साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि भूपीका ११ कविता विभिन्न कविको स्वरमा

नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं । साहित्यिक पत्रकार संघले म्यूजिक नेपालसँगको सहकार्यमा नेपाली कविताका शिखर स्रष्टा भूपी शेरचनका ११ चर्चित कविता विभिन्न १२ कविको स्वरमा वाचन गराएको सीडी आज सार्वजनिक गरेको छ । सो सीडीको आज थाहा पुस्तकालयमा भूपी शेरचनको ८८ औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कवि गीतकार एवम् पूर्वमन्त्री शंकर कोइराला, कवि भूपी शेरचनकी धर्मपत्नी कान्ति शेरचन, साहित्यकारहरू अशेष मल्ल, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकाली र म्यूजिक नेपालका प्रमुख सन्तोष शर्माले लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले भूपीकै कविता पढेर आफू र आफ्नो पुस्ताले कविता र गीत लेख्न थालेको स्मरण गर्नुभयो । उहाँले भूपीका सरल कवितामा गहन भाव पाइने हुनाले ती सधैं लोकप्रिय रहेको बताउनुभयो ।

नाटककार एवम् कवि अशेष मल्लले काठमाडौंमा छात्रको रूपमा रहेका युवा पुस्ताका लेखकहरूले कविद्वय भूपी शेरचन र वासुशशीबाट प्राप्त स्नेह, सहयोग र प्रेरणाको चर्चा गर्नुभयो ।

अर्का कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले भूपी शेरचनसँग संघको प्रगाढ सम्बन्ध रहेको चर्चा गर्दै उहाँकै स्वरमा वाचन गरिएका कविता खोजेर सीडीको रूपमा ल्याउनु पर्ने आवश्यकता औंल्याउनु भयो । कवि एवम् समालोचक प्रमोद प्रधानले भूपीलाई छाडेर नेपाली कविताको इतिहास लेख्नै नसकिने तथ्यमाथि प्रकाश पार्दै पछिल्लो पुस्ताका कविहरूमा सबैभन्दा बढी प्रभाव भूपीकै रहेको बताउनु भयो ।

साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले भूपीको प्रतिमा स्थापनासहित भूपीसम्बद्ध अन्य काम गर्ने संघको योजनाबारे जानकारी दिनुभयो ।

म्यूजिक नेपालका सन्तोष शर्माले आगामी दिनमा पनि साहित्यको प्रवद्र्धनका लागि संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति नरेन्द्रबहादुर श्रेष्ठ र कवि भूपीकी धर्मपत्नी कान्ति शेरचनले पनि बोल्नुभएको थियो ।

श्रद्देय कवि भूपीप्रति काव्यिक श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले म्युजिक नेपालद्वारा साहित्यिक पत्रकार संघको सहकार्यमा तयार गरिएको ‘काव्यान्जली’मा कवि भूपी शेरचनद्वारा रचना गरिएका ११ ओटा कविताहरूलाई समाहित छन् । नेपाली साहित्यको कविता विधामा स्थापित १२ जना कविहरूद्वारा वाचन गरेर तयार गरिएको ‘काव्यान्जली’ श्रद्देय कविको ८८ औं जन्मजयन्तीको शुभअवसरमा म्युजिक नेपालको ४० औं तथा साहित्यिक पत्रकार संघको स्वणर् महोत्सवको अवसरमा उत्पादन गरिएको हो । यस एल्बममा कविहरू तुलसी दिवसले – हामी, कृष्णभूषण बलले – यो मेरो …, नरेन्द्रबहादुर श्रेष्ठले – म, विश्वविमोहन श्रेष्ठले – मैनबत्तीको शीखा, अशेष मल्लले – हल्लै हल्लाको देश, राधेश्याम लेकालीले – सर्पको खोजीमा, नवराज कार्कीले – घुम्ने मेचमाथि अन्धो मान्छे, कोमल वलीले – प्रजातन्त्र दिवस, सीता पाण्डेले – हल्लै हल्लाको देश, मोमिला जोशीले – सिता, बाबा बस्नेतले – मर्दैछ र सन्ध्या पहाडीले – पहिरो जाने पहाड मुन्तिर कविता वाचन गरेका छन् ।

थाहा पुस्तकालय, काठमाडौँमा आयोजित लोकार्पण कार्यक्रममा विभिन्न स्रष्टाहरूको उपस्थिति रहेको थियो । वि. स. २०५८ सालमा रेकर्ड गरिएको ‘काव्यान्जली’ आज आएर मात्र सीडी निकालिएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x