साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुब्बा र जमरकट्टेलकाे संयुक्त कविता कृति प्रकाशित

गद्यशैली संरचनामा संरचित जम्मा ३३ वटा कविताहरू सङ्कलित गरिएको ‘दुई मन एक चिन्तन’ कृतिमा लोक सुब्बाका १६ वटा र शम्भु जमरकट्टेलका १८ वटा कविता रचना समावेश छन् ।

Nepal Telecom ad

काठमाडौं, ०७९ फागुन । नर्वे निबासी लोक सुब्बा र काठमाडौं निवासी डा. शम्भु जमरकट्टेलको संयुक्त कविता सङ्ग्रह ‘दुई मन एक चिन्तन’ हालै प्रकाशित भएको छ ।

गद्यशैली संरचनामा संरचित जम्मा ३३ वटा कविताहरू सङ्कलित गरिएको ‘दुई मन एक चिन्तन’ कृतिमा लोक सुब्बाका १६ वटा र शम्भु जमरकट्टेलका १८ वटा कविता रचना समावेश छन् ।

जीवन भोगाइका अनुभूतिलाई सरल ढङ्गले अभिव्यक्ति दिइएका यी कविताहरू चिन्तनपरक छन् । हामीले भोगिरहेको वस्तु यथार्थप्रति असन्तुष्टि र मानवीय मूल्यको विघटनप्रति गम्भीर असहमति कविताले प्रकट गरेका छन् । नेपाली माटो छाडेर तीन दशकदेखि विदेशभूमिमा रहेका सुब्बाका धेरैजसो कवितामा देशकै सन्दर्भ, यहीँको माटो र सम्पदाप्रतिको मोह-ममता र यहीँको प्रकृति स्मरण गरिरहेको अनुभूति हुन्छ । ‘धरहरा मनभरिका’, ‘पुराना साथीहरूलाई सम्झँदा’, ‘लक्ष र बाटाहरू’, ‘बाँचिएको जिन्दगी’ ‘अधकल्चा सपनाको व्यापार’ जस्ता कविताले सुब्बाको ‘डायस्पोरिक’ चिन्तनको प्रतिनिधित्व गरेका छन् ।

जीवनका उकाली ओह्रालीहरूलाई कवितामा कति मिठोसँग सरल शब्दमा उनेका छन् सुब्बाले-
कोही बेला लक्ष हजारौँ हुन्छन्
तर बाटो भने भेटिन्न ।
कोही बेला बाटाहरू हजार हिँडिन्छन्
तर गन्तव्य आफैंलाई थाहा हुन्न ।

सुब्बाका कवितामा ३२ वर्ष अघि छाडेको गोसाइँकुण्ड आउँछ, रत्नपार्क आउँछ, रानीपोखरी र घन्टाघरहरू आउँछन् । त्यतै कतै छहारीमा बसेर एक सोली चटपटे र चना बदाम कुरूमकुरूम खाँदै गरेका स्मृतिहरू ओर्लिन्छन् । कलेजोमा छिपेका स्मृति बिम्बहरू कहाँ हराउँदारहेछन् समयको दूरता जति बढे पनि । लघु आयाममै र ससानो पङ्क्तिगुच्छमै भन्न खोजेको कुरा झ्याप्प भनिसक्नु कवि सुब्बाको विशेषता हो ।

सङ्ग्रहमा परेका कवि शम्भु जमरकट्टेलका १८ वटा कविता पनि अत्यन्त सुस्वादु र पठनीय छन् । उनका कविता अभिधाभन्दा बढी व्यञ्जनामूलक लाग्छन् । नाङ्गो आँखाले देखेको वर्तमानको विद्रूप स्थितिलाई कट्टेलका अधिकांश कविताले व्यक्त गरेको अनुभव हुन्छ । ‘जोगीहरू’, ‘घुस’, ‘काठमाडौंको पानी’, ‘लोकतन्त्र कस्तो होस् ?’, ‘अन्तिम सत्य मृत्यु’ लगायतका कवितामा जमरकट्टेलले नाङ्गो यथार्थको प्रकटीकरण गर्दै त्यसप्रति असहमति जाहेर गरेका छन् ।

सुब्बाको भन्दा केही लामा आयाममा समेत संरचित छन् जमरकट्टेलका केही कविता सिर्जना । सरलता, सहजता र सम्प्रेष्यताका आधारमा हेर्ने हो भने सुब्बा र जमरकट्टेल समान देखिन्छन् । उनका कतिपय कवितामा व्यङ्ग्यको प्रचूरता पनि पाइन्छ । यथार्थलाई चिन्तनको मियो बनाएर अभिव्यक्ति गर्दा स्वभावत व्यङ्ग्यार्थ प्रादुर्भाव हुनु स्वाभाविक हो । ‘काठमाडौंको पानी’, ‘नछाम मरेका…’, ‘एक चिम्टी’ लगायत उनका केही कविताले गीतिलयलाई आत्मसात गरेको देखिन्छ ।-
बिझाउँछ कि तिमीलाई, राख्दा चितामाथि
कसरी म मूर्दा भनौं आफ्नै जीवनसाथी ।

‘लोकतन्त्र कस्तो होस् ?’ कवितामा जमरकट्टेलको व्यञ्जनामूलक अभिव्यक्ति यसरी व्यक्त भएको छ-
बलात्कारी नथुनियोस्
गरिबका पीडा नसुनियोस्
चोरलाई चौतारी,
साधुलाई शूली होस्
लोकतन्त्र कस्तो होस् ?
हाम्रै देशको जस्तो होस् ।

यसरी अलग अलग ठाउँमा रहेका दुई कवि व्यक्तित्वले आफ्ना चिन्तनपरक अभिव्यक्तिलाई आपसमा सहजीकरण गर्दै एउटै कृतिमा समाहित गरी पाठक सामु प्रस्तुत गरेका छन् ।

ओरियन्टल प्रकाशनद्वारा प्रकाशित यस कविता कृतिले नेपाली पाठकहरूबीच नयाँ स्वाद पस्केको छ भन्न सकिन्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x