साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको विशेष कविगोष्ठी सम्पन्न

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा विशेष अतिथि एवम् टिप्पणीकारका रूपमा डा.लेखप्रसाद निरौला उपस्थित हुनुहुन्थ्यो ।

Nepal Telecom ad

विगत उनन्चालिस वर्षदेखि अविच्छिन्नरूपमा मासिक साहित्यिक गोष्ठी गरिरहेको, समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको र नेपाली प्रगतिवादी साहित्यमा योगदान गरिरहेका विभिन्न स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिरहेको साहित्य सन्ध्याकोे ४३४ औँ विशेष शृङ्खला मङ्सिर १७ गते शनिबार साँझ ५.१० बजे जुम क्लाउड मिटिङका माध्यमबाट भर्चुअलरूपमा आयोजना गरी विशेष कविगोष्ठी गरी सम्पन्न भयो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा विशेष अतिथि एवम् टिप्पणीकारका रूपमा डा.लेखप्रसाद निरौला उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा सन्ध्याका सल्लाहकार विधान आचार्य, अग्रज स्रष्टाहरू नर्मदेश्वरी सत्याल, डम्बर पहाडी, गङ्गा कर्माचार्य पौडेल र डा.विदुर चालिसे, सीताराम ढकाल फाउन्डेसनकी उपाध्यक्ष विन्दु अधिकारी ढकाल उपस्थित हुनुहुन्थ्यो ।

नेपाली वामपन्थी आन्दोलनका अगुवा एवम् वरिष्ठ साहित्यकार हर्ष स्याङ्बोको हालै देहावसान भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै थालनी भएको गोष्ठीमा ओमप्रसाद कोइराला, नर्मदेश्वरी सत्याल, विधान आचार्य, डम्बर पहाडी एलाक, महेशराज खरेल, खेमराज निरौला, विन्दु अधिकारी ढकाल, कुमार नेपाल, गोपालकुमार मैनाली, जयन्ती स्पन्दन, डा.विदुर चालिसे, प्रशान्त खरेल, गङ्गा कर्माचार्य पौडेल, देबु लुइटेल र राम विनयले आआफ्ना कविता, गीत, मुक्तक वाचन गर्नुभएको थियो ।

वाचित रचनामाथि टिप्पणी गर्दै डा.लेखप्रसाद निरौलाले साहित्य सन्ध्याको आजको यो विशेष गोष्ठीमा गुणात्मक उचाइका, समकालीन व्यङ्ग्यका, बौद्धिक उचाइका, देशभक्तिले ओतप्रोत भएका स्तरीय कविता वाचन भएका छन् । केही कविताले समस्यापूर्तिको शैलीलाई अवलम्बन गरेका छन् र व्यङ्ग्यविद्रोहको सशक्त चेतना सम्प्रेषण गरेका छन्;, राष्ट्रवादी चिन्तन अभिव्यक्त भएको छ, गलत बाटोमा हिँड्नेलाई र ढुलमुले राजनीतिलाई कसिलो व्यङ्ग्य प्रहार गरेका छन् । व्यञ्जनाधर्मी कविताले युवापलायनको विरोध, लैङ्गिक विभेदको विरोध गर्नुका साथै सहयात्राको वा मिल्नुको विकल्प नभएको आग्रह सम्प्रेषण गरेका छन् । सूक्तिमय स्वरूपमा एलाक वाचन भएका छन् । डोजर आतङ्क, सुकुम्वासी समस्याका कुरा समेटिएका छन् । समाजबाट संस्कृति, सभ्यता र प्राचीनता हराउँदै गएकोमा कवितामा चिन्ता जाहेर गरिएको छ ।

नेपाली जनजीवनले बाँच्न कठिन भएको दुरावस्थाको चित्रण गर्दै जिउनु र बाँच्नुको पृथकता खुट्याउने काम कवितामा गरिएको छ । कवितामा भाग्यको भरमा पर्ने होइन कर्ममा विश्वास गर्नुपर्छ भन्ने ध्वन्यार्थ सम्प्रेषित भएको छ । बुढाबुढी भएपछि सन्तानका प्रतिको वात्सल्य जतिसुकै भए पनि सन्तानबाट अपेक्षित हेरचाह प्राप्त गर्ननसकिने वर्तमान यथार्थको अभिव्यक्ति उजागर गरिएको छ । मातृभूमिको रुवाइ, समाजमा देखिएका विकृति विसङ्गति कवितामा सशक्तढङ्गले उजागर गरिएको छ । हिँड्न नजाने हाम्रो यात्रा ठेसपूणर् छ भन्ने यथार्थको अभिव्यक्ति आएको छ । आगो, पानी, जीवन र समाजको सादृश्य व्यञ्जनामूलक बौद्धिकताका साथ आएको छ ।

जीवनको मर्मलाई कवितामा उद्बोधन गरिएको छ । शकुनीको पासा नपल्टिएको महाभारतकालीन मिथकले युक्त युगीन चेतनाका कविता वाचित भएका छन् । राष्ट्रियता विद्रुप भएको यथार्थको उद्घाटन गर्दै नवनिर्माणको आग्रह पनि कवितामा गरिएको छ । सरलताका साथ जीवनको यथार्थबोध गर्दै देशभक्त अभियन्ताप्रति श्रद्धा गरिएको, मुलुक परिवर्तनका लागि समर्पित योद्धाहरू उपेक्षित भएको यथार्थ उद्घाटन गर्दै आक्रोश व्यक्त गरिएको, बोलिएका आश्वासन पूरा नहुने राजनीतिक यथार्थले राष्ट्रिय स्वार्थको डुङ्गा डुब्न नदिन ठोस भूमिका निर्वाह गर्नुपर्ने आग्रहसमेत गरिएको छ । समग्रमा वाचित रचनाहरू सशक्त, सम्प्रेषणीय, समसामयिक युगबोधसहितका भएकाले आजको गोष्ठी सार्थक रहेको छ भन्ने धारणा राख्नुभयो ।

गोष्ठीका अध्यक्ष राम विनयले आजको यो विशेष समारोहलाई हामीले देशेभरिबाट स्रष्टालाई जोड्ने अवसरका रूपमा आयोजना गरेका हौँ । यद्यपि प्राविधिक समस्या परेकोले जोडिन नसकेको गुनासा पनि आएका छन् । जति उपस्थित भयौँ र सिर्जना सुन्यौँ गुणस्तरीय रहेको छ । हाम्रो निम्तालाई स्वीकार गरी उपस्थित भइदिने विशेष अतिथि, अतिथिज्यूहरू, स्रष्टाहरू सबैलाई हामी आभार व्यक्त गर्दछौँ । साहित्य सन्ध्याका गोष्ठीहरू भनेका कार्यशाला पनि हुन् । हामी मासिक शृङ्खलाका माध्यमबाट हरेक महिना भेटिन्छौँ नै । साहित्य सन्ध्या सदैव आफ्नो उद्देश्यप्राप्तिमा समर्पित भइ नै रहन्छ । हाम्रो यो अभियानमा निरन्तर जोडिइरहन यहाँहरूलाई फेरि अर्को महिनाको पहिलो शनिबार भौतिक उपस्थितिका लागि अनुरोध गर्ने नै छौँ भन्नुहुँदै गोष्ठीको समापन गर्नुभयो ।

०००
-रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x