सुलसुलेस्रष्टा सम्मान, रचना वाचन एवम् कविता प्रतियोगिता
शिवसावित्री प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुखअतिथि हास्यव्यङ्ग्यकार एवम फित्कौली अनलाइन पत्रिकाका प्रधान सम्पादक नरनाथ लुइँटेल र विशिष्ट अतिथिमा डा. विश्वम्भर शर्मा हुनुहुन्थ्यो ।

चन्द्रनिगाहपुर, रौतहट ०७९ फागुन १३ । शिवसावित्री प्रतिष्ठान नेपाल र बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजनामा स्रष्टा सम्मान, रचना वाचन र कविता प्रतियोगिता सम्पन्न भएको छ ।
शिवसावित्री प्रतिष्ठानका अध्यक्ष उत्तममोहन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुखअतिथि हास्यव्यङ्ग्यकार एवम फित्कौली अनलाइन पत्रिकाका प्रधान सम्पादक नरनाथ लुइँटेल र विशिष्ट अतिथिमा डा. विश्वम्भर शर्मा हुनुहुन्थ्यो । यस क्षेत्रका विभिन्न साहित्यिक संघ संस्था सम्बद्ध सञ्जय साह मित्र, अम्विका कार्की, मिना देवकोटा, रामचन्द्र पौडेल, इसहाक हुसेन, नानीराम दाहाल, राजकुमार लामिछाने, देवराज खरेल, नारद काफ्ले, राजेश्वरी काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
प्रष्ठिानको उद्धेश्य र बुढ्याैली साहित्य समाजका गतिविधीमाथि प्रकाश पार्दै गीति सिजर्ना प्रस्तुति मार्फत समाजका अध्यक्ष लम्दबाेदर काफ्ले स्वागत मन्तव्य दिएपछि थालनी भएकाे कार्यक्रममा प्रतिष्ठानका तर्फबाट रमेशमोहन अधिकारीले सम्मानित स्रष्टा डा. विश्वम्भर शर्माको साहित्यकार व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो ।
प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको नगदराशीसहित सम्मान पत्र यसवर्षको लागि समालोचक डा. विश्वम्भर शर्मालाई प्रदान गरियो ।
रौतहट जिल्लाका विभिन्न विभिन्न विद्यालयका छात्रछात्रा सहभागी २१ जना विधार्थीका कविता मध्येबाट पुरस्कृत ४ जनाका उत्कृष्ट कवितालाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जनप्रिय मा.वि.की छात्रा मीना रसाइली प्रथम, सोही विद्यालयकी छात्रा आकृति चौधरी द्वितीय, चन्द्रज्योति आवासीय मा.वि.की तेजस्वी गजुरेल तृतीय र नमुना आवासीय माविका उत्सव थापा शान्त्वना पुरस्कारद्वारा पुरस्कृत भएका थिए । ‘मेरी हजुरआमा’ विषय दिएर गरिएको प्रतियोगितामा प्रथमलाई रु. २ हजार, द्वितीयलाई रु १५००, तृतीयलाई रु १ हजार र सान्त्वनालाई रु ५ सय नगद बुढ्यौली साहित्य समाज मकवानपुरले उपलब्ध गराएको थियो ।
प्रमुख अतिथि लुइँटेलले बितेर गएका आफन्तलाई पुनरस्मरण र श्रद्धा गर्ने यो नवीन परम्परा सार्थक रहेको बताउँदै सम्मानित स्रष्टा एवम् पुरस्कृत बालप्रतिभाहरूलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
मदेश प्रदेशका विभिन्न जिल्ला र मकवानपुर जिल्लाबाट समेत प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरूबाट कविता वाचन गरिएको थियो । यसरी सिर्जना वाचन गर्नेहरूमा गोविन्दप्रसाद काफ्ले, दीक्षा तिवारी, पुजा तिम्सिना, सुमित्रा आचार्य, पुन्यप्रसाद घिमिरे, देवराज खरेल, रामनारायण चौधरी, नारदप्रसाद काफ्ले, नित्यनन्द शर्मा, कुमार दाहाल कुसुम, श्याम थापा, प्रकृति सेन्चुरी, अम्बिका कार्की, मिना देवकोटा, संगीता सहनी, लक्ष्मी श्रेष्ठ, प्रेम घिमिरे, भवानी घिमिरे, राधा घिमिरे, दिपक शर्मा, पुष्पराज रोइला, हरि शर्मा, राजकुमार लामिछाने, इशाक हुसेन, राजेश्वरी काफ्ले, डा. शालिग्राम शर्मा लगायत हुनुहुन्थ्यो ।
वि.सं.२०५१ सालमा स्थापित भएर विभिन्न साहित्यिक गतिबिधी तथा साहित्यिक कार्यक्रम गर्दै आएको शिवसावित्री प्रतिष्ठान र हालैमात्र स्थापना भएको बुढ्यौली साहित्य समाजको आमन्त्रण स्वीकारेर सहभागी भएका स्रष्टा एवम् सहभागी छात्रछात्रा तथा प्रतियोगितामा प्रस्तुत कविताको मूल्याङ्कनमा सक्रिय लालबाबु शर्मालाई समेत आयोजक संस्थाका तर्फबाट हार्दिक धन्यवाद दिँदै उत्तममोहन अधिकारीले कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो ।
चन्द्रपुर स्थित जनज्योति बहुमुखी क्याम्पस परिसरमा सम्पन्न कार्यक्रमको सहजीकरण तथा सञ्चालन किसुनदयाल यादवले गर्नुभएको थियो ।
०००
– रमेशमोहन अधिकारी
Subscribe
Login
0 Comments
Oldest












































