सुलसुलेइलाम साहित्य मञ्चको २९ औं काव्यशृङ्खला

काठमाडौं, ०७९ भदौ ८ । इलाम साहित्य मञ्चको २९ औँ काव्य सम्पन्न भएको छ । साँझ ६ बजेदेखि आरम्भ भएको प्रविधधिमैत्री कार्यक्रमको सञ्चालन र प्रविधि संयोजन-इलाम साहित्य मञ्चका सचिव सोम निरौलाले गर्नुभएको थियो भने प्रमुख आमन्त्रितमा सुपरिचित व्यंग्यकवि, व्यंग्य अभियन्ता ‘फित्कौली डटकम’ का सम्पादक नरनाथ लुइँटेल हुनुहुन्थ्यो ।
कार्यक्रमको अध्यक्षता खोलाघरे साहिंलो (संस्थाका अध्यक्ष) ले गर्नुभयो भने विशेष आमन्त्रितमा महाकाव्यकार पुरुषोत्तम सिग्देल, प्रा.होम सुवेदी हुनुहुन्थ्यो । मूलतः युवाकवि मोतिराम भट्टको १५७ जयन्तीलाई सम्बोधन गरिएको भए तापनि पितादिवस र तीज पर्वसम्बन्धी रचनाहरू पनि वाचन गरिएका थिए ।
रचना प्रस्तुतिको क्रममा- पुरुषोत्तम सिग्देल- ‘आउने गर्नु है’ कविता पृथ्वी छन्दमा, टीका घिमिरे (उपाध्यक्ष) ‘गुलाब र काँडा’ भुजङ्गप्रयातमा, उर्मिला पन्त पाण्डे- गजल ‘गुलाबको सुन्दरता टाढैबाट हेर्नु राम्रो, माया अनि स्नेहलाई.भावनामा बेर्नु राम्रो …, होम सुवेदी- ‘सूक्तिहरू’ अनुष्टुप्मा, जीवनहरि शर्मा- ‘पिता’ शिखरिणीमा-, डा. खगेन्द्रप्रसाद दाहाल- समस्यापूर्ति- हटुन् बाधा सारा सुखमय बनोस् जीवनगति र गजल ‘बनाऊ प्रेमको नौका म तिम्रै साथ तर्नेंछु… , उत्तम विचार भेटवाल- ‘बाबा’ शिखरिणीमा, इन्द्रनारायण सुवेदी- ‘जनकमहिमा’ शार्दूलविक्रीडितमा, बालकुमारी घिमिरे- ‘तीज’ गद्यकविता, दुष्यन्त भट्टराई- ‘बुवा’ शिखरिणीमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरि नरनाथ लुइँटेल- ‘दुई आँखी भौं …’ बाट मोतीराम भट्टमा श्रद्धाञ्जलि र ‘लूटतन्त्र अमर रहोस्’ गद्यकविता, सोम निरौला- ‘कसैको कृपा चाहिंदैन’ भुजङ्गप्रयातमा, खोलाघरे साहिंलो- ‘मोतिस्मृति’ मन्दाक्रान्तामा प्रस्तुत गरियो ।
प्रमुख आमन्त्रित नरनाथ लुइँटेलले कविताको माध्यमबाट देशको सामाजिक/राजनीतिक क्षेत्रमा विद्यमान विकृतिहरूलाई छ्याङ्ङ पार्ने भावको अत्यन्तै सान्दर्भिक व्यंग्य प्रस्तुत गर्दै इलाम साहित्य मञ्चलाई धन्यवाद दिनुभयो, सराहनासमेत गर्नुभएको थियो । सभाध्यक्षको धन्यवाद मन्तव्यसहित साँझ ७.४० मा सभा समापन गरिएको थियो ।
०००
– खोलाघरे साहिँलो
Subscribe
Login
0 Comments
Oldest












































