सुलसुलेभैरव पुरस्कार २०७९ वासुदेव-विद्यादेव लुइटेल गुठीलाई
२०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई, भैरव वाङमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई र भैरव प्रतिभा पुरस्कार हास्यव्यङ्ग्य कलाकार रामचन्द्र अधिकारीलाई दिने निर्णय ।

काठमाडौं, मङ्सिर २३ । भैरव पुरस्कार गुठीको आज बसेको बैठकले २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई, भैरव वाङमय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई र भैरव प्रतिभा पुरस्कार हास्यव्यङ्ग्य कलाकार रामचन्द्र अधिकारीलाई दिने निर्णय गरेको छ ।
नेपाली हास्यव्यङग्य विशिष्ट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो । जसअनुसार २०७९ सालको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।
त्यसैगरी १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने गुठीले जनाएको छ । ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहनु भएको समिति बनाएको थियो । समितिले सिफारिसलाई गुठीको बैठक अनुमोदन गरेको हो ।
आउँदो पुष ९ गते शनिवार राजधानीको गोकर्णेश्वर-५ स्थित भैरव भवनमा एक कार्यक्रम आयाेजना गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिनुभयो ।
०००
– निर्मल अर्याल
Subscribe
Login
0 Comments
Oldest












































