रुद्र खरेलमन्त्री र झारफुके
हामीलाई डाक्टर साक्टर होइन, झारफुके मन्त्री चाहिएको छ । अर्कोचोटि जम्बो मन्त्रीपरिषद् बन्यो भने झारफुके नाउँको नयाँ मन्त्रालय पनि खोल्ने कि ?
बैंसमा दाम जमाउन भन्सार संसारको सपना देख्नेहरू बुढेस कालमा नाम कमाउन धर्म र साहित्यतिर लागेको पाइन्छ । तर मेरा छिमेकी बन्धुले भने सेवानिवृत्त भएपछि चलनचल्तीको भन्दा अलि बेग्लै बाटो समाते । मर्निङ्ग वाकमा निस्कने ठूलाबढाका आँखा उनको घरनेर पुगेपछि अचेल एउटा टिनको पातामा गएर ठोकिन्छन् । त्यस सूचनापाटीमा फर्माइएको छ- ‘यहां निःशुल्क झारफुक सेवा गरिन्छ ।’ उनले गानोगोला, अमलपित्त, कमलपित्त, नपुङ्सकपना, बाँझाेपना, वायुदोष, स्वप्नदोष, महिनावारीदोष, गर्भपतन र अझ भन्ने हो भने जेसुकै पतन पनि निख्लो झारफुकले चट हुन्छ भनेर विज्ञापन गरेका छन् । यसले उनकहाँ मान्छेको भिड लगाएको छ बिहानदेखि बेलुकैम्म ।
पत्रपत्रिका र लेखपढका सामग्री बेच्ने पसलले बियर र हुस्की बेचेझैँ उनले पनि पछि गएर आफ्नो झारफुके पसलमा हस्तरेखा र ज्योतिष पनि थपिदिए । यसले त झन् थप मारामार गयो । बढेमाका नेताहरू पनि तालुमा आलु फल्ने थाहा पाएपछि दङ्ग पर्न थाले । भाग्यवादको हुस्कीमा चुस्की मारेपछि कडा मात लाग्नु अनौठो होइन । मानिसलाई पारेर काम पट्याउनमा उनी बराबर सायदै कोही होला ! त्यसो त उनले जागिरे जीवनमा ब्रेकफास्टको र्याङठ्याङ मिलाउनु, घाममा बसेर हात हेर्नु, माथिकाको चाकरी गर्नु, तलकासँग गफ चुट्नु बाहेक गरे नै के र ?
सबैका केही न केही मूल्यमान्यता हुन्छन्, जस्तो पार्टी र नेताका छन् । नेताले आफू र आफ्नो पाटी अकबरी सुन जस्तो निख्खर मूल्यमान्यता र आदर्शमा चलेको बखानेर भोट थापेझैँ मेरा छिमेकका झारफुके बन्धुले पनि आफ्नो आदर्शको बिस्कुन सुकाएर नोट थापेका छन् । उनी आफ्नो महान् आदर्श दोहोर्याई तेहर्याई भन्छन्, “झारफुक बापत आएको रकम झारफुकेले छुनु हुँदैन । छोए विद्यानाश हुन्छ । उनको गजबको दाबी के भने उनले कहिल्यै पनि कसैबाट एक कौडी लिएका छैनन् । उदेक लागेर मैले एक दिन मौका पारेर भनें-
“बन्धु, साँच्चि नै तपाईं कसैबाट एक कौडी लिनुहुन्न ?”
“अहँ, लिन्न ।”
“नगदी, जिन्सी केही पनि लिनु हुन्न ?”
“अहँ, म लिन्न, थाप्दिन ।”
“कसैले कर गर्यो भने नि ?”
“म लिँदै लिन्न, मैले छुनै हुँदैन । छोयो कि खतम !”
“त्यसो भए तपाईं तिनीहरूको काम त्यसै गरिदिनु हुन्छ, होइन त ?”
“हो, त्यसै नै भन्नुपर्यो, किनभने म आफू चाहि छुन्न ।”
“तिनीहरूले तपाईलाई नछुवाई टक्र्याइदिए भने नि ?”
“म आफू चाहि छुन्न, श्रीमती र छोराले चिजबिज दाम जे छ, थन्क्याउँछन् ।”
“भन्नाले कसैले मरिकुस्ती दिन ल्याए भने छोरो अथवा श्रीमतीलाई भेट्नू भनेर अराउनु हुन्छ, होइन त ?”
“भनिहालें नि म आफू चाहिं लिन्न ।”
“भनेपछि झारफुक तपाई गर्नु हुन्छ, दामकाम चाहिं छोरो र श्रीमतीले मिलाउँछन् । त्यसै होइन त ?”
मैले चारैतिरबाट करेपे पछि टकटकिदै उनले जवाफ दिए- “जे होस् म आफू चाहिँ लिन्न । झारफुके आफू चाहिँ स्वच्छ छविको हुनुपर्छ, जस्तो कि म छु । बाँकी रह्यो छोरा र श्रीमतीको कुरा । त्यसबारे म बोल्न चाहन्न । व्यवसाय गरिखान पाउनु उनीहरूको कानुनी हक हो । ईष्र्या गरेर खोस्न मिल्दैन ।”
मन्त्री र झारफुके दुईटैले नगद र जिन्सी मरिगए छुँदैनन् । एउटाको सत्ता नाश हुन्छ त अर्काको विद्यानाश । मन्त्रीले झार्छ मात्रै फुक्दैन, तर झारफुकेले चाहिँ झार्ने र फुक्ने दुईटै काम गर्छ । पहिला झार्छ पछि फुक्छ अथवा पहिला फुक्छ पछि झार्छ । मन्त्री पुत्रले जस्तो झारफुके पुत्रले सम्पत्ति देखाउनु र छिपाउनु पर्दैन । जेमराजको बाहेक अहँ कसैको पुर्जी पनि झारफुकले बुझ्नु पर्दैन । त्यस मानेमा मेरा छिमेकी झारफुके सुरक्षित छन् ।
संभावना एक होइन अनेक छन् । मन्त्री हुनलाई योग्यता चाहिदैन । त्यसमा परि मेरा झारफुके मित्रसँग देश चलाउनका लागि चौसठ्ठी कला छन् । नेता र पार्टीले सिन्को नभाँचेको अवस्थामा झारफुकेको पालो आउनु अनौठो होइन । मलाई विश्वास छ मित्रले नेताको स्वप्नदोष र शीघ्र नैतिक पतन मात्रै होइन जुनसुकै पतनलाई पनि झारफुककै भरमा चट पारिदिन्छन् । फेरि, उनको अकुत सम्पत्ति कमाइमा प्रश्न उठ्यो भने तम्तयार उत्तर दिनेछन्- “झारफुके आफू चाहिं स्वच्छ छविको हुनुपर्छ, जस्तो कि म छु । व्यवसाय गरी कमाउन पाउनु छोरा र श्रीमतीको हक हो ।’ त्यसवेला ‘झारफुक’ शब्दका ठाउँमा ‘मन्त्री’ राखिदिए पुगिहाल्छ ।
हामीलाई डाक्टर साक्टर होइन, झारफुके मन्त्री चाहिएको छ । अर्कोचोटि जम्बो मन्त्रीपरिषद् बन्यो भने झारफुके नाउँको नयाँ मन्त्रालय पनि खोल्ने कि ? मेरा टोले झारफुके मिले हस्तरेखा, भाग्यफल, झारफुक जस्ता अनेक विभागहरू एक्लैले समाल्न सक्छन् । माओवादी समस्या मात्रै होइन, उनले जुनसुकै समस्या पनि झारफुककै भरमा चट् पार्दिन सक्छन् ।
‘आषाढस्य प्रथम दिवसे’ (२०५९)
Subscribe
Login
0 Comments
Oldest






































