दुर्गा भमरकोटेचुनावीे समीक्षा सुसेलीमा
खुट्टा मर्केका नाम गठबन्धन अन्तै फर्केका । भयो मंगल बाघ पस्यो खोरमा बाख्रो जंगल । आमा रुवाए घाँस खाए भेडाले देश डुबाए । चिप्ला कुराले लठ्ठ परे जनता जिते बुढाले ।

जस्तो देखियो
चुनावको समीक्षा
त्यस्तै लेखियो ।
गाह्रो पार्दैछ
उनै नेता जित्दैछन्
देश हार्दैछ ।
न्याय खोसेर
हाम्रो देश खोक्रो भो
भ्रष्ट पोसेर ।
प्यारो नेपाल
पाँच वर्ष खेर गो
हुन्थ्यो कमाल ।
पानी उमाले
काङ्ग्र्रेस एमालेले
देश पखाले ।
यही सत्यता
भेडा, बाख्रा, ब्वाँसाको
देखेँ मित्रता ।
छेके दुवाली
देशमाराहरूकै
हालीमुहाली ।
चोया बाँसको
संसदका भेडामा
चिन्ता घाँसको ।
डोको चोयाको
मासु लुछे गिद्धले
देश रोएको ।
राज्य छट्टुको
त्यसैले हो नेपाल
सधैं टट्टु भो ।
कतै नि अब
जनताको मतको
छैन कदर ।
हामी बीच छ
ठूलाघरे नेताको
बुद्धि निच छ ।
देश जल्दछ
उत्तर दक्षिणको
हावा चल्दछ ।
खुट्टा मर्केका
नाम गठबन्धन
अन्तै फर्केका ।
भयो मंगल
बाघ पस्यो खोरमा
बाख्रो जंगल ।
बल्ल खाइयो
पुगेपछि गोर्खामा
न्याय पाइयो ।
आमा रुवाए
घाँस खाए भेडाले
देश डुबाए ।
चिप्ला कुराले
लठ्ठ परे जनता
जिते बुढाले ।
आशा तमासा
अब केही युवाले
देलान् धमाका ।
०००
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































