमजी । जल्दी पूर्णमानलाई बोलाउनोस्, म कांग्रेस नेताहरूलाई छोड्नेवाला छैन, अब म सभासद हुन्छु-हुन्छु ।’
सेठ हनुमानदास सोनथालियाको गजबको जोश देखेर र्फम हरगोविन्दराम-हनुमानदासका पुराना मुनिम जाम्बवानप्रसाद कर्ण आफ्नो स्वभावको विपरीत फिसिक्क मुस्कुराएर ढड्डु बहिखाताभित्र स्वाट्ट पस्छन् ।

डल्लु, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x