साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार रश्मि भट्टको ‘युगका आवाजहरू’ लोकार्पण

अनेसास नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले साहित्यकार रश्मि भट्टको दोस्रो कृति ‘युगका आवाजहरू’ को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न गरेको छ ।

Nepal Telecom ad

२०२२ मे १४ शनिवार अनेसास नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले साहित्यकार रश्मि भट्टको दोस्रो कृति ‘युगका आवाजहरू’ को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न गरेको खबर छ ।

भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति, बोर्ड अफ ट्रष्टकी अध्यक्ष साहित्यकार गीता खत्री प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिहरू साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ र कलानिधि दाहाल रहनु भएको थियो ।

च्याप्टरका अध्यक्ष राजन महर्जनले कार्यक्रमको शुरूवात गर्दै श्रष्टालाई बधाई र शुभकामना दिनु भएको थियो भने च्याप्टरकै महासचिव जानुका वस्ती ढकालले आफ्नो स्वागत मन्तव्यबाट पाहुनाहरूको स्वागत गर्दै ‘युगका आवाजहरू’ का स्रष्टा रश्मि भट्टलाई बधाई र शुभकामना पनि व्यक्त गर्नुभएको थियो । कविता र समालोचनामा दख़ल भएकी स्रष्टा रश्मि भट्टका रचनाहरू धेरै पहिलेदेखि पत्रपत्रिकामा प्रकाशित हुँदै आएको र संयुक्त रूपमा पुस्तक पनि प्रकाशित भएको थियो । गत वर्ष स्रष्टा भट्टको ‘पातालका गर्तमा’ प्रकाशित भएको थियो ।

कार्यक्रममा साहित्यकार कलानिधि दाहालले गोर्खेली चेलीको उपलब्धी धेरै छ साँच्चै साहित्यको अन्तरमर्म छामेर हेर्नेहरूका लागि यो कृति विशेष छ, किनकि यसमा शील्प राम्रोसंग ल्याइएको छ भन्नु भयो । सम्पूणर् बिम्बहरूमा मानवीय चेत उठाउन सक्नु सर्जकको सबैभन्दा ठूलो उपलब्धि हो भन्दै स्रष्टालाई बधाई र शुभकामना दिनुभएको थियो । अझै श्रष्टाले गहिरो अध्ययन ,चिन्तन र मनन गरेर लेख्न सके सुनमा सुगन्ध हुने र यस्तो श्रष्टा आफ्नै राष्ट्रमा बसे कति राम्रो हुने थियो भन्नुभयो ।

त्यस्तै अर्का साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ ले कविताको महत्व दिनानुदिन बढ्दै गईरहेको कुरा गर्दै कुनै पनि स्रष्टाले कृति तयार गर्दा अरूभन्दा फरक छ छैन भन्ने कुरा महत्वपूणर् हुन्छ र जुनसुकै विधामा लेखेपनि काव्यात्मकता हुनु ठूलो कुरा हो भन्नु भयो । विभिन्न देशका दार्शनिकहरू जस्तो प्लेटो, अक्टोभिया, क्रिस्टोफर र टल्सटायहरूले कविहरूलाई राम्रो नदेखे पनि जति विरोध गरे पनि समग्रमा भन्नुपर्दा कविताको महत्व झनै बढिरहेको छ । कवि रश्मी भट्टका कविताहरू सरल, निर्दोष र खरा छन् । उनका धेरै कविताहरू सुत्रात्मक र मन्त्रात्मक लाग्ने कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी डा. ऋषि बस्ताकोटी, डा. वीरेन्द्र पुडासैनी, गीतकार धन लामा, साहित्यकारहरू डा.गोविन्द कोइराला, विश्वराज अधिकारी,सुरेश कुमार भट्ट, लालगोपाल सुबेदी, ने.मु.प्र. अमेरिका शाखा अध्यक्ष तथा गजलकार आनन्द श्रेष्ठ, उत्तर अमेरिका क्षेत्रका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास केन्द्रका कोषाध्यक्ष तथा कवि विकाश बिष्ट, टुटुल्को डट कमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ, बोर्ड अफ ट्रष्टकी अध्यक्ष तथा साहित्यकार गीता खत्री, अनेसास न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष शकुन ज्ञवाली, च्याप्टर उपाध्याक्ष कवि लक्ष्मी श्रेष्ठ, बन्दना कोइराला, समाजसेवीहरू राजन गौली र विश्वराज वास्तोलाले आ-आफ्नो मन्तव्यका साथ स्रष्टा रश्मी भट्टलाई बधाई र शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा समाजसेवी नवराज के.सी, साहित्यकार गीता पराजुली पन्थ, प्रोफ़ेसर राजन थपलिया, अनेसास न्यूयोर्क च्याप्टर कोषाध्यक्ष नदिया लिवाङ्ग र मुक्तक मणि तीर्थराज अधिकारीको पनि उपस्थिति रहेको थियो । साहित्यकार किशनसिंह धामी उपस्थित हुन नसके पनि कृतिकारलाई बधाई र शुभकामना सन्देश पठाउनु भएको थियो । ‘युगका आवाज़हरू’ का स्रष्टा रश्मी भट्टका समकालिन साथी साहित्यकार लालगोपालले उहाँको कवितामा गोर्खा, काठमाडौं र अमेरिका सबै भेटिन्छ । उहाँ साधना गर्नुहुन्छ प्रचार प्रसारलाई ध्यान दिनु हुन्न भन्दै स्रष्टाको बारेमा निकै चर्चा गर्दै बधाई र शुभकामना दिनु भएको थियो । स्रष्टाको अर्का सहपाठी मित्र डा. विरेन्द्र पुडासैनीले नव उदीयमानले निर्मल आकाश पाएर श्रष्टाका रूपमा विशिष्ट चिनारी दिनसक्नु हाम्रो लागि गौरवको कुरा हो, यो अमर कृति सबैको सिरानीमा बस्ने खालको छ, साहित्य बाटिकामा कोसेढुङ्गो साबित होस् उहाँको उत्तरवर्ती सिर्जनाहरू अझै चम्किंदै जावस् भन्दै धेरै धेरै वधाई र शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा स्रष्टाले आफ्नो मन्तव्यका साथ सबैलाई धन्यवाद दिएपछि सभापति राजन महर्जनले कार्यक्रम सकिएको जानकारी गराउनु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x