संप्रस पाैडेलरोमान्टिक शर्माजी
“जाँदाको प्लेनभित्र र आउँदाको प्लेनभित्र बाहेक अर्थोक केही छैन । विदेश नगई एयरपोर्टमा प्लेनभित्र बसेर ओर्लेर आए कि क्या हो ?” शर्माजीले गुनासो पोखे । दुवै गलल्ल हाँसे ।

बर्मा गए कर्मसँगै भन्ने शर्माजी घरमा छन् आजकाल । त्यसो त पहिले पनि घरमै हुन्थे । बरू यो उमेरमा देश छोडेर विदेश जानुपर्ने करमा छन् । यसैले दोधारमा छन् आजकाल । उनको विदेश, सन्तानले देश बनाइसकेका छन् ।
स्कूलको पौने माध्यमिक तह पढ्दापढ्दै, बिग्रेलास् भन्दै हेडसरले छेक्दाछेक्दै, बाले रिजल्ट सुन्ने दिन दिनभरी स्कूल टेक्दाटेक्दै, पोस्टकार्डमा शायरी लेख्दालेख्दै, वरपर हुल हुँदा पनि आफू दुई मात्रै देख्दा देख्दै माकुरी जालमा फसेछन् ।
कुरो के भने शर्मा कम्पनीले आजभन्दा ३० वर्षअगाडि शेयर हालेछन् ‘प्रेम’ हाइड्रोमा । डुब्नु डुबेछन् एकअर्कामा । र त मर्ज नै गरेछन् । अनि दुइटा कम्पनी एकै अफिसमा अटिगो । केही महिनामैँ कम्पनी मर्ज हुनुअघि गरेको लगानीको शेयर मूल्य दोब्बर भो । अर्थात् जम्ल्याहा सन्तान जन्मिए । घरभरि खुशियाली । बारीमा कद्दु, हातमा लड्डु ।
केही सालअघि पढ्न भनेर दुवै सन्तान विदेश हुइँकिए । पढ्न त के जान्थे, पढ्ने निहुँले कमाउन गए । कमाउन पनि के कमाउँथे, पठाएका होइनन् । उहिले पूराना युगमा रातभरि पुष्टकारी बनाएर भोलिपल्ट स्कूलमा पढ्न गएजस्तो पढाई । के पढ्नु, पैसा कमाउन स्कूल आएका । कोही त अमला र बयर पनि बेच्थे विना लगानीका । यहाँ पढ्न अल्छी गर्ने पनि विदेशमा पढ्दारैछन् । शिक्षाप्रणाली सुध्रिएको हो कि उध्रिएको बुझ्नै कठिन । डोल्पातिर शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न जान्छन् भन्छन्, त्यस्तै पढाई हो कि । शिक्षामा गरेको लगानीले भोक मेट्दोरैनछ ।
यी विदेश जानेका पनि लगानी त के पो थिए र । बाउआमाले दुखले बनाका घर धितो राखेर बैङ्कले ऋण दिएर पत्याएका । पत्याएका के भन्नु महिनाभरको कमाई व्याज तिर्दा तिर्दा अत्याएका । “जेहोस् पैसा हुने धनाढ्यहरूले बैङ्कमा कूत अकूत जम्मा गर्देका थिए र हामीजस्ताका सन्तान विदेशको नागरिकता पाउने भयो” भन्थे शर्माजी । कुरा ठीकै हो, हामी छौँ र त यी धनाढ्यहरू बेलुनझैँ फुलेका छन्, यी छन् र त हामी मरिचझैँ चाउरिका छौँ । जेहोस्, छौँ । त्यसमा ढुक्क छौँ भन्दै उनीहरूको ‘हुने’ सिद्धान्त यतै अल्झिएको थियो ।
पाँच वर्षअघि पढ्न गएको केटोले के पढ्यो कुन्नी बाउआमाकै सिको अङ्गाल्यो । विदेशतिरै भएकी अर्कीसँग लिभिङ टुगेदरमा छु भन्थ्यो । अहिले बच्चा जन्मियो पो भन्छ । शर्मापत्नी अचम्म मान्छिन् ‘हैन पार्वतीले मयलबाट गणेश बनाएजस्तो विदेशमा त्यस्सै बच्चा जन्मिन्छ कि क्या हो ?’
कसैले सन्तानको बिहेको कुरा गर्दा छोरी एउटा डिभिवालासँग अमेरिका गएको अघिल्लो साल नै हो भन्छन् उनी । “चिठ्ठै परेको नि । कस्ता पढेका र राम्री राम्री आएथे, यिनलाई हाम्रै छोरी मनपरेछ ।” शर्माजी अली ठट्यौला छन् । भन्छन् “हाम्रा भुस्तिघ्रे ज्वाईँले केही कमी गरेका छैनन् अरे । समुद्रमा नुहाउने, बालुवामा सुत्ने, अत्याधुनिक चर्पीमा मुत्ने, रातभरी रक्सीले चुठ्ने, पाए नेपाली नपाए अरू लुट्ने नजानेका केही छैनन् भन्थी छोरी । नागरिकता पाएपछि जे जे गरे पनि फिर्ता पठाउने होइन क्यार” पो भन्दैथिई त । थप्छन् “जेहोस् श्रीमती र बालबच्चालाई कुट्यो भनेचाहिँ झनै कडा व्यवस्था पो छ रे । नेपालमा भए मेरो स्वास्नीलाई कुट्दा तँलाई के मतलब भन्थे, हाम्रो घरको आन्तरिक कुरा हो भन्थे ।
अरू त अरू विदेशका सडकमा ख्वाक्क थुक्न नि नपाइने अरे । आयो भने पनि आफ्नै भुँडीभित्र थुक्नुपर्ने । हामीलाई त यात्रामा जङ्गल देख्नै हुन्न पिसाबले च्यापिहाल्छ । लामा लामा कार्यक्रमका बेला राष्ट्रपति र प्रधानमन्त्री पनि डाइपर लाएरै बस्छन् कि क्या हो ? छि मलाई त तिनेरू कसरी टिकेका होलान् झैँ पो लाग्छ भन्या ।”
पत्नी- “छि तपाईँ पनि तालबेतालका कुरा गर्नुहुन्छ । बुढो एउटा तार गयो कि क्या हो दिमागको ?” कुरा फेरि विदेश जाने चाँजोपाँजोकै । अघिल्लो साता छोराले ‘आमालाई ल्याउनुपर्यो, बुहारीलाई गाह्रो पर्नेवाला छ’ भन्यो । शर्माजीले पत्नीविना बस्न नसक्ने सुनाए । भातभान्सा, लुगाफाटा, ओखति, किनमेल, तिरोतारो, आफ्ना आफन्त आदित्यादी ।
“अली पछि मेरोमा है ।” छोरीले फोन गर्दा यसो भनेकी छे । “हेर्दाहेर्दै तपाईँहरू कहिले नेपाल, कहिले अष्ट्रेलिया, कहिले अमेरिका । अहो भाग्य त हो है ।” उसले फुरूक्क पारी ।
पत्नीले भनिन् “बुढा अब हामी पनि छिमेकी सरको जस्तै किताब निकालौँ । यिनले रक्सौलसम्म पुगेकाले भारत लेखे, हामी भ्रमण अनुभवमा अष्ट्रेलिया र अमेरिका थपौँला ।”
“किताब पनि विदेशी राष्ट्रपतिलाई भेटेको, डाँडाकाँडा घुमेको, समुद्रमा जहाज चढेको भए पनि हुन्थ्यो नि । जाँदाको प्लेनभित्र र आउँदाको प्लेनभित्र बाहेक अर्थोक केही छैन । विदेश नगई एयरपोर्टमा प्लेनभित्र बसेर ओर्लेर आए कि क्या हो ?” शर्माजीले गुनासो पोखे । दुवै गलल्ल हाँसे ।
गाउँबाट सदरमुकाम, सदरमुकामबाट काठमाण्डु हुँदै त्यहाँबाट युरोप अमेरिका । घुमीफिरी विदेशटार ।
दिदी बेलैमा बितिहालिन् । छोराले “आमापछिको आमा तपाईँ त हो नि भन्या छ । अलीपछि डेनमार्क पनि जानुपर्ला । पक्कै बोलाउला । अस्तिनँ वास्तै गर्थेन, बिहे गरेको ६/७ महिना भयो, आजकाल सम्झेको सम्झ्यै छ । बुहारीले सम्झाई होला । महिला भन्या महिला हो । पक्कै सम्झी उसैले । अनि मैले स्यार्या भने नि हुन्छ छोरोलाई, हाम्रो छोरासँगसँगै पालैपालो दुध चुसाको पो हुँ त ।” गर्वका साथ शर्मापत्नीले एकशासमा बोलिन् ।
शर्माजी भन्छन्, “उसो भए किताब त्यसपछि निकालौँला बुढी । भ्रमणमा अर्को एउटा देश थपिन्छ । शर्मापत्नी- “सन्तान बुढा भैसके, तपाईंको उरन्ठ्यौलोपन अझै गाछैन है ?” बुढा रोमान्टिक हुँदै गाला चिमोट्छन्, बुढी हकार्छे “छि पात्तेको बुढो, जानोस् उता ।”
यिनलाई अमेरिका पनि यहीँ, जापान पनि यहीँ । हास्यमेवः जयते ।
०००
हेटौैँडा
Subscribe
Login
0 Comments
Oldest







































