अन्तर्घात
कोठामा कोही पनि मानिस भेटिएन । त्यहाँ एउटा विशाल ऐना थियो । त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो ।
“अन्तरघात !? आश्वर्यजनक अन्तरघात !! अन्तर्घातीहरू सबैलाई ठेगान लगाइदिन्छु । त्यस्ता पापीलाई पार्टीमा बस्ने कुनै अधिकार छैन ।” पार्टीका प्रमुख नेता गर्जिँदै थिए ।
उनी आँगनको वल्लोछेउ पल्लोछेउ गर्दै थिए । बायाँ हातको चोर औंलालाई आकाशतिर लक्षित गर्दै भुटभुटाउँदै थिए । उनले मानसिक सन्तुलनमा समस्या आएको कुरा समेत देखाइरहेका थिए ।
मदनको जिज्ञासा पसारियो-
“के भयो नेताज्यू ?”
“हुनुसम्म भयो । अन्तरघातीहरूले निर्वाचन हराइदिए ।”
“भ्रष्टाचारी, तस्कर, कमिशनखोर, चरित्रहीन, पुरातन चिन्तनवाला जस्ता पतित व्यक्तिहरुलाई उमेद्वार बनाएको हुनाले यस्तो भएको हो भन्छन् त !”
“झुट ! गलत !! मैले सुयोग्य चरित्रमान मानिसहरूलाई उमेद्वार बनाएको छु ।”
“अन्तरघाती मेरो नजरमा छ । कारबाही गर्नु हुन्छ ?”
“किन नगर्ने ? गरिहाल्छु । मलाइ चिनाइदिनुहोस् त ।”
दुवैजना मदनको घरमा उपस्थित भए । उनले ‘अन्तर्घातीहरू यहीँ भित्र छन्’ भन्दै कोठाको ढोका खोलिदिए । नेता कोठाभित्र प्रवेश गर्नु अस्वाभाविक भएन । कोठामा कोही पनि मानिस भेटिएन । त्यहाँ एउटा विशाल ऐना थियो । त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो ।
आनन्दआश्रम, फापरथुम स्याङ्जा
०७९.२.१५