साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा ‘जब एउटा मान्छे हराउँछ’

साहित्य संगम मकवानपुरले आयोजना गरेको यस कार्यक्रम संगमका सचिव डिबी बर्तौलाले सहजीकरण गर्नु भएको थियो ।

Nepal Telecom ad

हेटौंडा, ०७९ माघ १४ । पलेटी कसेर बसेका कविहरूका बीचमा कवि चन्द्र गुरुङ हुनुहुन्थ्यो । कविहरू कुबेर पराजुली, भवानी तिमल्सिना, सुनिल गौतम, किशन पौडेल, मनोज पोखरेल तथा कवि चन्द्र गुरुङले केही कविता वाचन गर्नुभयो । यस्तै कवि मसान उपासक, निमेष निखिल र सानु खनालले समेत गुरुङका कविताहरू वाचन गर्नुभयो ।

लेख्नु र वाचन गर्नु फरक कुरा रहेको तर आजकाल दुवै काम एकै कविले गर्नु परेको कुरा बताउँदै गुरुङले हेटौंडामा दुई पटक आउन पाउँदा आफू अत्यन्त हर्षित भएको तथा सम्पूणर् कवितालाई माया गर्नेहरू कविता सुन्नका लागि आउनु भएको हुनाले व्यक्तिगत कुरा कम सुनाउँछु भन्दै उहाँका प्रिय कविताहरू सुनाउनु भयो ।

वैदेशिक रोजगारीका क्रममा लामो समय परदेश रहनु भएका उहाँले आजकाल देशका विभिन्न स्थानमा कविता सुनाइरहनु भएको छ । केही समयअघि सिक्किममा कविता सुनाउँनु भएका उहाँलाई हेटौंडाले स्वागत गरेको हो ।

साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालले गुरुङको व्यक्ति परिचय दिनु भएको थियो । अन्य सहरको तुलनामा हेटौंडामा गुरुङका सर्वाधिक पुस्तक माग भएको थियो । उहाँका ’जब एउटा मान्छे हराउँछ’ कृति नेपाल बाहिर दर्जनौं देशमा माग भएका कविता कृति हो । जसको दोश्रो संस्करण समेत प्रकाशन भैसकेको छ ।

कार्यक्रममा स्वर्गीय सर्जक खेम बानियाँको स्मृति गरिएको थियो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मकवानपुरमा पहिलो गजल लेखक मात्र नभई जिल्लामैं सूत्र कथा भित्र्याउने सर्जकका रूपमा रहनु भएको थियो । निखिलले स्वर्गीय बानियाँको एक सूत्र कथा समेत प्रस्तुत गर्नु भएको थियो । साथै निखिलले गुरुङ आफू जति भद्र र नम्र हुनुहुन्छ कविता पनि त्यस्तै कोमल संवेदनायुक्त कविता लेख्नुहुन्छ भन्नुभयो ।

कलाकार उज्वल शर्मा चौलागाईँले स्वर्गीय बानियाँसँग बिताएका पलहरू निकै स्मरणीय रहेका र सबैले बिर्सिसकेका अवस्थामा संगमले सम्झिरहेकोमा आफू निकै खुशी रहेको उहाँले बताउनु भयो । यस्तै अग्रज साहित्यकार तुल्सी थापाले आफ्नो ‘मान्छे हराएको सूचना’ कविता वाचन गर्नुभयो ।

कार्यक्रम संगमका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता र अग्रज साहित्यकार तथा दाना कविताका सूत्रपात गर्नुहुने सर्जक तुल्सी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साहित्य संगम मकवानपुरले आयोजना गरेको यस कार्यक्रम संगमका सचिव डिबी बर्तौलाले सहजीकरण गर्नु भएको थियो ।

०००
– संप्रस पौडेल, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x