साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाकवि देवकोटाको कविकुञ्ज सङ्ग्रहालयमा परिणत

सङ्ग्रहालयमा तीन तला, देवकोटाले अध्ययन गर्ने कोठा लगायत १६ कोठा, वाचनालय, लिफ्ट र आधुनिक सञ्चार सुविधा उपलब्ध छ । करिव सात करोड रुपियाँमा निर्माण गरिएको सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिएका छन् ।

Nepal Telecom ad

काठमाडौं, असोज १४, २०७९ । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उदघाटन गरिएको छ । काठमाडौँ महानगरपालिका- ३०, मैतीदेवीस्थित कविकुञ्ज अर्थात् महाकवि देवकोटाको घरलाई पुनःनिर्माण गरी सङ्ग्रहालय बनाइएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहने सो सङ्ग्र्रहालय निर्माणका लागि नेपाल सरकारले देवकोटा परिवारसँग उक्त घर, जग्गाको मोहियानी हक प्राप्त गरेको थियो । उक्त जग्गा गुठी संस्थान अन्तर्गतको गुठी रहेकाले संस्थानको हक यथावत् रहने गरी प्रज्ञा प्रतिष्ठानका लागि नेपाल सरकारले जग्गाको मोहियानी हक खरिद गरेको थियो ।

नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ महानगरपालिका वडा नम्बर ३० लगायतका निकायले २०७५ सालबाट सङ्ग्रहालय निर्माणको पहल गर्दै आएका थिए ।

भित्रीबाटो समेत एक रोपनी १ पैसामा फैलिएको देवकोटा निवासको सम्पूर्ण जग्गाको मूल्य पाँच करोड रुपियाँ मूल्याङ्कन गरिएको थियो । सङ्ग्रहालयमा तीन तला, देवकोटाले अध्ययन गर्ने कोठा लगायत १६ कोठा, वाचनालय, लिफ्ट र आधुनिक सञ्चार सुविधा उपलब्ध छ । करिव सात करोड रुपियाँमा निर्माण गरिएको सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा उनले प्रयोग गरेका सामानहरू राखिएका छन् ।

महाकविको घरको मौलिकता यथावत राखेर सङ्ग्रहालयमा केही आधुनिक सुविधा तथा संरचना थप गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

सङ्ग्रहालय परिसरमा देवकोटाको पूर्णकदको सालिक राखिएको छ । यसैगरी देवकोटाले अध्ययन गर्ने कक्षमा कविता वाचन गर्दैगर्दा मन्त्रमुग्घ बन्नुभएका देवकोटाको आकर्षक अर्काे सालिक पनि राखिएको छ । दुवै सालिक वरिष्ठ मूर्तिकार बालकृष्ण तुलाधर (वर्ष ८६), ले बनाउनु भएको हो । सालिक बनाउन उहाँका छोरा कलाकार राजु तुलाधर र कलाकार विना महर्जनले सहयोग गर्नुभएको थियो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालका महाकविको योगदानलाई चिरस्थायी गर्न सङ्ग्रहालय सहायक हुने विश्वास व्यक्त गर्नुभयो । सङ्ग्रहालयमा सर्जकहरूका लागि वाचनालयको सुविधा उपलब्ध गराइने भन्दै उहाँले महाकवि देवकोटाले प्रयोग गर्नुभएका सामग्री कसैसँग भए सङ्ग्रहालयलाई उपलब्ध गराई दिनहुन आग्रह पनि गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले मानिस धन, धर्म, जातले नभएर प्रतिभा र परिश्रमले जीवन्त हुने बताउनुभयो । उहाँले देवकोटा त्यही कोटीका भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले देवकोटाको तुलना केही विशिष्ट अन्तर्राष्ट्रिय साहित्य तथा साहित्यकारसँग मात्र हुनसक्ने विचार व्यक्त गर्दै उहाँको कृतित्व तथा व्यक्तित्वलाई थप उजागर गर्न सङ्ग्रहालयको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

देवकोटाकी छोरी तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय सञ्चालक समिति सदस्य अम्बिकादेवी देवकोटा रिमालले देवकोटा आफ्नो परिवारको सदस्यमात्र नभएर राष्ट्रकै प्रतिभा भएकाले यस प्रकारको सम्मानले आफूलाई उत्साही बनाएको बताउनुभयो ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण स्थानीय सहयोग समितिका सल्लाहकार प्रा.डा पार्थिवेश्वर तिमिल्सिना, कामनपा- ३० का अध्यक्ष दलबहादुर कार्की, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतले आफ्नो टोलमा ऐतिहासिक महत्व रहने सङ्ग्रहालय निर्माण भएकामा खुशी व्यक्त गर्दै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनु भयो ।

सङ्ग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । सङ्ग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि दिइयो । सङ्ग्रहालय दशैँ बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म सङ्ग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।

सङ्ग्रहालय निर्माणका लागि महत्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।

०००
– लक्ष्मी सापकोटा, गोरखापत्र । तस्विर : राताेपाटी डटकम

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x